कालिञ्चाेक यात्राका संस्मरण:
✍️ मुरारीराज मिश्र,
`यसपटक हामी गाेरखाकाे लिगलिगकाेट घुम्न जाने कि भन्ने सल्लाह गर्दैछाैं, जानुपर्छ नि !´ साथी दीपेन्द्र रेग्मीले काेठामा पस्दै भन्नुभयो ।
`धर्म पनि कमाईने, नयाँ ठाउँ पनि देखिने, यसपटक कालिञ्चाेकतिर जाउँ न ! लिगलिगकाेट अर्काेचाेटी जाउँला नि बरु !´ मैले आफ्नो प्रस्ताव राखें ।
`मलाई त केही थिएन, तर साथीहरु लिगलिगकाेटनै जाने भन्दैछन् । एकरातकाे बसाइ हाे रमाइलै हुन्छ नि, ल मिलाउनुस् है !´ दीपेन्द्रले जाेड गर्नुभयो ।
गाेरखातिर पुगिसकेको भएर पनि हाेला शायद, मलाई लिगलिगकाेट भन्दापनि कालिञ्चाेक पुग्ने चाहना थियोे । कहिले के, कहिले के नमिलेर कालिञ्चाेक पुग्न नपाएको म भित्र अकस्मात् याे पटक भने त्यहाँ पुगेरै छाड्ने दृढता जागेर आयाे । झट्ट साथी धनप्रसाद घिमिरे र बिष्णु बस्नेतलाई सम्झें । कालेश्वर गएर फर्कंदा हामीहरूले कालिञ्चाेक पनि संगै जाने सल्लाह गरेका थियौं । धनजीलाई फाेन गरें । उहाँ त एकमहिना अघिमात्रै त्यहाँ पुगेर आईसक्नु भएछ ।
फेरि बिष्णुलाई फाेन गरें । `ल, हामी बुढाबुढी दुबैजना जाने पक्का भाे । व्यवस्था मिलाऊ ।´ उताबाट बिष्णुकाे पक्कापक्की जवाफ प्राप्त भयाे । उसले जाने भनेपछि, मैले यात्रा व्यवस्थापक गाैतम हाेलिडेज, मैतीदेवीमा फाेन गरेर यात्राको बारेमा आवश्यक सबै जानकारी लिएँ । कम्तीमा सातजना यात्रु भए हामीले चाहेकै दिन र समयमा कालिञ्चाेक लैजान सकिने जानकारी त्यहाँबाट प्राप्त भयाे ।
घरमा आएर श्रीमतीसंग कुरा गरें । उनले आफू पहिले गईसकेकाे भएतापनि जाने इच्छा गरिन् । `खुट्टा भाँचिएर बल्ल त हिड्न थालेकी छ्याै, कसरी जाने कालिञ्चाेक !´ मैले भनें ।
`सक्छु क्या ! नसके केवलकार छँदैछ, चढाैंला नि !´ उनकाे जवाफ सुनेपछि बाेल्ने ठाउँ नै रहेन । चारजना त भईयाे, अब तीनजना जुट्नु थियो । श्रीमतीले सरस्वती रिसाल भाउजुलाई फाेन गरिन्, त्यहाँबाट पनि भाउजु सहित दुईजना जाने पक्का भयो । यसैक्रममा छिमेकी बहिनी जानकी बुढाथोकी पनि जान तयार भएपछि हाम्रो सातजनाकाे भ्रमणदल बन्याे । तत्कालै गाैतम हाेलिडेजमा फाेन गरेर यात्रा प्याकेज र समय निश्चित गरियाे । प्याकेजमा दुईदिनकाे गाडी भाडा, बिहान बेलुकीकाे नास्ता र खाना, हाेटेलकाे बसाई, पिकअप र ड्रप लगायत समावेश थिए ।
भाेलिपल्ट अफिसमा मित्र केशवराज वाग्लेले साेध्नुभयाे `हाम्रो जिल्ला गाेरखाकाे लिगलिगकाेट जाने हाेईन त तपाईं ?´
मैले हाँस्दै भने `हामी त कालिञ्चाेक जाने भयाैं त्याे दिन ।´
दिउसाे फेरि अफिसमा साथीहरूकाे थप सल्लाह भएछ । अन्ततः उहाँहरूकाे पनि लिगलिगकाेटकाे सट्टा कालिञ्चाेकतिरै जाने टुंगो लागेछ ! साथीहरूले, एकै ठाउँमा जाने भएपछि अब संगै जाऊँ भन्नुभयो । मैले, हाम्रो पारिवारिक टीम भएकोले हामी उतै भेटाैंला भनेर फर्किएँ ।
२०८० साल जेठ २६ गते शुक्रबारका दिन बिहान सात बजे, ललितपुर वागडाेलबाट सरस्वती भाउजु र राजन लम्साललाई लिएर स्काेर्पियाे चालक प्रकाशभाइ कुमारीगाल आईपुगे । हामी तैयारी अवस्थामा थियौं । सवासात बजे त्यहाँबाट हाम्रो गाडी प्रस्थान गर्यो । हाम्रो पहिलो गन्तव्य दाेलखा भीमसेन र त्यसपछि कालिञ्चाेककाे कुरी बजारमा पुगेर बास बस्ने कार्यक्रम थियोे ।
गर्मीकाे माैसम भएपनि बिहानकाे समय हल्का चिसाे थियोे । धुलिखेलकाे केहीभाग अलि खराब भएपनि समग्रमा बाटो राम्रै थियो । करिब साँढेआठ बजे केराघारी भन्ने ठाउँमा हाम्रो चियापान भयाे । चियापान पछि पाँचखाल, दाेलालघाट, सुनकाेशीकाे किनारै किनार हुँदै हाम्राे यात्रा अघि बढ्दै गयाे । माैसम खुलेको थियोे । घाम चर्केकाेले गर्मी निकै थियोे । सुकुटेमा पुगेेर दशबजे हामीले बिहानकाे खाना खायौं । पर्यटकीय गन्तव्यकाे रुपमा परिचित सुकुटेमा चहलपहल थियाे । हाेटेलहरु व्यस्त देखिन्थे ।
खाना खाएर केही बेरकाे विश्राम पछि हामी, बलेफी, खाडीचाैर, मुडे हुँदै दाेलखाकाे प्रसिद्ध भीमसेन मन्दिर तर्फ बढ्दै गयाैं । गर्मी चढ्दै थियो । बाटोका रमणीय दृश्यहरुलाई नियाल्दै एकबजेतिर दाेलखा भीमसेनस्थान नजिकै चरिकोटमा पुगियाे । गाडीबाट ओर्लिएर झण्डै दस मिनेटको पैदल यात्रा पछि हामी मन्दिरमा पुग्यौं ।
दाेलखा भीमसेन नेपालकाे प्रसिद्ध तीर्थस्थल हाे । भीमेश्वर भीमसेनको मूर्ति कहिले कसले स्थापना गरेको हो भन्ने यकिन प्रमाण छैन । तर वडा दशैमा पूजा संकल्प गर्दा किराँतकालिन देखि वर्तमानसम्मका राजा महाराजाहरूको नाम लिने चलन छ । महाभारतको युद्ध पछि भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान गरिन्छ ! भीमसेन बलवान र अन्यायकाे विरुद्ध लड्ने योद्धा भएको हुनाले भीमसेनलाई पूज्दै आएको हुने कतिपयकाे राय छ । भीमसेनलाई व्यापारीहरूको इष्टदेवको रूपमा पनि पुजिन्छ। पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको पूर्व तर्फको डाँडामा बसेका थिए भन्ने भनाई पनि छ।
भीमसेनले एकै दिनमा विभिन्न स्वरुप फेर्छन् भन्ने मान्यता रहेको छ । त्यसैले, बिहान ९ बजेसम्म भीमेश्वर (भीमसेन) स्वरुपकाे पूजा गरिन्छ भने ९ देखि ११ बजेसम्म शिव स्वरुपकाे, रुद्राभिषेक सहित पूजा हुन्छ । याे समयमा बली चढ्दैन । फेरि ११ देखि १२ बजेसम्म भीमसेनकै र १२ बजेपछि साँझसम्म नारायण बिष्णुकाे रुपमा पूजाआजा गरिन्छ । भीमसेनस्थान परिसरमा कालिञ्चाेक भगवतीकाे प्रस्तररुप समेत रहेको छ । यहाँ आएका तर कालिञ्चाेक पुग्न नसक्ने भक्तजनले त्यहाँ पुजा गरे कालिञ्चाेक दर्शनको फल पाईने किम्बदन्ती छ ।
यहाँ, बडा दशै, चैते दशैं, कार्तिककाे महास्नान, भीमाएकादशी, शिवरात्री, रक्षा बन्धन, आदि पर्वहरूमा विशेष पूजा र भिड लाग्ने गर्दछ । भीमसेन अर्थात् भीमेश्वरलाई भविष्य सूचक मानिन्छ । भीमसेनलाई पसिना आएको ६ महिना भित्र देशमा केही अनिष्ट हुने जनविश्वास छ । भीमसेन मूर्तिमा पसिना आउँदा, पसिना पुछेको कपास पहिले-पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि-पूजा पठाउने चलन थियो ।
हामीले मन्दिरमा दर्शन र पूजाआजा गर्यौं । वरिपरि अवलोकन र पुजारीहरुसंग मन्दिरबारे जानकारी लियाैं । तस्बिरहरू खिच्ने काम भयाे । गर्मी घटेको थिएन । तर बेलाबेलामा आकाशमा बादल मडारिन थालेका थिए । हामी फर्किएर गाडी राेकेको ठाउँमा आयाैं । चिसो र आइसक्रिम खायौं । दही किनेेर खाजा खाने सुर कस्याैं । याे देखेर चालक प्रकाश भाइले भने `अगाडिको बाटाे त्यति राम्रो छैन । पानी पर्यो भने कुरी पुग्न कठिन हुन्छ । बरु हल्काफुल्का गाडीमै खाँदै जाउँ । कुरी डाँडा चढेपछि ढुक्कले बसेर खाजा खाउँला ।´ उनको सल्लाह अनुसार हामी गाडीमा चढ्याैं ।
चरिकोटबाट देउराली भन्ज्याङ हुँदै हाम्रो यात्रा अघि बढ्दै गयाे । देउरालीमा फाल्टफुट्ट पसल देखिए । माथि उक्लिएपछि कुरी नपुगेसम्म भने पसल भेटिएनन् । देउरालीभन्दा अगाडि कच्ची बाटो निर्माणाधिन नै थियोे । बाटोमा कतैकतै ढलान र ढुंगा छापिएका थिए । जुन बाटोमा जीप वा गाडी उपयुक्त हुने रहेछ । हुन त एकाध मोटरसाइकल पनि गएका देखिन्थे । तर यस बाटोमा नियमित सार्वजनिक सवारी साधन भने उपलब्ध छैन ।
बाटोमा जङ्गल र वरिपरिका दृश्य हेर्दै करिव चारबजे कुरी डाँडामा पुगेर खाजा, चियापान गर्यौं । कुरी डाँडा रमणीय स्थान रहेछ । यहाँबाट चारैतिर देख्न सकिन्छ । हामीहरु डाँडा माथिबाट कुरी बजार र वरिपरिको दृश्यावलाेकन गर्दै थियौं, हल्का पानी पर्न थाल्याे । त्यसैले झट्पट् गाडी चढेर कुरी बजार पुगि पूर्वनिर्धारित हाेटेलमा पुग्यौं । हाेटेलमा छिरेकाे दुईतीन मिनेटमै पहिलेको हल्का बर्षाले घनघाेर रुप धारणा गर्यो । निकै चिसो महसुुस भयाे । हाेटेलवालाले वेलकम स्वरुप ल्याएकाे तात्तात्ताे चिया पिएर बाक्लो लुगा भिरेपछि बल्ल केही राहत भयाे ।
एकघण्टाजति पछि वर्षा केही मत्थर हुनासाथ हामी हाेटेलबाट घुमघामका लागि निस्कियाैँ । भाेलिपल्ट शनिबार भएकाेले अत्यधिक भीडभाड हुने, विहान साँढेचार पाँच बजेतिर मात्रै केवलकार चल्ने र टिकट लिन पनि लाइन बस्नुपर्ने हुनाले सकिन्छ भने चाँडै हिडेर जान उपयुक्त हुने स्थानीयले सल्लाह दिए । `बिहान पनि यसैगरी पानी परेमा कसरी जान सकिन्छ´ भन्ने हाम्रो प्रश्नमा स्थानीय दावा भाइले हाँस्दै भने `यहाँ बिहान पानी पर्दैन दाजु ढुक्क हुनुस्´ । हामी कालिञ्चाेक मन्दिर उक्लने पैदलमार्ग हेरेर आवश्यक जानकारी बटुलेर हाेटेल फर्कियाैं ।
हाेटेलकाे बसाइ राम्रै थियोे । राति क्याम्पफायर भयाे । नाचगान चल्याे । केही बेर हामी पनि त्यसमा मिसियाैं । बाहिर पानी परिरहेको थियोे । रातकाे खाना खाईवरी काेठामा पुगेर हामीले, बिहान सबेरै हिंडेर मन्दिर पुग्ने सल्लाह गर्यौं र सुत्याैं । रात छिप्पिंदै गर्दा पानी झन्झन् दर्किन लाग्याे । हुरी समेत चल्दै थियोे । बाताबरण निकै चिसाे थियाे । कुनबेेला निदाईएछ । तीनबजे माेवाइलकाे अर्लाम बजेर ब्यूंझदा भने पानी र हुरी राेकिएकाे थियो । हामी नित्यकर्म र स्नान गरि तैयार भएर निस्कियाैं । बिहानकाे साँढेतीन बजेको समय । कुरी बजार सुनसान थियाे । हामी मन्दिर उक्लने आजको पहिलाे यात्रु बन्याैं ।
रातभरिकाे पानी, निष्पट्ट अँध्यारो । कतै बत्ती थिएन । टर्च र माेवाइलकाे सहायताले बाटो पहिल्याउँदै अघि बढ्यौं । कतै सरक्क आवाज आउँदा हामीमा वन्यजन्तुको डर पैदा हुन्थ्यो । करिव एकघण्टाकाे हिँडाईपछि मन्दिर नजिकैको केवलकार स्टेसनमा पुग्नैलाग्दा तलबाट एउटा केवलकार आईपुग्याे । केवलकारबाट उत्रिएको टाेलीसंगै हामी कालिञ्चाेक मन्दिर परिसरमा उक्लियाैं । मन्दिरको बाहिरी ढाेका खुलेको रहेनछ । सबैले ठूलो स्वरमा `कालिञ्चाेकी माताकाे जय जयकार´ गर्न थाल्यौं । पाँचमिनेट जतिमा ढाेका खुल्याे । सबैजना मन्दिर प्रवेश गर्यौं ।
धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय महत्त्व बोकेको कालिन्चोक दाेलखावासीकाे मात्र नभई सम्पूर्ण नेपालकै महत्त्वपूर्ण र गाैरव गर्न लायक स्थानको रूपमा परिचित छ । याे मन्दिर समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित छ । यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिन्चोक भगवती भनी पुज्ने गर्दछन् । पलाञ्चोक भगवती, शोभा भगवती र अन्य ७ भगवतीहरु कालिञ्चोक भगवतीका दिदि बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।
परापूर्वकालमा कुतीबाट खासा हुँदै भेडा च्याङ्ग्रा ल्याउँदा कालिञ्चोक हुँदै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा भेडा च्याङ्ग्रा हराउन थालेपछि गोठालाहरूले त्यहाँ अबीर, केशरी र भेटी चढाएपछि हराउन छोडेको र त्यसपछि कालिन्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय बताउँछन् । स्कन्द पुराणमा कामांचल गिरी, हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिन्चोक हो भन्ने कतिपयकाे मत पनि छ । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिन्चोक हो ।
धार्मिक अध्येता विद्वान् गाेविन्दचन्द्र सुवेदीका अनुसार - `अघि दुर्ग नामक दानवले शिवजीको तपस्या गरेर कुनै पनि पुरूषबाट नमारिने बरदान पाएपछि उन्मत्त भई सबैलाई सताउंदै हिड्न थालेछ । देवताहरूले भाग्दै सुनकोशी र रोशी नदीका संगममा रहेका कुशेश्वर महादेवसंग दानवलाई मार्न आग्रह गरेछन् । तर महादेवले `मैले वरदान दिएकाले मैले मार्न मिल्दैन, त्यसैले जगदम्बा देवीको आराधना गर´ भनेकाले सबैले जगदम्बा भगवतीको आराधना गर्दा, देवी प्रकट भएर त्यस दानवसंग युद्ध गरेर त्यसलाई खुंडाले शिरच्छेदन गरीदिएकीले देवीको नाम खांडादेवी रहन गएकाे, दुर्ग दानवलाई मारेकोले देवीको नाम दुर्गा र त्यस तीर्थलाई दुर्गातीर्थ भन्न थालियो । उनै खांडादेवी त्यहांबाट हिंडेर पहिलो रात एक जना बुढी आमैको घरमा बास बस्दा आमैले देवी भन्ने चिनिछन् र देवी बसेकाले सो ठाउंको नाम खांडादेवी रहन गयो, जो हाल रामेछापमा पर्दछ । तीनै खांडादेवी भोलीपल्ट सबेरै कालिन्चोक डांडाको थाप्लोमा रहेको सानो कुण्डमा हातमा लिएको खांडो सहित अन्तर्ध्यान हुनु भएकोले उनलाई कालिन्चोकी देवी पनि भनियो र उनी अन्तर्ध्यान भएको त्यो सानो कुण्डमा देवीको छांया देखिने विश्वासले भक्तहरू जान थालेका हुन् । सो डांडाको नाम कालिन्चोक हो भने देवी खांडादेवी हुन् । यो कुरा हिमवत्खण्डमा उल्लेख छ ।´
हामी पुग्दा मन्दिर खाली थियोे । आरामले भगवतीकाे पूजा, आराधना, पाठ सम्पन्न भयाे । माताकाे चिरप्रतिक्षित दर्शनबाट अलाैकिक आनन्दकाे अनुभव गरियो । डाँडाबाट वरिपरिको दुर्लभ र मनमाेहक दृश्यलाई नियाल्याैं, माेवाइलमा कैद गर्यौं । मैले त्यहीँबाट सामाजिक सञ्जालमा एउटा तस्बिर पाेष्ट गरें । अफिसबाट अर्को टाेलीमा आउनुभएको साथी पदमप्रसाद आचार्यकाे तुरुन्तै फाेन आयाे । `हैन कति छिटो हाे, तपाईंहरु त मन्दिर पनि पुगिसक्नुभएछ । ल अब त्यहीँ भेटाैंला, हामी आउँदै छाै´ । उहाँहरु हिजो चरिकोटमा बास बस्नु्भएको रहेछ ।
मन्दिरमा झण्डै एकघण्टा बिताएर हामी फर्कन थाल्यौं । मन्दिरबाट तलतिर पसलमा चीया पियाैं । केही सामान पनि किन्याैं । हामी वर्लिरहदाँ मानिसहरु फाट्टफुट्ट उक्लिंदै थिए । हामीलाई देखेर उनीहरू `दर्शन गरेर फर्कनु भएकाे हाे ? कति चाँडै ? मन्दिर पुग्न अब कति समय लाग्छ ?´ भन्ने जस्ता प्रश्न साेध्थे । हामी उनीहरुलाई `धेरै छैन, अब एकैछिन हाे´ भनेर हाैस्याउँथ्याैं । यसरी हामी मन्दिरबाट पाैनेसात बजे कुरी बजार आईपुग्याैं । देवीकाे कृपाले हाेला, यहाँसम्म आईपुग्दा थकान हराएर फुर्तिलोपनकाे महसुस भईरहेकाे थियाे । तल फेदीमा साथीहरू सुभाष अर्याल, पदमप्रसाद आचार्य, जीवराज आचार्य र विनय लम्साललाई भेटियाे । भलाकुसारी पछि हामी हाेटेल फर्कियाैं ।
म भने हाेटेल बाहिर साथीहरूलाई कुर्न थालें । केही समयपछि नीमा ढकाल, शिवराज पाैडेल, दीपेन्द्र रेग्मी लगायत बाँकी सबैजना साथीहरू आउनुभयो । अनुभवकाे आदानप्रदान गरियाे । तस्बिर खिचियाे । याे भेटघाट पछि साथीहरूकाे टाेली मन्दिरतर्फ लाग्यो । म हाेटल भित्र पसें । नास्ता तयार थियो । नास्ता पश्चात् हाेटेलवालालाई धन्यवाद दिएर हामी फर्कने सुरसारमा लाग्यौं ।
शनिवार भएर हाेला, कुरी बजारमा निकै भीडभाड थियोे । फर्किंदै गर्दा बाटोमा मन्दिर आउने सवारीसाधन निकै देखिन्थे । बाटोकाे कारण अगाडी बढ्न नसकि राेकिएका गाडी र हिंड्दै गरेका यात्रुकाे संख्या पनि उल्लेखनीय थियोे । याे दृश्य र बाटोकाे खराब अवस्थाले मन खिन्न बनायो । यस्तो महत्त्वपूर्ण ठाउँकाे बाटो द्रुतगतिमा बन्न सके पाे यात्रुलाई सहज भई पर्यटन प्रवर्द्धनमा टेवा पुग्थ्यो, किन ढिलाइ गरेको हाेला भन्ने पनि लाग्याे ।
हामीले सुकुटेमा आएर पहिलेकै हाेटेलमा एघार बजे खाना खायौं । खाना पछि केही समय त्यहाँ बिताएर हामी घर फर्कियाैं । फर्कंदै गर्दा सुव्यवस्थित र सुरक्षित यात्राको लागि प्रकाश भाइ र गाैतम हाेलिडेजलाई धन्यवाद दियाैं । दिउँसो दुईबजे हामीलाई घर पुर्याएर प्रकाश भाइ फर्किए । यसरी देवीकाे कृपाले हाम्रो दुईदिने कालिञ्चाेक यात्रा निर्विघ्न सम्पन्न भयाे ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment