लघुकथा: फजुलखर्ची
✍️ मुरारीराज मिश्र,
श्रीमान् राेजगारीकाे क्रममा विदेशमा थिए । घरमा रमिला र चारबर्षे छाेरी मात्रै । श्रीमान्काे कमाई राम्रै थियो । विदेशबाट महिना महिनामा रकम पठाउँथे । राेकटाेक गर्ने काेही नभएकाले रमिला माेजमस्तीमा रकम उडाउँथिन् ।
लाेग्नेकाे पसिनाकाे कमाई उडाउने भई भन्ने चिन्ताले, रमिलाका छिमेकी दम्पतीले पटकपटक सम्झाउँथे । तर उनकाे कानमा बतास लाग्दैन थियोे । उल्टै, उनी हाँस्दै भन्थिन् "हाम्रै लागि कमाएका हुन् क्यारे ! कञ्जुस बनेर दुखजिलाे नगर्नु । राम्रोसँग खानु, लाउनु, रमाउनु र छाेरीलाई पढाउनु भन्नुभएको छ उहाँले पनि । बरु यसाे सरसापट चाहियाे भने अप्ठ्यारो नमान्नु हाेला है !"
एकदिन छिमेकी दम्पतीले आपसमा सल्लाह गरे । उनीहरूले पनि रमिलाले मदिरा खाएकाे बेला पारेर पटकपटक उनीसँग रकम मागेर ल्याउन थाले ।
समय संधै एकनास कहाँ हुन्थ्यो र ! रमिलाका श्रीमान्ले पनि मन्दीका कारणले कम पैसा पठाउन थाले । रमिलाकाे बानी सुध्रेकाे थिएन । एकाेहाेराे खर्चेपछि कुवेरकाे ढुकुटी त रित्तिन्छ भने उस्काे कतिञ्जेल टिक्थ्याे र ! बचत नहुँदा छाेरीकाे स्कुलकाे शुल्क तिर्न पनि हम्मेहम्मे पर्यो उनलाई ।
`शुल्क तुरुन्त नबुझाए छाेरीलाई स्कुलबाट निकालिने´ सूचना आयाे एकदिन । के गर्ने, कसाे गर्ने दाेधारका बिच रमिला छिमेकी दम्पतीलाई गुहार्न पुगिन् । "के गर्छ्याै त नानी, पहिला हामीले सम्झाउँदा मानिनाैं ! हामीसंग पनि त्यत्रो पैसा कहाँ छ र तिमीलाई दिन" छिमेकी दिदीले टर्राे स्वरमा भनिन् ।
उनी निराश भएर घर फर्किन् । विगतकाे आफ्नो फजुलखर्ची व्यवहार सम्झेर पछुताउन लागिन् । त्यसैबेला छिमेकी दम्पती भित्र पसे । छिमेकी दाइले भनेे "तिमीहरूको भविष्य अनुमान मैले पहिले नै गरेकाे थिएँ । त्यसैले तिमीसंग लगेकाे रकम, आफू काम गर्ने सहकारीमा तिम्री नावालक छाेरीकाे नाममा जम्मा गरिदिने गरेकाे थिएँ । ल लेऊ त्यसको पासबुक ।"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)
Comments
Post a Comment