लघुकथा: स्वभाव
✍️ मुरारीराज मिश्र
नजिकै अपार्टमेण्टमा बस्ने उसंग निकै दिन देखि देखादेख भइरहेको थियोे । हरेक दृष्टिकोणले ``त्याे मानिस नेपाली नै हाे´´ भन्ने लागेतापनि बाेलचाल भने भएको थिएन ।
``उसै पनि विदेशमा स्वदेशी भेट्दा आफन्त भेटे जस्तै हुन्छ, एकपल्ट साेध्दैमा त के नै बिग्रेला र ?´´ यस्तो साेचेर एकदिन रमेशले अघि बढेरै उसलाई साेध्याे ``सुन्नुस् त, तपाईं नेपालबाट हाेइन ?´´
प्रश्न सुनेर उसकाे मुखाकृती केही बदलिए झैं देखियाे । नबुझेकाे भान पारेर ``सरी !´´ भन्दै उ फटाफट् अघि बढ्याे । रमेश जिल्ल पर्यो । उसलाई लाग्याे ``कतै मैले मान्छे चिन्न गल्ती त गरिन !´´तर उसकाे मन, त्याे मानिस नेपाली हाेइन भनेर मान्न तैयारै भएन ।
भाेलिपल्ट अफिस समय अगाडि रमेश त्याे मानिसको अपार्टमेण्टमा गयो । उसको ढाेका अगाडि राखिएको जुत्ताहरु उल्ट्याईदिएर नजिकैको भर्याङकाे छेकाे पारेर हेर्न थाल्यो ।
एकैछिनमा त्याे मानिस निस्कियाे । ढाेकामा उल्टिएकाे जुत्ताहरु देखेपछि यताउती हेर्यो र निहुरिएर सबै जुत्ता सुल्ट्यायाे । अनि बिस्तारै भुत्भुतायाे "थुक्क, हिंड्ने बेलामा उल्टाे जुत्ता देखियाे ! आज साइत नपर्ला जस्तो छ !!
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)
Comments
Post a Comment