लघुकथा: स्वार्थ
✍️ मुरारीराज मिश्र,
"ए कमल, के छ तिम्रो हालचाल ?" मर्निङवाकबाट फर्कंंदै गर्दा बाटोकाे छेउबाट आएको आवाजले एकसुरमा हिंड्दै गरेको कमल झस्कियाे । फर्केर हेर्यो बाल्यकालकाे साथी दीपक रहेछ ।
"ठीकै छु" कमलले जवाफ फर्काउँदै ओैपचारिकता निभायाे "अनि, तिम्रो खबर के छ नि ?"
"मेरो पनि सबै राम्रो छ । धेरै भयो भेटघाट नभएको, अब बसेर भलाकुसारी गर्नुपर्छ है !" दीपकले आत्मीयता दर्शाउँदै भन्याे ।
उनीहरु सानैदेखिका सहपाठी अनि एकै टाेले बासिन्दा भएपनि उनीहरूका बिच खासै भेटघाट र बाेलचाल हुन्नथ्यो । सामान आयात निर्यात गर्ने धनाढ्य ब्यापारी भएकाले दीपक सरकारी जागिरे कमललाई टाेलछिमेककाे कुनै कार्यक्रममा भेट्दा पनि दाेस्राे दर्जाकाे नागरिक सरह व्यवहार गर्थ्याे । त्यसैले, आज उस्काे आत्मियतापूर्ण हाउभाउले कमल अचम्मित भएको थियोे !
बेलुका अफिसबाट फर्कंदा, आफ्नो घरमा आमासँग गफ गर्दै गरेकाे दीपकलाई देखेर कमल फेरि चकित भयो । दुबै बसेर चियापान र भलाकुसारी गरे । दीपकले बाल्यकालका कुरा सम्झायाे । साथीसाथी बिच आपसी सहकार्य र सहयोग हुनुपर्छ भन्नेमा जाेड दियो । अनि, जाँदाजाँदै भन्याे "ए, मैले त भुसुक्कै बिर्सेकाे ! भन्सार अधिकृत पदको कार्यभार सम्हालेकाेेमा धेरै धेरै बधाई छ है तिमीलाई !"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)
Comments
Post a Comment