ललितपुरस्थित कैलाश पर्वतकाे सेरोफेरोमा
यात्रा वृत्तान्त:
✍️ मुरारीराज मिश्र,
पट्यारलाग्दाे एकनासे दैनिकीबाट थाेरै समय भएपनि छुटकारा पाउँदा मन निकै प्रफुल्लित हुन्छ । तर, गरिखानु पर्ने बाध्यताले संधै याे सम्भव हुँदैन । तापनि, यात्राले उर्जा दिने भएकाले माैका मिल्दा घुमिहाल्नु पर्छ भन्ने मेरो मान्यता छ ।
गत: जेठ महिनामा दुईदिन कालिन्चाेक पुगेर आईएकाे थियोे । दशैंकाे समयमा रारा जाने सम्पूर्ण प्रवन्ध मिलाएर पनि जाने तीनदिन अघि मात्र अकस्मात् साे भ्रमण कार्यक्रम रद्द गर्नु परेको थियोे । त्यसबेला, गाडीलाई दिएकाे पेश्की फिर्ता लिन र भ्रमण व्यवस्थापकलाई मनाउन कम्ती गाह्रो परेको थिएन । त्याे सम्झँदा अहिले पनि नमज्जा लाग्छ ।
पछिल्लोपटक कार्तिकमा एकपटक पलान्चाेकी भगवती र एकपटक खाँडादेवीकाे एकदिने यात्रापछि सामुहिकरुपमा कतै जाने अनुकूल जुरेको थिएन । यस्तैमा, भाउजु शर्मिला मिश्रले "सन्तानेश्वर महादेव मन्दिरमा एकहप्तापछि लाखबत्ती बाल्ने भएका छाैं, त्याे दिन बिदा मिलाउनुस् है बाबु ! सबैजना बिहानै जानुपर्छ" भन्नुभयो ।
धेरै टाढाको नभएपनि आफू पुग्न नपाएको स्थान त्याे । त्यसमाथि महिनाले फागुन लागेपनि तिथिले माघ अझै बाँकी नै थियोे । धार्मिक भ्रमण भनेपछि हुरुक्कै हुने मेराे मनलाई "के खाेज्छस् .... आँखाे" भने झैं बहाना मिलिहाल्याे । झट्पट जाने सहमति जनाएँ ।
ताेकिएकाे २०८० फागुन ६ गते आइतबारका दिन, बिहान पाैने ६ बजे श्रीमतीजी र म दाइको घर पुग्यौं । चालक प्रकाश अधिकारी भाइ पनि ताेकिएकै समय ६ बजे माइक्रोबस लिएर आईपुगे । हामी सरसामान ठीक पारेर तैयारी अवस्थामा रहेका थियौं ।
प्रकाशभाइको सहयोगमा सामानहरु गाडीमा लाेड गर्ने काम भयाे । परिवारका सबैजना सदस्यहरु जुटेपछि चालक सहित १४ जनाकाे हाम्रो टाेली ६:२० बजे, गाैरीघाट, मित्रपार्क, गाैशाला, सिनामंगल, काेटेश्वर हुँदै सातदोबाटो तिर घुँइकियाे
बिहानकाे समय भएकाले सडकमा सवारीसाधनकाे चहलपहल कम थियोे । बाटो खुल्ला देखिन्थ्याे । हल्का हावाका कारण बाताबरण भने चिसिएकाे महसुस भयाे । कुमारीगालबाट झण्डै २५ मिनेटको गुडाईपछि करिव ११ किलोमिटर दुरी पार गरेर ललितपुरकाे सातदोबाटोमा पुगेपछि हामी केही बेर राेकियाैं । यहाँबाट हाेमादि कार्य गराउने अर्का एकजना पुराेहितलाई पनि लैजानु थियोे ।
यहाँकाे एकैछिनकाे बसाइमा, कानै फुट्लाजस्ताे गरि बजाईएका सार्वजनिक सवारीका हर्न र चालक, सहचालक तथा ट्राफिक प्रहरीका तुच्छ बाेली सुनियो । यात्रु तान्ने हाेडवाजीमा सवारी चालकका अस्वस्थ प्रतिस्पर्धा देखिए ।
मानिसमा सभ्यता, धैर्यता र मानवता हराउँदै गएको महसुुस भयाे । सार्वजनिक स्थलमा काम गर्ने सवारीकर्मी र प्रहरीलाई उनीहरूकाे बाेलिचाली र आचरण सुधार्न राम्रैसँग तालिम दिनुपर्ने आवश्यकता देखियो ।
पाँच मिनेट जतिकाे प्रतीक्षा पछि गुरु आईपुग्नु भयाे । उहाँलाई गाडीमा चढाएर हामी त्यहाँबाट अघि बढ्यौं । हाम्राे गन्तव्य अब यहाँदेखि ६ किलोमिटरकाे दुरीमा थियोे । यहाँको बाटाे कतै निकै ठूलो र कतै एकदमै साँघुराे देखिन्थे । बाटो बिस्तार हुँदा स्थानीयले यहाँका पुराना घरहरु भत्काउन नदिएकाले यस्तो भएको रहेछ ।
ठैब, बाडेगाउँ, चापागाउँ, बज्रवाराही हुँदै केही मिनेटकाे यात्रा पश्चात् ७:१५ बजे, हामी गाेदावरी नगरपालिका १३, झरुवारासीस्थित सन्तानेश्वर महादेवकाे मन्दिर रहेको स्थल कैलाश पर्वतकाे फेदीमा पुग्यौं । जङ्गल नजिकै भएकाले यताकाे माैसम भने चिसो-चिसो नै थियोे । ।
लाखबत्ती बाल्ने र हाेम तथा रुद्राभिषेककाे कार्यक्रम रहेकाले हामीले घरबाट दाउरा लगायतका थुप्रै सरसामान लगेका थियौँ । त्यसैले ढिला नगरी गएका १४ जना सबैले केही न केही सामान बाेकेर उकालो चढ्न थाल्यौं । चालकभाइ भने तल गाडीमै बसे ।
करिव १०० मिटरजतिकाे उकालोमा बनाईएका फराकिला ३६६ सिंढीहरू १० मिनेटमा चढेर मन्दिर परिसरमा पुगियो । फेदीबाट सामान सहित उकालो सिंढीहरु चढ्दै जाँदा केही गाह्राे महसुस भएतापनि मन्दिर परिसरमा पुगेपछि भने, त्यहाँको भव्यता, भक्तजनको चहलपहल, गुञ्जिरहेकाे मधुर भजन र चारैतिरबाट देखिने रमणीय दृष्यले उकालो चढ्दाकाे थकान हराएको पत्तै भएन । पर्वतको टुप्पोमा भएकाेले यहाँ पारिलाे घाम लागेकाे थियोे ।
हामीले त्यहाँका पुजारीसंग हवन कुण्ड प्रयोग गर्ने अनुमति लियाैं । दुईजना गुरुहरु हाेमका लागि रेखी हाल्ने लगायत पूजाका लागि तैयारी गर्न जुट्नु भयो । हामीहरु पूजाका सरसामान मिलाउन थाल्यौं । मन्दिरहातामा चिया पसल रहेछ । चियापान गरेर पूजा सुरु गर्ने सल्लाह भयाे । चिया पाकुन्जेल म भने मन्दिरको बारेमा जानकारी बटुल्न थालें ।
सन्तानेश्वर मन्दिर अवस्थित कैलाश पर्वतलाई स्कन्दपुराणको केदार खण्ड अन्तर्गतको स्वस्थानी व्रतकथाको दसौं अध्यायमा उल्लेख भएकाे सतिदेबिको उपल्लो ओठ पतन भएको स्थान मानिंदाे रहेछ ।
समुन्द्री सतहबाट १५०७ मीटर उचाईको यसै शिखरमा ज्योतिर्लिङ्ग स्वरुप श्री सन्तानेश्वर महादेव तथा माता पार्वतीको उत्पति भई शिव शक्ति स्वरुपमा विराजमान हुनुभएको किंवदन्ती तथा जनविश्वास रहेको छ ।
प्यागोडा शैलीमा निर्मित याे मन्दिर २ तलाको छ । पशुपतिनाथकाे जस्तै चारवटा ढाेकाहरु रहेको यस मन्दिरको दुवै तलामा कलात्मक टुँडाल र आँखिझ्याल बनाईएको छ । मन्दिरमा धातुपाताकाे झल्लर, नुपूर र घण्टाहरु तथा चारैढोकामा तोरण स्थापित राखिएका छन् । प्रत्येक ढोकाको दायाँ-बायाँ दुईदुई वटा आँखिझ्याल आकृतिका झ्याल राखिएको छन् ।
मन्दिरको गर्भगृहमा कुनै शिवलिङ्ग देखिन्न । यहाँ लाम्चाे र झट्ट हेर्दा ओठ आकारको ३ भागमा विभाजित प्राचीन प्रस्तर स्वरुप छ । यसै शिलामध्ये पहिलोलाई सन्तानेश्वर ज्याेतिर्लिङ्ग, दोस्रोलाई पार्वती र तेस्रोलाई गणेश मानी पुजिदै आईएको छ ।
यिनै जानकारी बटुल्दै गर्दा चिया आईपुग्याे । डढेकाे दुधकाे स्वादयुक्त चिया स्वादिलो थियोे । चियापान सकेर दाजु नारायणराज मिश्र र भाउजु गुरुहरुकाे साथमा धार्मिक अनुष्ठानका लागि यज्ञ मण्डपमा बस्नुभयाे । म भने पुन: यहाँको थप जानकारी बटुल्न तर्फ लागें ।
झरुवाराशी निवासी स्वर्गीय कप्तान श्री नैनसिंह खत्रीले आफ्नो सात रोपनी निजी जग्गा दान गरि गुठी स्थापना गरेपछि विक्रम संवत् १९०७ मंसिर १ देखि नियमित पुजाआजा हुँदै आएकाे मन्दिरमा रहेकाे ताम्रपत्रमा उल्लेख छ ।
पछिल्लोपटक २०७९ माघ १२ श्रीपञ्चमीका दिन दुईतल्ले तामाकाे छानाे सहित मन्दिरको शीर्ष भागमा त्रिशुल र डमरु सहित ठूलो १ साना ४ समेत ५ वटा गजुरहरु प्रतिस्थापन गरि निर्माण सम्पन्न भएको सन्तानेश्वर महादेवको वर्तमान मन्दिर परिसर भव्य र आकर्षक देखिन्छ ।
यहाँ, ४०० किलोग्राम को मूल घण्ट, अष्टमातृका सहित स्वस्थानी माताको कलात्मक देवल, महांकाल भैरब मन्दिर, हवनकुण्ड, नन्दी-भृङ्गी, वासुकी नाग, हनुमान, चौसठ्ठी शिवलिङ्ग, वसाहा, गणेश, सरस्वती, दुर्गा, कृष्ण, विष्णु लगायतका विभिन्न देवदेवीका मूर्तिहरु स्थापित रहेका छन् । नेपाली शैलीको सत्तल बनेकाे छ । मन्दिर वरिपरि फलामकाे सुरक्षा बार लगाईएका छ । उचाइमा भएपनि पर्याप्त पानीकाे पर्याप्त प्रबन्ध छ । शाैचालयकाे समुचित व्यवस्थाले भक्तजनलाई सजिलो भएको छ ।
मन्दिर अवस्थित कैलाश पर्वत १५० रोपनी क्षेत्रफलमा फैलिएकाे रहेछ । यहाँ विभिन्न धार्मिक वनस्पति, फल, फूल तथा जडीबूटीका बिरुवाहरु रोपिएका देखिए । शिवमहापुराण वाचन भईरहेकाे थियोे ।
मन्दिरको सुरक्षार्थ राखिएकाे प्रहरी पाेष्टमा कार्यरत सहायक हवलदार ऋषिराम चाैधरीका अनुसार, श्रावणकाे साेमवार, माघ महिना, शिवरात्री, तीज, जनै पूर्णिमा, दशैं, तिहार, बाला चतुर्दशी, अक्षय तृतीया, गुरु पूर्णिमा लगायतका चाडपर्वका दिनहरुमा भक्तजनहरुको यहाँ विशेष भीड लाग्ने रहेछ ।
मन्दिरका पुजारीले यहाँ दैनिक रुद्राभिषेक, पूजा-आरती र भजन-किर्तन हुँदै आएको जानकारी दिनुभयो । द्वापर युगमा भगवान श्रीकृष्णले सन्तान प्राप्तीको चाहना राखी यस स्थानमा आई शिवजीको आराधना गर्दा आफ्ना पत्नीहरुबाट सन्तान भएकोले याे मन्दिरमा पुजा आराधना तथा रुद्राभिषेक गर्नाले निःसन्तानलाई सन्तान प्राप्त हुने र मनोकाङ्क्षा पूर्ण हुने कुरा पनि उहाँले बताउनुभयो ।
यहाँ गरेको भाकल पूरा भएर सन्तानकाे जायजन्म भएका कतिपय घटना आफ्नै टाेलछिमेकमा समेत प्रत्यक्ष देखेकाे, मन्दिर परिसरमा भेटिनु भएका बाडेगाउँ निवासी जेष्ठनागरिक हरिशरण सुवेदीकाे अनुभव थियोे ।
यसै बेला, शारदा मा.वि. तिलगंगाका पूर्वपरिचित शिक्षिका संगीता मिश्र अकस्मात् भेटिनु भयाे । उहाँ शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरु लिएर बज्रवाराही आएकाे माैका छाेपेर यता समेत आउनु भएको रहेछ ।
मन्दिरका सबै कार्य सकेर दिउँसो एकबजे हामी तल ओर्लिन थाल्यौं । आकाशमा सूर्यनारायण प्रचण्ड राप ओकल्दै थिए । ओर्लंदै गर्दा - धार्मिक, पुरातात्त्विक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण याे ठाउँकाे हुनुपर्ने जति प्रचारप्रसार नभएको महसुस भयाे ।
परम्परागत मान्यता र किंवदन्ती चाहे जेसुकै किन नहाेस्, समुचित व्यवस्थापन र आकर्षक प्याकेज सहितका पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन सके यस स्थान, धार्मिक ब्यक्ति मात्र नभई प्रकृति र पर्यटनमा रुचि राख्ने सबैकाे आकर्षण गन्तव्य बन्ने थियोे भन्ने कुरा पनि मनमा आए ।
यिनै तर्कनाहरुलाई मनभित्र खेलाउँदै, बाटोका सवारी जाम र गर्मि झेल्दै, दिनकाे साँढे दुईबजे घर आईपुगेेर, छाेटाे भएतापनि उपलब्धिमूलक एकदिने धार्मिक भ्रमणकाे बिट मारियो ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)
साहित्यपाेष्टमा २०८०-११-२३ मा प्रकाशित याे नियात्रा तलको लिङ्कमा गएर पढ्न सकिन्छ ।
https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-travelog/139202/?fbclid=IwAR2iFVH4imNgG1Ns_RQUQLNVqdJ1VNhGbKqyhevnLfiME7NOr7OnDyc3zg8
Comments
Post a Comment