लघुकथा : परम्परागत बिहे

 ✍️ मुरारीराज मिश्र,

"ल अब कन्यादानकाे समय हुनलाग्याे, तयार हुनुहाेस्" पुराेहितले दुलहीपक्षलाई जानकारी गराए ।

"कन्यादान भन्ने शब्द प्रयोग नगर्नुस् त गुरु ! के हामी नारी कुनै बस्तु या जनावर हाैं ? मान्छेकाे पनि दान हुन्छ कहीँ ? विदेशतिर त यस्तो चलन छैन ! तपाईंहरु दक्षिणाकाे लागि जेपनि गर्ने ?  याे मलाई पटक्कै मन पर्दैन ।" परम्परागत बिहे गर्नका लागि भनेर विदेशबाट आएकी दुलहीले पुराेहितसंग कड्किंदै भनिन् ।

दुलहीले भनेका कुराले विवाहमा आएकाहरुकाे ध्यानाकर्षण गर्‍यो । उनीहरू विवाह मण्डप नजिकै झुम्मिएर कहिले दुलाहा, दुलही र कहिले पुराेहितकाे मुख हेर्न थाले । सबैलाई "अब के हुन्छ" भन्ने जिज्ञासा थियोे । दुलहीकाे मुख क्राेधाग्नीका कारण राताे देखिन्थ्यो भने बिचराे दुलहा केही नबुझे झैँ अक्क न वक्ककाे अवस्थामा थियोे ।

"धुवाँले गर्दा फाेटाे राम्रो आएन- जग्गेमा आगाे नबाल्नुस्, फाेटाे खिच्न समय पुग्दैन- विवाहको विधि छाेट्‌याउनुस्" भन्ने देखि  फाेटाे खिच्दा धकेलमकेल गर्दै पटकपटक यताउता सर्न लगाएपछि, क्यामेराम्यानसंग गुरुकाे यसअघि नै बाझाबाझ परिसकेको थियोे । अहिले झन् दुलही नै रणचण्डी बनेर कड्किएपछि त गुरुकाे धैर्यताले सीमा नाघ्याे । 

रिसकाे झाेकमा, कर्मकाण्डकाे किताब दुलहीका बाबुकाे अगाडि पछार्दै उनले भने "धार्मिक विधि पनि चाहिने, अनि धर्मशास्त्रका कुरा र विधि बिधान पनि नमान्ने ! उसाेभए यस्ताे तामझाम र बिहेको नाटक चाँहि किन ?"

"नरिसाउनुस् गुरु, छाेरीको बुद्धि पुगेन क्या ... !" दुलहीकाे बाबुले परिस्थितिलाई सम्भाल्न खाेजे ।

"छाेड्नुस् याे नाैटंकी, पुराेहितलाई जाेक्कर र धर्म-संस्कारलाई खेलाँची ठान्ने ठाउँमा पुरेत्याईं गर्न, मलाई कदापि मञ्जुर छैन ।" गुरुले जग्गेबाट बाहिरिंदै भने ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

वैजयन्तीमा प्रेषित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: