लघुकथा: सकारात्मकता
✍️ मुरारीराज मिश्र,
"त्याे क्यान्टिनवालाले साह्रै नै हेप्याे हामीलाई, अबदेखि त्यसकोमा खान नजाने है ।" पहिलो बाेल्याे ।
"हाे भन्या, हाफटाइममा खाजा खान गयाे जहिल्यै कुर्नुपर्ने । हामी अफिसका कर्मचारी भन्दा उस्काे ध्यान बाहिरका सेवाग्राही उपर मात्रै हुने । हामीले मगाएका खानेकुरा संधै छैन भन्ने । आज त साहुले क्यान्टिनका केटाहरुलाई `ती पचास रुपैयाँ खर्चने कर्मचारीलाई भन्दा सकभर बाहिरी ग्राहकलाई ध्यान दिनु है´ भनेको फर्कंदै गर्दा झ्वाट्ट मेरै कानमा पर्यो ।" दाेश्राेले थप्याे ।
उसाे भए, भाेलिबाट घरबाटै खाजा ल्याउँ र मिलेर खाऊँ न त, कि कसाे ? तेस्रोले भन्याे ।
"मनासिब कुरा । ल त्यसै गराैं । कुन दिन कस्ले के ल्याउने सल्लाह गराैं ।" चाैथाेले कुराे टुङ्ग्यायाे ।
यत्तिकैमा "हैन, के सल्लाह हुँदै छ आपसमा !" भित्र पस्दै हाकिमले साेधे ।
उनीहरुले हाकिमलाई हालसम्मको घटनाक्रमकाे बेलिबिस्तार लगाए ।
"ए, ल, क्यान्टिन साहुले एकदमै राम्रो गरेछ, उसलाई धन्यवाद दिनुस् तपाईंहरुले !" कुरा सुनेपछि हाकिमले हाँस्दै भने ।
हाकिमकाे अप्रत्याशित कुराले अक्क न बक्क भएर उनीहरू, प्रश्नवाचक दृष्टिले हाकिमकाे मुख हेर्ने थाले ।
"क्यान्टिन साहुकै कारण अबदेखि ताजा, स्वस्थ्यकर र स्वादिलो घरायसी खाना खान पाईने, यसबाट तपाईंहरुकाे स्वास्थ्य पनि बन्ने अनि खाजा खर्च समेत किफायती हुने भएपछि धन्यवाद दिनु परेन त उसलाई !" हाकिमले काेठाबाट बाहिरिंदै भने ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment