लघुकथा: विडम्बना

      ✍️ मुरारीराज मिश्र,

देशकाे सबैभन्दा बढी बिक्ने पत्रिकामा पृष्ठ भरिकाे रंगीन समवेदना छापिएकाे थियो ।

पत्रिका पढ्दै गरेका रमेशलेे त्याे देखेर साेचे "पचास-साठी हजारभन्दा कममा त पक्कै छापिएन हाेला याे समवेदना !"

"हैन, के साेच्दै हुनुहुन्छ मित्र ?" उनका साथीले यसैबेला काेठामा पस्दै साेधे । रमेशले समवेदनाकाे बारेमा आफ्नो मनमा आएको कुरा साथीलाई बताए ।

"कुन जमानामा हुनुहुन्छ मित्र ? म पनि पत्रिकासंग सम्बन्धित भएकाले जान्दछु कि यस्ताे विज्ञापनकाे पत्रिका अनुसार दशाैं लाखसम्म पर्न सक्छ !"

"ओहो ! दान दातव्यबाट जेनतेन चल्दै आएका हाम्राजस्ता आधा दर्जन बृद्धाश्रम र अनाथालयलाई त याैटै समवेदनाकाे रकमले बर्षभरीकाे रासनपानी पुग्ने रहेछ नि !" रमेशले सुस्केरा हाल्दै भने ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

संसार न्यूजमा प्रेषित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...