अमरावती कान्तिपुरी नगरी
यहाँ चोर पुजिन्छन् सज्जन झैँ
घुसखोर पुरस्कृत हुन्छन् संधै
तर साधु गनिन्नन् कौडीसरि
अमरावती कान्तिपुरी नगरी !
महंगी, गरिबी अनि दुःख, पीडा
छ कतै लुटपाट, कतै झगडा ।
छ विकार अति र अनेक थरी
अमरावती कान्तिपुरी नगरी ॥
कहीं हुन्छ जुलुस अनि उग्र कुरा
कहीं बन्द, कतै हड्ताल पूरा ।
सर्वत्र छ, क्रान्ति अनेक थरी
अमरावती कान्तिपुरी नगरी ॥
कहीं भोग, विलास र सुख सबै
कहीं भोक, दरीद्र, छ दुःख सधैं
छ पीडा र अभाव सहस्र थरी
अमरावती कान्तिपुरी नगरी !
न इमान, छ नैतिक मूल्य कुनै
जति लक्ष्य छ त्यो, पद पाउन नै
जसरी तसरी गुथने पगरी
अमरावती कान्तिपुरी नगरी ।
छ धूलो र धूवाँ, दुर्गन्ध अति
छ विकार, प्रदूषणकै फजिती ।
छ चकित, थकित, दुःखी विचरी
अमरावती कान्तिपुरी नगरी ।
यहाँ राजनीति, बिजनेस बन्यो,
न लगानी कुनै, बसी नाेट गन्याे ।
भयाे राष्ट्र निजी, धनसार सरि,
अमरावती कान्तिपुरी नगरी ।।१।।
छ संधै मुखमा, बकवास कुरा,
न छ अध्ययनै, बन्याे बिज्ञ पुरा ।
जनता गफ सुन्छन, जिल्ल परी,
अमरावती कान्तिपुरी नगरी ।।२।।
न कुनै छ खुबी, न छ तालिम नै,
न छ बाेली मीठो, न त सीप कुनै ।
तर छन् पदमा, अति याेग्य सरी,
अमरावती कान्तिपुरी नगरी ।।३।।
छ त केवल दृष्टि, संधै धनमा,
कसरी लुट्ने, हरदम मनमा ।
न छ पीर बिकास, गराैं कसरी,
अमरावती कान्तिपुरी नगरी ।।४।।
बढ्दैछ यहाँ, महंगी प्रतिदिन,
न छ शान्ति कतै, खतरा छिनछिन् ।
पिंधिए जनता, घुन-घट्ट सरी,
अमरावती कान्तिपुरी नगरी ।।५।।
अति दुर्लभ भाे, यहाँ मानवता,
सब स्वार्थी भए, न दया, ममता ।
छ चकित, थकित, दुखी बिचरी,
अमरावती कान्तिपुरी नगरी ।।६।।
ढलजाम, हिलाे, छ धुलाे उतिनै,
छ प्रदूषण, बिकृति सब् त्यतिनै ।।
जलमग्न सडक, नदी-ताल सरि,
अमरावती कान्तिपुरी नगरी ।।७।।
यहाँ रावण राम, कठिन् चिनिनै
यहाँ भद्र-भलादमी, कम् अति नै ।
जति सज्जन छन्, अपवाद सरि
अमरावती कान्तिपुरी नगरी ।।
✍️ मुरारीराज मिश्र
Comments
Post a Comment