पाैराणिक लघुकथा:
शिवजीसंग भेटघाटका लागि प्रमुख देवताहरुकाे कैलाशमा आउने क्रम जारी थियोे ।
बिष्णुजी भित्र गएकाले उहाँका वाहन गरुडजी अलि पल्तिर बसेर सुस्ताउँदै हुनुहुन्थ्यो ।
यत्तिकैमा कालका देवता यमराजजी पनि आउनु भयाे । भित्र पस्नु अघि उहाँले द्वारकाे छेउमा बसेकाे एउटा सुन्दर सानाे चरालाई अनाैठाे पाराले निकै बेर हेरेर केही साेच्दै अघि बढ्नुभयाे ।
याे दृश्य नियालिरहेका गरुडजीलाई लाग्यो "याे सानाे चरामाथि काल देवताकाे बक्र दृष्टि पर्यो, अब यसलाई कसरी बचाउने ?" उहाँको मनमा चराप्रति दयाभाव उर्लेर आयो । चराको जीवन जसरी पनि बचाउनु पर्छ भन्ने साेचेर यमराजजी फर्कनु अगाडि नै गरुडजीले त्यसलाई ढाडमा राखेर वायुवेगले हजारौं काेश टाढाकाे कुनै टापुमा पुर्याएर आउनुभयो ।
केही बेरपछि यमराजजी निस्कनु भयाे । चरालाई पहिलेकाे ठाउँमा नदेखेर उहाँ आश्चर्यचकित भई यताउता हेर्न थाल्नुभयाे । यसैबेला गरुडजीले यमराजजीकाे नजिक आएर साेध्नुभयाे "प्रभु, के हेर्दै हुन्छ यसरी ?"
यमराजजीले भन्नुभयो "हे गरुड, म आउँदा यहाँ एउटा सानाे चरा थियोे ! त्याे चरा आधा घण्टापछि यहाँबाट हजारौं काेश परकाे टापुमा हुनुपर्ने याेग थियोे । त्यसबेला म अचम्मित भएर साेच्दै थिएँ कि याे सानाे चरालाई त्यहाँसम्म उडेर पुग्न नै महिनाैं दिन लाग्छ भने आधा घण्टामा याे कसरी सम्भव हाेला ! अब त्यसलाई यहाँ नदेख्दा भने मलाई लाग्छ, उसकाे त्यहाँ पुगेर मृत्युु हुनुपर्ने याेग पक्कै पनि टरेन हाेला !"
प्रस्तुति : मुरामि
Comments
Post a Comment