प्रेरक प्रसंग : आसक्ति
अनुवाद : मुरामि
कुनै समय एकजना सन्त, धनी व्यापारीकाे घरमा आए । व्यापारीले सन्तकाे ठूलो सेवा गरे । सन्त सर्वसमर्थ थिए । सेवाबाट प्रसन्न भई उनलेे व्यापारीलाई भने "यदि चाहनुहुन्छ भने, म तपाईंलाई भगवानसँग भेट गराउन सक्छु ।"
व्यापारीले भने "महात्मन् ! म भगवानलाई भेट्न त चाहन्छु, तर अहिले मेरो छोरो सानै छ, उ ठूलो भएपछि जाओैंला नि !"
धेरै बर्षपछी साधुले फेरि आएर भने, "अब तिम्रो छोरो पनि ठुलो भयो, हिंड जाऔं ।" व्यापारीले जवाफ दिए "छाेराेको बिहे भैसकेकाे छैन, बिहे गरेर बुहारी घरमा आउँछिन् अनि जान्छु ।"
तीन वर्षपछि सन्त फेरि आए । बुहारी आँगनमा घुमिरहेकी थिइन् । सन्तले भने "अब त जाने बेला भयाे ?" ब्यापारीकाे भनाइ थियोे "स्वामी ! मेरी बुहारी गर्भवती छिन्, नातिको अनुहार देखेपछी भने पक्कै जान्छु ।"
सन्त फेरि आउँदा व्यापारीकाे मृत्यु भइसकेको थियो । उनले ध्यानदृष्टिले हेरे, ब्यापारीले गोरुको रूपमा जन्म लिएर सामान बोक्दै रहेछ ! सन्तले नजिकै गएर गोरुको कानमा भने "अब त तिमी गाेरु बनेका छाै, त्यसैले ढिलो नगरी भगवानलाई भेट्नुपर्छ हिँड ।"
गाेरु रुपधारी व्यापारीले सन्तसंग भने "म छाेराकाे याे पसलमा अहिले धेरै काम गर्दैछु । म यहाँ नभएको खण्डमा मेरो छोराले अर्को गोरु पाल्नु पर्छ। त्यो गाेरुले खाना धेरै खान्छ र काम भने निकै कम गर्छ । यसबाट छाेरालाई व्यापारमा घाटा हुन्छ ।" त्यसैले अलि पछि जाउँला ।
सन्त अर्काेपटक फेरि आउँदा गाेरु पनि मरिसकेको थियो । त्याे गाेरु अहिले कुकुरकाे रुप लिएर छाेराकाे घरकाे ढोकामा बसिरहेको रहेछ । सन्तले कुकुर रुपधारी व्यापारीलाई भने "अब त गएर भगवानलाई भेट ।"
कुकुररुपी ब्यापारीले भन्यो "सन्तजी ! मेरी बुहारीले हीरा र सुनका गहना कति धेरै लगाएकी छिन्, देख्नुभएको छैन ? फेरि घरमा पनि निकै धनसम्पत्ती छ, यदि चोर आयो भने मैले भुकेर चाेर भगाउने गरेको छु । म बिना घरको सुरक्षा कसले गर्छ ?"
सन्त फर्किए । अर्को पटक आउँदा त्यो कुकुर पनि मरेर, छाेराकाे घर नजिकैको नालीमा भ्यागुताे बनेर कराइरहेकाे देखियाे । सन्तलाई ठूलो दया लाग्यो । उनले भने "अब भने तिम्रा दु:ख सकिए हाेलान् नि ! लाै हिंड जाओैं ?
यसपटक भ्यागुताेले रिसाएर भन्यो, "हे सन्त ! यहाँ बसेर दिनदिनै नातिनातिनालाई देख्न पाउँदा मलाई ज्यादै खुशी लाग्छ । संसारमा अरु पनि छन् नि भगवानसँग भेट गराउनु पर्ने ! एउटा मै मात्र हुँ र ? तिम्रो अरु केही काम छैन कि क्या हाे ? किन मेरो मात्रै पछि लागि रहन्छाै ? अरु कसैलाई लिएर जाऊ न !" यसाे भनेर उ हिलाेमा घुस्याे ।
सच्चा सन्तहरू दयालु हुन्छन् । हाम्रो हितका लागि बारम्बार प्रयास गरिरहन्छन् । तर व्यापारीजस्तै स्वभावका हामी भगवानसंग नजिक हुने भनेर कुरा त ठूलाठूला गर्छाैं, तर माैका आउँदा माेहमायामा भुलेर चुक्छाैं ।
~~~~~
Comments
Post a Comment