मानव जीवनमा गीताकाे महत्त्व

"मानव जीवनमा गीताकाे महत्त्व "
------------------------------------ मुरारीराज मिश्र
याेगेश्वर भगवान् श्रीकृष्णका मुखारविन्दबाट निस्किएको गीता जस्ताे संसारकै सबैभन्दा उत्कृष्ट, गहन र पवित्र ज्ञान ग्रन्थ; जसमाथि हजारौं बिद्वान् बिदुषीहरुका लाखौं लेख, प्रवचन र पुस्तक सार्वजनिक भएका छन्, त्यसका बारेमा कलम चलाउन खाेज्नु म जस्ताका लागि एउटा दुस्साहसपूर्ण कार्य हाे । गीताका बारेमा जान्न चाहने जिज्ञासु भएतापनि यसका बारेमा केही लेख्ने मेराे कुनै साेच अझ भनाैं आँँट नै थिएन । यसैक्रममा, केही महिना अघि देखि निरन्तररुपमा गीताका गहन संस्कृत शब्दहरुका भावार्थलाई सरल नेपाली भाषामा सामाजिक सञ्जाल मार्फत सुस्वादु रुपबाट पस्कंदै आउनु भएका र निकट भविष्यमै "भक्ति, कर्म र ज्ञानको त्रिवेणी: श्रीमद्भगवद्गीता (पद्य भावानुवाद)" प्रकाशन गर्ने तैयारीमा जुट्नुभएका बरिस्ठ शिक्षाविद् आदरणीय श्री युवराज न्याैपानेज्यूले दिनुभएको प्रेरणा र हाैसलाले गर्दा उहाँप्रति आभारी हुँदै गीताका बारेमा आफ्ना भावनाहरु संक्षेपमा पाेख्ने जमर्को गरेकाे छु । मेरा यी प्रयाश सिन्धुमा विन्दु सरह हुन् । मेराे याे दुस्साहसकाे क्रममा हुने त्रुटीका लागि अग्रिम क्षमाप्रार्थी हुँदै श्रीभगवद्गीता माहात्म्य उजागर गर्ने यी श्लाेकबाट श्रीकृष्णलाई सम्झंदै अघि बढ्ने अनुमति चाहन्छु ।
"सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दन:।
पार्थो वत्स: सुधीर्भोक्ता दुग्धं गीतामृतं महत्।।"
सबै उपनिषद् गाई, दुहुन्छन् कृष्ण आफूले ।
बाच्छाे झैं दुध् पगाल्दिन्छन्, उही अर्जुन, पार्थले ।।
दुहिएकाे उही दूध, गीता अमृतरुप हाे ।।
पढ्छ जस्ले पियाे अमृत्, ज्ञानी भाे, अमरै भयाे ।।
(पद्य भावानुवाद: मुरामि)
सर्सर्ती हेर्दा गीता एउटा धार्मिक ग्रन्थ जस्तो मात्रै देखिन्छ । चिन्ताले आकुलब्याकुल भई किंकर्तब्यविमुढकाे स्थितिमा पुगेका पाण्डुपुत्र अर्जुनलाई, जीवन, चराचर जगत र धर्मका गुढ रहस्यका बारेमा भगवान् श्रीकृष्णले गुह्यज्ञान दिनुभएको प्रसंग यसमा उल्लेख छ । कुरुक्षेत्रकाे युद्ध मैदानमा भएकाे श्रीकृष्ण र अर्जुनबिचकाे याे संवादलाई दिव्यदृष्टि पाएका राज सारथी संजयले महाराज धृतराष्ट्रलाई युद्धकाे प्रत्यक्ष बर्णन गर्न क्रममा बताएका हुन । तर यथार्थमा गीता कुनै एउटा साधारण आध्यात्मिक ग्रन्थ नभई जीवन र जगतबारे स्वयं भगवानकाे मुखारविन्दबाट निस्किएको एउटा अनमाेल, अद्वितीय, जीवनाेपयाेगि स्वादिष्ट महाप्रसाद हाे, जति खाएपनि कहिल्यै धित नमर्ने र पटकपटक खाउँखाउँ लागिरहने ।
युद्धमैदानमा उत्रिएका बेला वरिपरि सबै स्वजन र कुल कुटुम्बहरुलाई देखेर भावविह्वल भई राज्यभाेगका खातिर आफन्तहरुसंग युद्ध नगर्ने भनी धनुष त्यागेर हातखुट्टा छाेडेका पाण्डुपुत्र अर्जुनलाई भगवान् श्रीकृष्णले जीव, जीवात्मा, कर्म, धर्म, माया, माेह, ईश्वरीयरुप-विधान, भूत-भविष्य-वर्तमान, ज्ञान, बैराग्य, माेक्ष, सन्यास, भक्ति, याेग, ब्रह्मतत्व लगायतका बारेमा बताउँदै उनीमा कर्मप्रतिकाे कर्तव्यबोध जगाउनु भएकाे कुरा अर्जुनविषादयाेग, सांख्ययाेग:, कर्मयाेग, ज्ञानकर्मसंन्यासयाेग, कर्मसन्यासयाेग, ध्यानयाेग, ज्ञान-विज्ञानयाेग, अक्षरब्रह्मयाेग, राजविद्या-राजगुह्ययाेग, विभूतियाेग, विश्वरुपदर्शनयाेग, भक्तियाेग, क्षेत्र-क्षेत्रज्ञ-विचारयाेग, गुणात्रय-विभागयाेग, पुरुषाेत्तमयाेग, दैवासुरसंपद्वि भागयाेग, शद्धात्रयविभागयाेग: र माेक्षसंन्यासयाेग: गरि श्रीमद्भागवत गीताका सातसय श्लोक र अठार अध्यायहरुमा बर्णित छन् । यी अठारै अध्यायहरुका आ-आफ्नै महत्व छन् । तापनि समग्रमा गीतामा मूलत: कर्मयाेग, भक्तियाेग र ज्ञानयाेग प्रमुख अध्याय मानिन्छन् ।
गीताका अठार अध्याय मध्ये पाँच अध्यायलाई यसकाे मुख, दस अध्यायलाई हात, एक अध्यायलाई पेट र दुई अध्यायलाई पाउकाे रुप मानिन्छ भने, यीनै अध्यायहरुकाे समष्टि स्वरुपलाई भगवान बिष्णुकी 'अक्षररुपिणी वाङ् मयी मूर्ति' गीता भनिन्छ । अनेकौं भाषा र अनेकौं प्रकारले ब्याख्या गरिएको गीता एउटामात्र यस्तो आध्यात्मिक ग्रन्थ हाे जसलाई जतिपटक पढ्दा पनि हरेक पटक पृथक पृथक स्वाद पाउन सकिन्छ । गीताका मूल श्लोकलाई पढेर अर्थ बुझ्न जिज्ञासुहरुका लागि निकै कठिन हुन्छ । यसका विशुद्ध अनुवाद पनि अलिक क्लिष्ट नै हुने भएकाले, मूल अर्थलाई आधार मानेर आ-आफ्नै शैलीमा गरिएका गीताका भावानुवादहरु अपेक्षाकृत सरल हुन्छन् र बुझ्न पनि सहज हुन्छ । भनिन्छ, यसलाई पढ्दा मनमा जुन भाव आउँछन् श्लोकहरुले पनि उस्तै अर्थ दिएकाे भान हुन्छ । प्रत्येक पटक पढ्दा नविनता लाग्नुकाे कारण पनि शायद यही हाे !
उपनिषद्हरु वेदहरुकाे सार हुन् भने उपनिषद्हरुका सार श्रीमद्भगवद्गीता हाे । त्यसैले याे अगम्य छ । जसरी सागरमा पसेर पारी तर्न जति कठिन हुन्छ, जाेसुकैले सजिलै पार पाउन सक्दैनन् त्यसरी नै सामान्य मनुष्यकाे बुद्धि र साेचाईभन्दा निकै माथि छ याे । राजनीति, कुटनीति, दण्डनीति, अर्थनीति, ज्ञान, धर्म, भक्ति, दर्शन, मैत्री आफ्नोतर्फबाट दि हरेक पक्ष समेटिएको यस महत्त्वपूर्ण ग्रन्थलाई पूर्णरूपले बुझ्न, साेचे जस्तो सहज पक्कै छैन । त्यस्काे लागि लगाव, साधना र दृढसंकल्प हुनु जरुरी हुन्छ । निरन्तर लगावले भक्ति उत्पन्न हुन्छ, भक्तिबाट प्रेम, प्रेमले समर्पण र समर्पणबाट मात्रै यस्लाई बुझ्न सकिन्छ । विभिन्न धर्मग्रन्थ, शास्त्र, पुराणादिले विभिन्नरुपले गीताकाे महत्त्व बताएका छन् । यसै क्रममा, महाभारत र वाराहपुराणमा उल्लेखित यी दुई (दृष्टान्त) श्लोकहरुले गीताकाे धार्मिक महत्त्वलाई राम्रोसँग बुझ्न, बुझाउन र यसप्रतिको अभिरुचि बढाउनमा हामीलाई मार्गदर्शन गर्न सक्दछन् ।
महाभारतमा महाऋषि वेदव्यास भन्नुहुन्छ -
गीता सुगीता कर्तव्या किमन्यै: शास्त्रविस्तरै:।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनि: सृता।।
(स्वयं भगवान श्रीविष्णुकाे मुखारविंदबाट निस्केको  गीतालाई राम्रोसँग पढेर अर्थ र भाव सहित अन्तःकरणमा धारण गर्ने हाे भने अरु धेरै शास्त्रहरु पढ्नुकाे कुनै प्रयाेजन छैन ।)
यस्तै, वाराहपुराणकाे सूतशाैनकसंवादमा गीताकाे माहात्म्य यस्तो बताईएको छ -
गीताया: पुस्तकं यत्र नित्य पाठश्च बर्तते ।
तत्र सर्वाणि तीर्थानि प्रयागादीनि भूतले ।।
(जुन स्थानमा गीताकाे पुस्तक रहन्छ, नित्य गीता पाठ गरिन्छ, त्यहाँ प्रयाग आदि पृथ्वीका सबै पबित्र तीर्थहरु रहन्छन् ।)
गीताकाे प्रादुर्भाव 'धर्म' शब्दलाई ब्यापकरुपमा वर्णन गर्दा भएको पनि मान्न सकिन्छ । किनकि, श्रीमद्भागवत गीताकाे प्रारम्भ 'ध' अक्षर बाट हुन्छ -
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः।
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय।।१.१।।
भने, यस्काे अन्त्य 'र्मम' मा गएर हुन्छ -
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम ॥७८.८॥
तसर्थ, साररुपमा गीता भनेकै धर्म र धर्म भनेकै गीता हाे ।
गीताकाे बिशेषता याे पनि हाे कि, यसले कुनै बिशेष वाद र सिद्धान्त बाेल्दैन, यस्काे मुख्य उद्देश्य चाहे जुनसुकै वाद र सिद्धान्त बाेकेकाे ब्यक्ति नै किन नहाेस् उस्काे हरेक अबस्थामा कल्याण गर्नु र परमात्मा प्राप्तिकाे अवसरबाट उसलाई बञ्चित नगर्नु रहेकाे छ ।
यसले हामीलाई सबै प्राणीहरुमा समभाव राख्न प्रेरित गरेकाे छ -
विद्या-विनय-सम्पन्ने ब्राह्मणे गवि हस्तिनि। 
शुनि चैव श्वपाके च पण्डिता: समदर्शिन:।।१८.५।।
(विद्वानहरु, उंच नीच भनेर भेदभाव गर्दैनन् । चाहे उच्चकुलीन ब्राह्मण हुन वा गाई, हात्ती, चाण्डाल र कुकुर हुन उनीहरू सबैलाई समान भावले हेर्दछन् )
गीताले मनुष्यलाई फलेच्छा रहित कर्म गर्न पनि सिकाएको छ -
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।४७.२।।
(तिम्रो अधिकार कर्म गर्ने मात्रै हाे, फल पाउने नपाउने तिम्रो अधिकार भित्र पर्दैन । त्यसैले फलकाे आशा नराखि काम गर्ने बन, आफ्नाे कर्म गर्न कहिल्यै नछाेड )
समयकाे गति संगै मानव शरीरमा आउने स्वाभाविक परिवर्तन र आत्माकाे पुनर्जन्मकाे बारेमा बताउँदै माेह र शाेक रहीत रहन पनि गीताकाे हामीलाई सिकाएको छ ।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति।।१३.२।।
(मानव देहमा जसरी क्रमैसंग बालकपन, जवानी र बृद्धअबस्था आउँछन्, त्यसरी नै प्राणान्त पश्चात् देहमा रहेको जीवात्मालाई अन्य शरीरको प्राप्ति हुन्छ; त्यसैले धीर मानिसहरु यसमा माेहीत हुंदैनन्)
यस्ता एक से एक प्रेरक श्लोकहरु गीतामा उल्लेख छन्, जस्ले हामीलाई जीवनमा सच्चरित्रता कायम राख्दै धर्मकाे मार्गमा अघि बढ्न पथप्रदर्शककाे काम गरिरहेका छन् ।
आस्तिक हाेस् या नास्तिक गीता सबैका लागि परम गुरु हाे ।  गीताले जीवन बुझाउँछ, ईश्वर चिनाउँछ र कर्तव्य सिकाउँछ । त्यसैले गीता भवभयहारिणी माेक्षदायिनी ज्ञानगंगा हाे । गीतानै संसारकाे सार र आधार हाे । गीता जप हाे, तप हाे, ध्यान हाे र मनुष्यहरुका त्रयताप हर्ने पवित्र मन्त्र हाे । गीता एकमात्र सर्वाेत्तम, पवित्र र विशाल ब्रह्मज्ञानले भरिपूर्ण आध्यात्मिक ग्रन्थ हाे । याे सम्पूर्ण तीर्थहरुका पनि तीर्थ हाे । यद्यपि तीर्थहरु, आफूकहाँ आउने ब्यक्तिलाई मात्रै पुण्य र माेक्ष प्रदान गर्ने क्षमता राख्छन् तर गीतारुपी शब्दतीर्थमा बिचरण (पाठ) गर्ने ब्यक्तिले आफू सहित अरुलाई समेत पुण्यार्जन गराउने सामर्थ्य राख्दछ । यसर्थ, पढ्दा पनि राख्दा पनि पुण्य पाईने यस्ताे महत्त्वपूर्ण गीतालाई हामीले आफ्नाे जीवनकाे अभिन्न अङ्ग बनाउन किन नहतारिने !
अन्त्यमा, प्रार्थनारुपी आफ्ना यी पद्य पंक्तिबाट भगवान् श्रीकृष्णका चरणकमलमा बन्दना गर्दै लेख टुङ्ग्याउन चाहें
"धारी अनेक रुप सकल जगतको हर्ने सन्तापलाई,
लीला गर्ने अनेकौं हर युग-युगमा माया आफ्नो फिंजाई,
भर्ने मनमा करुणा मनुजहरुकाे प्रेम धारा पिलाई,
यस्ता श्रीकृष्ण आई सकल दु:ख हरी पार तारुन् मलाई ।।"
-------  अस्तु  ------
(उमामहेश्वर मार्ग, का.म.पा. - ७, कुमारीगाल)
मिति : २०७७-०९-०३, शुक्रबार

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …