नारी शिक्षाकाे सतिसाल: पद्मकन्या विद्याश्रम

----------------------------------- ✍️ मुरारीराज मिश्र

मानवले आदिमयुग देखि नै बिभिन्न किसिमहरुबाट सिक्दै आएको छ र, यो क्रम कुनै न कुनै रुपमा जीवनपर्यन्त नै निरन्तर रुपमा चलिरहन्छ । मानवको यहि सिक्ने क्रमलाई हामी अहिलेको भाषामा शिक्षा भन्ने गर्दछौ । बालकको पहिलो पाठशाला भनेको घर हो, उस्ले आफ्नी आमारुपी शिक्षिकाबाट सिक्ने क्रमको सुरुवात गर्दछ । दार्शनिक ईमर्सनले भनेका छन्– “आमाले जस्तो बनाउंछिन् मानिस त्यस्तै बन्छ”। अर्थात् आमालाई एक कुशल कुमालेको रुपमा बुझ्न सकिन्छ जस्ले कांचो माटो रुपी बालक लाई एउटा सुन्दर र आकर्षकरुप प्रदान गरि योग्य बनाउंछिन । यसैबाट नारी शिक्षाको महत्व प्रष्ट हुन्छ । 

महिलाहरुले घर बाहिर नै निस्कनु हुंदैन भन्ने सामाजिक सोच रहेको तत्कालिन समयमा “एक पुरुषलाई शिक्षा दिनु एकजनालाई शिक्षित पार्नु हो तर एक महिलालाई शिक्षा दिनु पुरै परिवारलाई शिक्षित पार्नु हो” भन्ने भावनाले प्रेरित भई, “जनताहरु शिक्षित भएमा आफुहरुको शासन धेरै टिक्दैन तसर्थ विद्यालय खोल्नु उचित हुन्न भन्ने आफ्ना भाई भारदारहरुको सुझावको वेवास्ता गर्दै” तत्कालिन राणा प्रधानमन्त्री पद्मशम्शेर जवराले आफ्नै निजी जग्गा र भवनमा बिक्रम सम्वत २००४ सालमा स्थापना गरेको (पछि सरकारी स्वामित्वमा हस्तान्तरण भएको) पद्मकन्या विद्याश्रम माद्यमिक बिद्यालय देशकै सवैभन्दा पुराना बिद्यालयहरु मध्येको एक विद्यालय हो । स्थापनाकालमा यसको सञ्चालन दरवार हाई स्कूलको माथिल्लो तल्लामा भएको भएतापनि २००४ सालमा यस विद्यालय लाई हालःको स्थानमा सारिएको हो । जुन कुरा विद्यालयमा रहेको शीलालेखमा उल्लेखित छ । 


यसै विद्यालय भवनमा, वि.सं. २०२० सालबाट नारी ज्ञान मन्दिर नामक माध्यमिक विद्यालय समेत सञ्चालन भएको थियो । करिव १ दशक पद्मकन्या विद्याश्रमको प्रधानाध्यापक हुनु भएकी निलमप्रभा शिवाकोटीले वि.सं. २०२० सालमा सोहि नारी ज्ञान मन्दिर मा.वि. मा नियुक्ति पाउनु भएको हाे । बिहानी समयमा सञ्चालन हुने सो विद्यालय नयां शिक्षा योजना लागू भए पश्चात वि.सं. २०३० फागुन १ देखि पद्मकन्या विद्याश्रममै गाभिएकाे थियाे । स्थापनाकाल देखि हालः सम्म हजारौ योग्य र सक्षम नारीजनशक्तिहरु उत्पादन गरि राष्ट्रलाई समर्पित गरिसकेको यस विद्यालयले नारी शिक्षाको क्षेत्रमा दिएको योगदान अतुलनीय छ ।

आफ्नो स्तरोन्नति गर्ने क्रममा वि.सं. २०६४ साल देखि यस विद्यालयले शिक्षा, मानविकी र व्यवस्थापन बिषयमा कक्षा ११/१२ (उच्च माद्यमिक) काे पठनपाठन सञ्चालन गर्दै आएको छ । छात्राहरुलाई प्राविधिक शिक्षा दिने उद्धेश्यले विद्यालयले शिक्षा बिभागको स्वीकृतिमा पाँचबर्ष अघि कक्षा ९ देखि सिभिल ईञ्जिनियरिङ्ग बिषयको पढाईको थालनी गरेकोमा हाल: १२ कक्षासम्म उक्त पढाइ हुने गरेकाे छ । यस विद्यालयबाट प्राविधिक शिक्षा पढेकी छात्राले हालै लाेकसेवा परीक्षा उत्तीर्ण गरि नेपाल सरकारकाे प्राविधिककाेरुपमा सेवा सुरु गरि देश बिकासमा याेगदान दिन थालिसकेकी छिन् । यसबाट पनि यस विद्यालयले प्रदान गर्ने प्राविधिक शिक्षा र शीपले समयमै राेजगारी प्राप्त हुने मात्र नभई आत्मनिर्भर बनाई जीवनयापनमा सहजता ल्याउने देखिन्छ ।

स–साना नानीहरुको लागि शिशु कक्षाको समेत यहां व्यवस्था छ । कक्षा ३ सम्म ग्रेड टिचिगं गराईन्छ । विद्यार्थीहरुको समग्र क्षमता विकासको लागि विद्यालयमा स्काउट, जुनियर रेड्क्रस, ईको क्लव र बाल क्लव जस्ता सामाजिक संस्थाहरु समेत सञ्चालित हुंदै आएका छन् ।

क्षेत्र नम्बर १ का संघिय सांसद माननीय प्रकाशमान सिंहकाे पहलमा छात्राहरुको सुविधाको लागि भारतीय राजदुतावासको करिव ४ करोडको आर्थिक सहयोगमा विद्यालयहातामा महिला छात्रावास भवनकाे निर्माण सम्पन्न भई सञ्चालनकाे अन्तिम तैयारीमा रहेको छ । काठमाडौं महानगरपालिकाबाट फर्निचर लगायतका सामानहरु प्राप्त हुने आश्वासनसंगै प्रकृया अघि बढिरहेकोले आवश्यक सरसामान जुटेर यसै आर्थिक बर्षबाट याे छात्रावास सञ्चालनमा आउने प्रवल संभावना छ ।
यस्तै, बागमती प्रदेश सांसद माननीय मीना ज्ञवालीकाे पहलमा बागमती प्रदेश सरकार अन्तर्गत खेलकुद विकास परिषदबाट विनीयाेजित भएको रु. तीसलाख रकमद्वारा हालः विद्यालयमा नेपालकै पहिलाे 'पद्मकन्या महिला क्रिकेट प्रशिक्षण केन्द्र' काे निर्माण सुरु भएकाे छ ।
यसैगरी, यसै आर्थिक बर्षमा विद्यालय हातामा पद्मकन्या मन्टेश्वरी कक्षा भवन निर्माण हुनेगरी काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद माननीय दिपेन्द्र श्रेष्ठले सांसद पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत रु. पचासलाख बजेट बिनियाेजन गर्नु भएकाे छ । यी सबै पूर्वाधारहरुले विद्यालयप्रति छात्राहरुकाे आकर्षण बढ्नुका साथै छात्राहरूको शैक्षिक लगायतका विकासमा मद्दत पुर्‍याउने विश्वास गर्न सकिन्छ ।

राजधानी काठमाण्डौंको मुटु डिल्लीवजारमा, आफ्नै करिव १३ रोपनी जग्गा र तीन ब्लकमा बिभाजत २ तल्ले भवनहरु सहितको यस बिद्यालय, विकासका पर्याप्त पूर्वाधारहरु जस्तैः सडक, सञ्चार, सुरक्षा, स्वास्थ्य, शिक्षा र यातायात लगायतका सम्पूर्ण सुविधा उपलव्ध भएको स्थानमा अवस्थित छ । देशका बिभिन्न भाग बाट राजधानी आएका सवै जात–जाती, संस्कृति, भाषा र रहन–सहन भएका करिव नाैसय छात्राहरु (शिशु कक्षा देखि १२ कक्षा सम्म) अध्ययनरत रहेका यस बिद्यालयका छात्राहरु मध्ये करिव १० प्रतिशत छात्राहरु मात्र आर्थिक रुपले सक्षम भएको पाईन्छन् भने, करिव ४० प्रतिशत मध्यमस्तरका र ५० प्रतिशत विपन्न तथा निम्नवर्गका भएकाले अरुको आश्रयमा रहि आफ्नो श्रम द्वारा मुस्किलले जिविकोपार्जन गर्ने वर्गमा पर्दछन् । यस्ता वर्गका छात्राहरु, (जो बिद्यालय शिक्षाको लक्षित वर्ग भित्र पनि पर्दछन्) लाई अहिलेको समयानुकूल शिक्षा प्रदान गरि उनीहरुमा समय संगै अघि बढ्न सक्ने क्षमता, योग्यता, र शीपको बिकास गर्नु अत्यावश्यक भएको कुरा विद्यालयले महसूस गरेको छ । त्यसैले “बर्तमान समयमा नारीलाई शिक्षित मात्र पारेर पुग्दैन योग्य, सक्षम, स्वावलम्वी र आत्मनिर्भर समेत बनाउनु पर्छ जस्को लागि प्राविधिक शीप र शिक्षा दिनु पर्छ । नारी शिक्षित भए पुरा परिवार शिक्षित हुन्छ, शिक्षित परिवार मिलेर समाज र समग्र राष्ट्र नै शिक्षित बन्छ” भन्ने उद्देश्यले प्रेरित भई आफ्नो सिमित आर्थिक श्रोतकाे वावजुद पनि बिद्यालयले छात्राहरुलाई आधुनिक प्रविधिको ज्ञान दिने उद्देश्यले कम्प्यूटर शिक्षा सञ्चालन गरेको छ । दुरसंचार प्राधिकरणले हालै बिद्यालयमा स्थापना गरिदिएकाे सुविधासम्पन्न सूचना प्रविधि ल्यावले विद्यालयकाे उद्देश्य पूरा गर्नमा सहयाेग गर्नुका साथैै विद्यार्थी, शिक्षक, कर्मचारीहरुलाई कम्प्युटर शिक्षा र सूचना प्रविधिकाे अझै निकट पुर्‍याएकाे छ ।

कक्षा ११ र १२ बाहेक विद्यालयमा शिशु कक्षा देखि १० सम्म मासिक पढाई शुल्क लिने गरिएको छैन् । तर पनि विद्यालयले कुनै माशिक शुल्क बिना नै मा.वि. तह सम्म सरकारी पाठ्यक्रम बाहेक अंग्रेजी, गणित र कम्प्यूटर बिषयका थप पुस्तकहरु राखेर पढाउंदै आएको छ र कक्षा ९ सम्म नेपाली तथा अंग्रेजी दुवै माध्यममा पढाईने गरिएको छ जुन एउटा महत्वपूर्ण र उदाहरणीय पक्ष हो । 

बिश्वब्यापी काेराेना कहरले शैक्षिक क्षेत्र ठप्प भएकाे बर्तमान समयमा पनि विद्यालयले समयमै पाठ्यपुस्तक वितरण गरि अनलाइनकाे माध्यमबाट पठनपाठन गर्दै आएकाे छ । विद्यालयले कक्षागत अभिभावक बाेलाएर प्रश्नपत्र र कापी घरधरमा पठाएर परीक्षा समेत लिईसकेकाे छ । अनलाइनकाे पंहुचमा नभएका छात्राहरुका लागि सुरुवातमा प्रत्येक हप्ता र हाल: पाक्षिकरुपमा  विद्यालयमा अभिभावकहरुलाई बाेलाएर सबै बिषयकाे गृहकार्य दिईने गरिएको छ । यसरी संकटकाे घडीमा समेत विद्यालयले छात्रा र अभिभावकहरुकाे निरन्तर निकट सम्पर्कमा रहेर आफ्नाे शैक्षिक धर्म निर्वाह गरिरहेकाे छ ।

यस विद्यालयको पहिलो प्रधानाध्यापक वानी हाजरा नामक भारतीय महिला थिईन् भने त्यस पछि क्रमशः देवीप्रसाद रिमाल, तीर्थप्रसाद ढुङ्गाना, पुरन बुढाथोकी, तुलसीबहादुर सिंह, ईश्वरराज अर्याल, गौरीप्रसाद राजभण्डारी, निलमप्रभा शिवाकोटी, शारदा श्रेष्ठ, ईश्वरप्रसाद सापकोटा र राधा ढुंगानाले यस विद्यालयमा प्रधानाध्यापकको रुपमा योगदान गरि सक्नु भएको छ भने गत: ८ वर्ष देखि रीता तिवारी प्रधानाध्यापकको रुपमा विद्यालयको शैक्षिक उत्थानमा सक्रिय र समर्पित हुनुहुन्छ । यसै गरि, अंगुरवावा जोशी, भुवन सिंह, पुण्यप्रभादेवी ढुङ्गाना, प्रा.आनन्ददेव भट्ट, डा.तुलसीप्रसाद भट्टराई, भद्राकुमारी घले, प्रा.सीताराम अधिकारी, प्रा.डा. बिष्णुहरि नेपाल, राजराजेश्वरी सिंह, सुनिल पाैडेल लगायतका बिद्वान–बिदुषीहरुले अध्यक्षको रुपमा बिद्यालयको बिकासमा महत्वपूर्ण योगदान दिनु भएको छ । भने, समाजसेवी तथा शिक्षाविद् आरती शर्मा सत्यालको अध्यक्षतामा गत: बर्ष गठन भएको विद्यालय व्यवस्थापन समिति विद्यालयकाे समग्र बिकासकाे लागि दत्तचित्त भई क्रियाशील रहेको छ ।

अन्त्यमा, ''आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय र जीवनोपयोगि शिक्षा प्रदान गर्नमा जस्तोसुकै कठिन समय आईपरे तापनि विद्यालय निरन्तररुपमा लागि रहने" प्रधानाध्यापक रीता तिवारीकाे भनाइलाई उद्धृत गर्दै लेखकाे बिट मार्न चाहेँ । अस्तु ।
      ~~~~~ °°°°° ~~~~~

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...