एकदिन : धार्मिक क्षेत्र तीन

घुमफिर अनुभव;

  ✍️ मुरारीराज मिश्र,
                                                                               बि.सं. २०७९ साल पाैष २ गते शनिबारका दिन बिहान आफ्ना सहचालक सहित माईक्रोबस लिएर प्रकाश अधिकारी भाइ ताेकिएकाे समयमै आईपुगे । हामी तैयारी अवस्थामा रहेका थियौं ।बस्ने-खाने सामान गाडीमा राखेर, १७ यात्रु र चालक/सहचालक समेत गरि १९ जनाको टाेली  बिहान ७ बजे एकदिने धार्मिक भ्रमणमा निस्कियाे ।

हाम्रो गन्तव्य- काठमाडौं महानगरपालिकासंग सिमाना जाेडिएकाे, काठमाडौं जिल्लाभित्रै पर्ने तारकेश्वर नगरपालिका क्षेत्रका तीनवटा धार्मिकस्थल तारकेश्वर महादेव, भुवनेश्वरी मन्दिरशान्ति धाम (बद्रीनाथ) तर्फ थियोे । 




मीनपचासकाे समय, त्यसमाथि हुस्सु र बादलले धुम्मिएकाे माैसम भएकाले चिसोकाे पाराे राम्रै चढिसकेकाे महसुस भयाे । गाैरीघाट, चाबहिल, माछा पाेखरी, रानीवन, ओशाे आश्रमकाे बाटो हुँदै हाम्रो यात्रा तारकेश्वरतर्फ अघि बढ्दै गयाे । बाटोकाे अवस्था अधिकांश ठीकै भएतापनि केही ठाउँमा निकै बिग्रिएकाे देखियोे । हामी बिहान ०८:३० पाँचमाने भञ्ज्याङ पुग्याैं ।

पाँचमाने पुग्दा टण्टलापुर घाम लागिरहेको थियाे ।माथि उक्लंदै गर्दा खासै वस्ती देखिएन, फाट्टफुट्ट घरहरु मात्रै थिए । एउटामात्र सामान्य पसल देखियाे । सवारीबाट उत्रिएर हामी मन्दिर उक्किन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरकाे जंगलभित्र प्रवेश गर्‍यौं । हल्का सिरेटाे चलिरहेकाले बाताबरण चिसाे थियोे । घाम नछिर्ने घना जंगलको बिचकाे बाटाेका ठाउँ ठाउँमा बस्ने मेच सहितका विश्राम स्थल थिए । स्थानीयका अनुसार यहाँ राति जंगली जनावरहरु आउने रहेछन् ।

वरिपरिका रमणीय दृश्य हेर्दै झण्डै ३५ मिनेट ठाडाे उकालो सिंढी र ५ मिनेट समथल ओरालो बाटो हिंडेपछि हाम्रो टाेली बिहान ०९:१५ बजे मन्दिरकाे तल्लो गेटमा पुग्याे । भित्र पस्नासाथ बाटाेकाे दायाँतर्फ, बिचमा नागकाे अग्लो स्तम्भ सहितकाे पानीको ठूलो जलाशय, कलकल बग्ने धाराहरु र देवी देवताका मूर्ति देखिए । त्यहाँबाट ढुँगा छापिएको ठाडाे सिंढी चढ्दै महादेवकाे प्राचीन प्रस्तर मूर्ति भएको स्थानमा पुगियाे ।    

तारकेश्वर महादेव

अलिक माथि बाबाको आश्रम र धुनी रहेछ । त्योभन्दा माथिपट्टी सानाे गुफा जहाँ गणेश, शिव र नन्दीकाे मूर्ति स्थापना गरिएको थियोे । त्यहीँनिरकाे अप्ठ्यारो ठाडो पहराेमा फलामको भरेङ्ग उक्लेर तारकेश्वर महादेवकाे पूजा र दर्शन गर्नुपर्ने रहेछ । हामीले दर्शन, पूजा अर्चना गर्‍यौं ।

त्यहाँबाट तल ओर्लने क्रममा तलकाे शिवमूर्ति नजिकै, मन्दिरमा नित्य पूजा र मन्दिर परिसरकाे संरक्षण गर्दै आउनुभएका तारकेश्वर नगरपालिकाका कर्मचारी रामकुमार धिताल भेटिनु भयाे । उहाँले बताउनुभए अनुसार, आफूभन्दा तेह्राैं पुस्ता अघिदेखि यहाँ नित्य पूजाआजा हुँदै आएकाे हाे । परापूर्वकालमा यहाँ विहे-ब्रतवन्ध गर्न आउँनेका लागि गाग्री, खड्कुलाे लगायतका पकाउने र खाने भाँडाकुँडा यहीँ उत्पन्न हुने गरेकाेमा पछि कुनै ब्यक्तिमा लाेभ पैदा भई पन्यू नबुझाएकोले त्यसपछिका दिनमा भाँडाकुँडा उत्पन्न हुन छाडेको किम्वदन्ती पनि उहाँले सुनाउनुभयो ।

कसैको पुत्र नभए, बालककाे बाेली नफुटे, घरमा अशान्ति भए तीमध्ये एउटामात्र आकांक्षा राखेर यहाँ लाखबत्ती बालेमा मनाेकांक्षा पूरा हुने जनविश्वास रहेको रहेछ ।        

तारकेश्वर मन्दिरको प्रवेश द्वार

नित्य पूजाकर्ता धितालका अनुसार, दरवारसँग पहुँच भएका कालिबाबाले २०३८ सालबाट माथि पहराेमा (हालकाे माथिल्लो महादेव स्थानमा) तपस्यास्थल बनाएर बस्न थालेकोमा, गाउँलेहरूले `बाबा, देवता भन्दा ठूलाे तपाईं हामी काेही हैनाैं । हामी र अरु मानिस तपाईलाई भेट्न माथि आउँदा तलकाे महादेवकाे मूर्ति नाघिन्छ, यसबाट मन्दिर अपबित्र भयाे, महादेव रिसाए भने अनिष्ट हुनसक्छ त्यसैले यहाँबाट तपस्यास्थल हटाउनु पर्‍यो´ भनेपछि, बाबाले `जे भयाे भयाे, अब म याे स्थानमा मूर्ति स्थापना गरिदिन्छु´ भनी आफ्नो तपस्यास्थल पहराेमा महादेव स्थापना गरेकाे तर त्यहाँ ढाेका समेत बनाएर आफू पूजा गर्न जाँदा मात्रै खाेल्ने र अरुबेला बन्द गर्ने गरेकोमा, २०५६ माघमा कालिबाबाको मृत्यु भएपछी ढाेका हटाएर पूजाआजा खुल्ला गरिएको रहेछ !

सायद थाहा नपाएरै हाेला, अहिले दर्शनार्थीहरुले वास्तविक प्राचीन मूर्तिलाई भन्दापनि पछि स्थापित मूर्तिमा पूजाआजा गर्ने गरेकाे देखिन्छ ।

स्कन्द पुराणकाे केदार खण्ड अन्तर्गतको स्वस्थानी ब्रतकथाका अनुसार महेन्द्र भन्ने स्थानमा सतीदेवीको दाहिने तिघ्रा पतन भएको हाे र त्यहाँ इन्द्राणी देवी तथा तारकेश्वर महादेवकाे उत्पत्ति भएको थियोे । यस पुस्तकलाई आधार मान्ने हाे भने सतीदेवीकाे दाहिने तिघ्रा पतन भएको मानिने यस पाँचमाने डाँडाकाे प्राचीन नाम महेन्द्र थियोे भनेर पनि मान्नुपर्ने हुन्छ !    

स्वस्थानी पुस्तकमा तारकेश्वर

यसैगरी स्वस्थानीमा सतीदेवीकाे हरेक अंग पतनस्थलमा देवीको पीठका साथै महादेवकाे समेत उत्पत्ति भएको उल्लेख भएतापनि तारकेश्वर महादेवमा कुनै देवीपीठ देखिएन ! यसबारेमा स्थानीयहरु र पुजारीलाई पनि केही थाहा छैन । याे कुरा भने अलिक अमिल्दाे छ ! हुन त, तारकेश्वर महादेवभन्दा एकघण्टाकाे पैदल दुरीमा भुवनेश्वरी मन्दिर पनि छ । तर त्यस्काे स्थापना भएको करिव १८ बर्षमात्रै भएकाले त्यसलाई सतीदेवीकालिन देवीपीठ मान्न नसकिने स्थानीयकाे मत छ ।

इतिहास जे जस्तो नै किन नहाेस्, बर्तमानमा तारकेश्वर महादेव मन्दिर काठमाण्डौं उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको महत्वपूर्ण तीर्थस्थलका रुपमा  परिचित छ। ऐतिहासिक पाँचमाने भञ्ज्याङ र जितपुरफेदीबाट समेत हुँदै पुग्न सकिने यस मन्दिरमा शिवरात्री, जनै पूर्णिमा र नयाँ वर्षको दिन मेला लाग्छ । प्राकृतिक सौन्दर्यको खानी मानिने शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिरमा पूजाआजा गर्न टाढाटाढाबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

पूजाआजा, दर्शन, अवलोकन तथा यी र यस्तै जानकारी बटुल्दै करीब डेढघण्टा मन्दिरमा बिताएर हामीले त्यहाँबाट प्रस्थान गर्‍यौं । माइक्रोबस राेकेकाे स्थानमा पुगेर साँढे ११ बजे चीया, बिस्कुट खाईयाे ।

चियापान गर्दै गर्दा, त्यहाँ बारीमा काम गर्दै रहनुभएका स्थानीय युवा पुरुषाेत्तम धितालसंग केही कुराकानी भयाे । उहाँबाट यस स्थानको बारेमा थप जानकारी मिल्याे । तत्कालीन समयमा काठमाडौंबाट नुवाकोट, गाेरखा लगायतका स्थानमा जाने प्रमुख मार्गका रुपमा रहेकाे याे ऐतिहासिक पाँचमाने भञ्ज्याङ, पूरानाे पूर्वपश्चिम राजमार्ग भनेर समेत चिनिने याे बाटोकाे प्रख्यात नाका रहेछ । कुनै समय चिनिया सैनिकले काठमाडौंमा आक्रमण गर्न याे बाटो भएर आउँदा जनताले उनीहरूलाई यसै नाकामा राेकेका थिए रे ! गाेरखाबाट यही बाटो हुँदै आएर पृथ्वीनारायण शाहले काठमाडौं जितेका रहेछन् !

आफू सानो छँदा, बुबा-हजुरबुबाले खडेरी परेकाे बेला पानी देऊ महादेव भनेर तारकेश्वरमा रुद्री लगाउँदा त्यसैदिन साँझ पानी पर्ने गरेको घटनाको स्मरण गर्दै, साविकको केही भाग पहिराेले भत्किएकोले पाँचमाने भञ्याङमा पाँचवटा ठूला माने सहितको पार्क निर्माणाधीन रहेको पनि उहाँले बताउनुभयो । यस्तै जानकारी सङ्गाल्दै हामी त्यहाँबाट अर्को गन्तव्य भुवनेश्वरी मन्दिर तर्फ लाग्यौं ।

१५ मिनेट दुरीकाे कच्ची धुलाैटे बाटो पार गरेर भुवनेश्वरी मन्दिर पुगियो । मन्दिर परिसर निर्माणाधीन अवस्थामा थियोे । चारैतिरबाट मन्दिरभित्र प्रवेश गर्न मिल्नेगरी अग्लो उचाइमा बनाईएकाे मन्दिर संरचना भव्य देखिन्थ्यो । मन्दिरमा मानिसको चहलपहल थियो । मन्दिरको दक्षिणी भागबाट पानीको सानाे खाेल्सामा खुट्टा डुबाएर ठाडो लामो सिंढीहरू चढ्दै देवीको दर्शन गर्न मन्दिरभित्र पस्नु पर्ने व्यवस्था रहेछ । भित्र पसेपछि बिच भागमा देवीको सुन्दर मूर्ति देखिन्छ । मूर्ति अगाडिको भागमा श्रीयन्त्र छाेपेर राखिएको जानकारी पाईयाे । देवीको दर्शन टाढैबाट गर्नुपर्छ ।     

भुवनेश्वरी मन्दिरको दक्षिणी माेहाेडा

ठूलाठूला काठका दलिनबाट सुरुमा बनेको याे मन्दिर निर्माण भएकाे करिव १० बर्षमै २०७२ काे महाभुकम्पमा पूर्णरूपमा भत्केपछि हालकाे संरचनामा निर्माण गरिएकाे कुरा मन्दिरभित्र प्रसाद लगाइदिन बसेका धर्मराज अर्यालले बताउनु भयाे । ब्रह्मचारी श्याम बाबाको सक्रियतामा नगन्य सरकारी लगानीमा बन्दै गरेको याे मन्दिरकाे अगाडिको भागमा बनेको आश्रममा श्यामबाबा बस्नु हुने पनि उहाँले जानकारी दिनुभयो ।   

भुवनेश्वरीकाे मूर्ति 

त्यहाँ भेटिनुभएका मन्दिरसंग सम्बन्धित अर्का ब्यक्ति बलराम जमकटेलसंगकाे कुराकानीमा, मन्दिर परिसर सामुदायिक वनकाे साँढेपाँच हेक्टर जग्गामा अवस्थित भएको कुरा थाहा भयाे । उहाँका अनुसार मन्दिरकाे इतिहास करिव १८ बर्ष मात्रै पुरानो रहेछ । मन्दिर परिसरकाे सम्पूर्ण निर्माणकार्य सकिन करिब ५-७ लाग्ने र त्यसपछि याे स्थान गजबको पर्यटकीय स्थल हुने पनि उहाँको धारणा थियोे । हाम्रो अनुमान पनि त्यस्तै रह्यो ।     

भुवनेश्वरी मन्दिरकाे उत्तरी माेहडा

हामीले मन्दिरको अवलोकन गर्‍यौं । तस्बिर खिच्याैं । अनि मन्दिरभन्दा अलिकति माथितिर डाँडाकाे खुला चाैरमा बसेर घरबाटै लगेको खानेकुरा खायाैं । हाम्रो टाेलीका केहीले त्यहाँको बारीमा फलेको तरकारी साग, मुला र बकुलाहरु समेत किन्न भ्याए । त्यसपछि गाडीमा चढेर पाँचमाने भञ्ज्याङबाट जितपुर फेदी हुँदै दिनकाे २:१० बजे आजको अन्तिम र तेस्रो गन्तव्य काभ्रेस्थलीकाे बद्रीनाथ मन्दिर अर्थात् शान्तिधाम तर्फ प्रस्थान गर्‍यौं ।  

बद्रीनाथ मन्दिरमा स्थापित स्तम्भ 

हामी शान्तिधाम पुग्दा मन्दिर बन्द रहेछ । ३:०० बजे खुल्ने जानकारी पायौं । यस बिच मन्दिरकाे अवलोकन गर्दै तस्बिर खिच्ने कार्य भयाे । एक बर्ष अघि पहिलोपटक यहाँ आउँदा निर्माणाधीन रहेको बाटो कालाेपत्रे भईसकेछ । मन्दिरमा पनि केही संरचना थप भएछ । मन्दिर परिसर सुन्दर त छँदै थियाे ।    

शान्तिधाम/बद्रीनाथ मन्दिर परिसर

मन्दिरमा आईरहने स्थानीय रमेश शर्माकाे भनाइमा, यस शान्तिधाममा पछिल्लो समयमा आन्तरिक पर्यटकहरुकाे चहलपहल बढेको रहेछ । बिदाको दिनमा दर्शन गर्न आउने, नजिकै पिकनिक मनाउन आउने र हाईकिङ् गर्न आउनेकाे निकै हुने रहेछन् । मन्दिर स्थापना भएपछि यहाँ जग्गाको भाउ आकाशिएकाे उहाँको अनुभव थियोे ।    

बद्रीनाथकाे मूर्ति 

यसैक्रममा ३ बजे मन्दिर खुल्याे । सबैले दर्शन गर्‍याैं । हाम्रो टाेलीका केही सदस्यले भजन-कीर्तन पनि गरे । हाम्रो आजको कार्यक्रम यति नै थियोे । त्यसैले ३:४५ बजे हामी घर फर्कने तरखरमा लाग्यौं । माईक्रो चढ्याैं । साँझ ४:३० बजे घर आईपुगेर हाम्रो एकदिने भ्रमण समापन भयाे ।

भ्रमणका बेला खट्किएका दुई कुरा:
पहिलो - कतिपय पर्यटकीय स्थानहरूमा तस्बिर खिच्न दिईन्न । मलाई लाग्छ, पर्यटन प्रवर्द्धनका लागि यसाे गर्नु ठीक हाेईन ! सुरक्षाको दृष्टिले अति संवेदनशील प्राचीन पुरातात्त्विक सम्पदा बाहेकका नवनिर्मित पर्यटकीय स्थानमा फाेटाे खिच्नमा प्रतिबन्ध लगाउनु हुँदैन । ब्यवस्थित तरिकाले तस्बिर खिच्न दिँदा साे स्थानको उचित प्रचारप्रसार हुने र यसबाट पर्यटककाे संख्यामा वृद्धि भई पर्यटन प्रवर्द्धनमा टेवा मिल्न जाने मेराे ब्यक्तिगत धारणा छ ।

दाेश्राे - यतिधेरै पर्यटकको चहलपहल हुने यी तीनवटै धार्मिक क्षेत्रका आसपासमा एकछिन बसेर चिया र नास्तापानी गर्न मिल्ने पसल व्यवसाय नहुँदा यात्रुहरूलाई निकै असुविधा भएको देखिन्छ । सम्बन्धित क्षेत्रका व्यवस्थापन पक्षले यसतर्फ ध्यान दिनु जरुरी छ ।

अन्त्यमा,

पहिलेजस्तै यसपटक पनि समयमै टुंगो नदिने केही ब्यक्तिलाई सवारीमा स्थानाभावले भ्रमणमा समेटन सकिएन । यसले अलिक खिन्नता  महसुस भयाे । जे हाेस्, समग्रमा भ्रमण भने रमाइलो र उपलब्धिमूलक नै रह्यो ।       

भ्रमण टाेली

भ्रमण टाेलीका सदस्यहरु:
लक्ष्मी पाण्डे, गीता बिष्ट, नारायणराज मिश्र, शर्मिला मिश्र, कल्पना मिश्र, यादवराज मिश्र, मेधा मिश्र, अञ्जन कट्टेल, मीना कट्टेल, मीठु पाैडल, विमला बस्नेत, भवानी अधिकारी, बुहारी अधिकारी, प्रमिला न्याैपाने, कमला गाैतम, पूजा रेग्मी र मुरारीराज मिश्र ।
*****
(उमामहेश्वर मार्ग, का.म.पा.-७, कुमारीगाल)       


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...