लघुकथा: गरीबी निवारण
लघुकथा: गरीबी निवारण
सडक छेउको ग्रामीण चिया पसल अगाडि चिल्लो कार राेकियाे । चिया पिउँदै गरेका रमेश र जनकले कारतर्फ नजर लगाए । टाइसुटमा सजिएकाे चस्माधारी ब्यक्ति कारकाे चालक सिटबाट निस्कंदै उनीहरू तिर आयाे र भन्याे - "ए रमेश, के तिम्रो हाल खबर ?"
रमेशले अकमक्क पर्दै प्रश्नकर्तालाई हेर्यो !
"मलाई चिनेनाै ? म जीवन हुँ क्या, तिम्रो बाल्यकालका साथी" आगन्तुककले चस्मा खाेल्दै भन्याे ।
धेरै समयकाे अन्तराल पछि भेटिएको बाल्यकालकाे साथी जीवनकाे फेरिएको रुप देखेर आश्चर्यचकित भएको रमेशले खुशी हुँदै भन्याे - " तिम्रो त कायापलट नै भएछ त जीवन ! के गर्दैछाै आजकल !!"
"अँ, यसाे सामाजिक कार्यमा लागेकाे छु म त । अनि तिमी नि ?" जीवनले जवाफ संगै प्रश्न गर्यो ।
"म विद्यालयमा पढाउँछु, यसाे अलिकति कृषि कर्म पनि गर्छु ।"
ल, मैले त चिनाउनै बिर्सेकाे ! उहाँ जनकजी, हामी एउटै पेशाकर्मी ।
दुबैले हात मिलाए । परिचय आदानप्रदान गरे ।कुराकानीकाे क्रममा जनकले - "केही दिन अघि विभिन्न राष्ट्रिय पत्रपत्रिकामा छापिएको समाचार तपाईं कार्यरत ग्रामीण गरीबी उन्मुलन संस्थाकाे बारेमा नै हैन त ?" भनेर जीवनलाई साेध्याे ।
"यहाँ काम गर्नेलाई बदनाम गरिन्छ, त्याे समाचार पनि त्यस्तै हाे" मलिन स्वरमा जीवनले जवाफ फर्कायाे र "मलाई अलिक हतार छ आज, फेरि भेटाैंला है !" भन्दै हतारिए झैं कारमा हुँईकियाे ।
जीवन एक्कासि गएकाे अनाैठाे मानिरहेकाे रमेशलाई जनकले सुनायाे - "याे मान्छे कार्यरत संस्थामा गरीबकाे नाममा विदेशबाट अनुदान ल्याएर धनी बन्नेहरुहरुकाे हालिमुहाली छ ! भुकम्पकाे बेलामा संस्थाका सञ्चालकहरुले एकएकवटा घर र बाढी पहिरोकाे बेलामा कार जाेडेछन् । तर, पीडितलाई भने चामल, चाउचाउ र लुगाफाटोमै टारेछन् ! त्यै बारेमा पत्रपत्रिकामा समाचारहरु छापिएका थिए ।"
जनकले यी कुरा सुनाइ रहँदा रमेशकाे आँखामा भने, जीवनकाे विगतकाे विपन्न अवस्थाकाे चित्र झलझल्ती आइरहेको थियोे ।
Comments
Post a Comment