प्रार्थना : छँदा गर्भमा साेच्दथें ...

छँदा गर्भमा, साेच्दथें याे म गर्छु ।

सबै जीवकाे हितमा, लागिपर्छु ।।

जसै जन्मिएँ, त्याे सबै विस्मरण भाे ।

म हुँ शक्तिशाली, यही मात्र भ्रम भाे ।।

न कैले मनैमा, हरिनाम लेखें ।
न दुखीहरुमा, प्रभुलाई देखें ।।
न भाेकाहरुलाई, खाना खुवाएँ  ।
नराखी दयाभाव, उल्टै रुवाएँ ।।

म खाउँ, म बाँचु, रह्यो साेच यत्ति ।
बन्याे चित्त सानाे, झिंगा-शिर जत्ति ।।
न बाँडे कतै प्रेम, बन्दै सुपात्र ।।
संधै मै हुँ भन्दै, बनें दम्भी मात्र ।।

न संगत गरें साधु, सज्जनहरुकाे ।
गरि रिस मात्रै, बसें म अरुको ।।
फलेको कुनै, बृक्षजस्ताे झुकिन ।
पूरा गर्न स्वार्थ, म कैले चुकिन ।।

न सत्कर्म, शास्त्रादिमा, मन लगाएँ ।
न भाे पाठपूजा, त्यसै दिन बिताएँ ।।
न तीर्थै घुमे म, न गङ्गा नुहाएँ ।
अहाे ! दिव्य चाेला, फगतमा गुमाएँ ।।

भयाे बृद्धकाया, बखत भाे मरणकाे ।
अनि याद आयाे, प्रभुकाे शरणकाे ।।
म बुझ्दैछु बल्ल, झुठो रैछ सृष्टि ।
परें म चरणमा, प्रभु देऊ दृष्टि ।।
                             ✍️ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...