लघुकथा: प्रतिवेदन
✍️ मुरारीराज मिश्र,
`वृद्धाश्रमहरुमा आश्रित प्रायः सबै वृद्धहरु सन्तानकाे अवहेलनाकाे कारण त्यहाँ पुगेका देखिन्छन् ।´
वृद्धवृद्धाहरुकाे जीवनलाई कसरी सहज र आरामदायी बनाउन सकिन्छ भन्ने बारेमा प्रतिवेदन पेश गर्न सरकारले गठन गरेकाे कार्यदलका संयाेजक श्रवणकुमारले, मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्दै भने ।
`तपाईंहरुले बढाे मेहेनत गरेर प्रतिवेदन तैयार गर्नुभएको छ, यसलाई म राम्ररी अध्ययन गरि लागू गर्ने प्रयास गर्नेछु ।´ समाज कल्याण मन्त्री दयारामले प्रतिवेदन बुझ्दै घाेषणा गरे ।
कार्यकक्षमा आएर मन्त्रीले प्रतिवेदन पल्टाए । सुरुमा लेखिएको थियोे `प्रत्येक सन्तानले आफूलाई आफ्ना मातापिताले कस्ता कष्ट व्यहोरेर हुर्काएछन् भन्ने महसुस आफू मातापिता भएपछि गर्नुपर्ने हो । तर, समाजमा देखिएका कतिपय दृष्टान्तले त्यस्तो महसुस गरेको देखिन्न । सन्तान स्वार्थी भएजस्तै मातापिता पनि स्वार्थी भइदिए भने समाज कस्तो होला ?´
उनी पढदै गए `आज हामीले गरेका कर्म र व्यवहारको सिको नै हाम्रा सन्तानले गर्ने हुन् । पछि पछुताउन नपरोस् । जिउँदोमा लात, मरेपछि घिउ-भात भनेझैँ मृत्युपछिको आडम्बरले केही अर्थ राख्दैन ।´
अगाडि लेखिएको थियोे `पैतृक सम्पत्तिमा सन्तानको हक लागेझैँ, अबका दिनमा सन्तानको आम्दानी र सम्पत्तिमा पनि आमाबाबुको निश्चित प्रतिशत हक लाग्ने कानुन बन्नैपर्छ । यसले उनीहरूलाई आफ्ना जन्मदाताप्रतिको कर्तव्यबोध वा जिम्मेवारी स्मरण गराउँछ ।´
पढ्दापढ्दै मन्त्रीका स्मृतिमा, निकै बर्षअघि तीर्थ लैजाने निहुँमा हरिद्वारमा आफूले बेवारिसे छाेडेर आएकी वृद्धआमा झलझली आईन् ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)
Comments
Post a Comment