लघुकथा: दुरदर्शिता
✍️ मुरारीराज मिश्र,
"यस्तो अपर्झट बैठक के कामका लागि बाेलाईएकाे हाेला है सर ? फेरि म त नयाँ मान्छे, बैठकमा के पाे भन्नु !" दुईदिन अघि मात्रै नियुक्त कर्मचारी रमेशले बैठक हलतर्फ जाँदै गर्दा, आफ्नो सिनियर शिवरामसँग जिज्ञासा राख्यो ।
"हाेला नि केही ! तर जेसुकै भएपनि, हामीले छलफलकाे क्रममा आफूलाई लागेको कुरा चाँहि संस्थाकाे हित हेरेर प्रष्ट बाेल्नुपर्छ । चाकडी चाप्लुसीबाट परै रहनुपर्छ ।" शिवरामले सिकाउँदै भने ।
"सरजस्तो अनुभवी ब्यक्तिबाट धेरै सिक्नु छ मैले !" रमेशले पनि उत्साहित हुँदै भन्याे ।
"अमूक संस्थाले उपत्यका बन्दकाे कार्यक्रम राखेको रहेछ ! आउन जान अप्ठ्यारो हुने देखेर मैले भाेलि अफिस बन्द गर्ने बिचार गरेकाे छु, तपाईंहरु के भन्नुहुन्छ ?" बैठकमा हाकिमले साेधे ।
"अत्यन्तै राम्रो बिचार । मेराे पनि यस्तै साेचाई हाे । सबैकाे मर्का बुझ्ने हजुरजस्ताे दुरदर्शी हाकिम पाउनु हाम्रो अहाेभाग्य हाे ।" शिवरामले प्रस्तावकाे समर्थन गर्दै भन्याे । बिदा हुने निर्णय भयाे । सबैले तालि पिटे । बैठक सकियाे ।
अफिस छुट्टि हुनै लागेको थियोे, अकस्मात् हलमा जम्मा हुने सूचना आयाे । उत्सुकतापूर्वक सबै भेला भए ।
"भाेलि दिने भनेको बिदा दिन नमिल्ने खबर हेडअफिसबाट भर्खरै आयो, त्यसैले मैले बिदा दिने निर्णय रद्द गरेकाे छु है ।" हाकिमले सुनाए ।
"मनासिब निर्णय हजुर । यस्तो बिदा दिन मिल्दैन भन्ने त मलाई पहिले नै लागेको थियोे ! राम्रो गर्नुभयाे ।" शिवरामले झट्पट् अघि सर्दै भन्याे ।"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment