लघुकथा: बिटुलाे
✍️ मुरारीराज मिश्र,
"कस्ताे बेला के पकाउनु हुन्छ, के हुन्न भन्ने अलिकति पनि ज्ञान छैन तँलाई ?"
ससुरा बितेको छ महिनापछि छाेरा-बुहारीलाई भेट्न गाउँबाट सहरमा आएकी कमलाकी सासूआमा भातकाे थाल पर सार्दै रिसले भुत्भुताइन् ।
"हाे भन्या आमा ! ल हेर्नुस् त, बरखी बारेको बेलामा मुसुरोकाे दाल, गाेलभेडाकाे अचार, भण्टा र च्याउकाे तरकारी ! त्याे पनि लसुन-प्याज हालेर ! हैन, कस्तो संस्कार दिएछन् यसलाई यसको बाबुआमाले !" छाेराे विवेकले आमाको रिसमा घिउ थप्याे ।
पतिले आफ्ना बाबुआमासम्मलाई गाली गर्न थालेपछि भने, सासू र पतिको टाेकसाे चुपचाप सुनिरहेकी कमलाकाे धैर्यकाे बाँध टुट्छ । पतिलाई हेर्दै उनी भन्छिन् "भाे, कम्तीमा तपाईंले त चाेखाे, बिटुलाे र संस्कारकाे कुरा नगरेकै बेस श्रीमान्ज्यू ! ससुराबाकाे तेह्रदिनको क्रियाकर्म सकिएकाे पर्सीपल्टै सासुआमाले मासु पकाएर दिँदा चुपचाप खाएकाे बिर्सिनुभयाे ? माछामासु नै खाईसकेपछि के चाेखाे के बिटुलाे !"
(उमामहेश्वर मार्ग, काठमाडौं - ७, कुमारीगाल)
दाेभान त्रैमासिकमा प्रेषित
Comments
Post a Comment