लघुकथा: पाँचहजार
✍️ मुरारीराज मिश्र,
"झण्डै मारेको बजियाले" बृद्ध दीनानाथ काम्दै गरेका हातले बाटोभरी छरपस्ट सामान टिप्दै भुत्भुताए ।
केही समय अघिदेखि उनी त्याे बाटोकाे छेउमा प्लास्टिक ओच्छाएर जडिबुटीहरु बेच्दै आएका थिए । आज एउटा केटाेले चलाएको माेटरसाइकल उनको सामान माथिबाट कुद्दा याे घटना भएको थियोे ।
बाटो पारीपट्टी रहेका ट्राफिक हवलदारले याे सबै घटना प्रत्यक्ष देखेका थिए । केही साेचेर उनले तत्कालै सञ्चारसेटमा खबर गरे । पाँच मिनेटभित्रै सेटबाट उनलाई सूचना आयाे । उनी माेटरसाइकल लिएर, केटाे गएको बाटो तर्फ घुईँकिए ।
तीनचार स्टप परकाे चेकपोस्टमा केटाेकाे माेटरसाइकल ट्राफिक प्रहरीले समातेका रहेछन् । हवलदारले त्यहाँ पुगेर प्रहरीसँग केही खासखुस गरे अनि केटाेलाई लिएर छेउतिर लागे ।
उनले केटालाई भने "हेर बाबु, बुढा पनि घाइते छन् र उनकाे सामान पनि सबै नाेक्सान भएको छ । गल्ती गरिहाल्याै, सजायँ त भाेग्नैपर्छ अब । लाइसेन्स त छ नि !"
"छ सर" केटाेले खल्तीबाट लाइसेन्स झिक्दै भन्याे ।
हवलदारले फेरि अत्याउँदै भने "लाइसेन्स भएपनि यस्ताे घटनामा, सवारी र तिमीलाई प्रहरी चाैकि लगेर थुनामा राख्नुपर्छ । बरु खुरुक्क दशहजार देऊ, म बुढालाई फकाएर कुरा मिलाउँला !"
अन्ततः पाँचहजारमा सहमति भयाे । केटाेलाई छाेडियाे ।
केही समयपछि बृद्ध दिनानाथ आँखाभरी आँसु पारेर हात जाेड्दै हवलदारसंग भन्दै थिए "यत्रो रकम ! याे त मेेराे महिनाभरीकाे कमाई भन्दा पनि धेरै हाे बाबु... ।"
"भाे, अब धेरै कुरा नगर्नुस् बा । खुरुक्क राख्नुस्, काम लाग्छ ।" बृद्धकाे खल्तीमा जबर्जस्ती पाँचहजार घुसारिदिँदै हवलदारले भने ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment