लघुकथा: किशोरी मातेपछि...
✍️ मुरारीराज मिश्र,
"रक्सी लागेर निकै मातिसकेकी छ, आज त जसरी पनि त्यसलाई काेठामा लैजानुपर्छ बुझिस् !"
रेष्टुरेन्टमा छिर्दै गर्दा, दुईजना केटाका बिचमा भएको यी संवाद रमेशले सुन्याे ।
श्रीमती माइत गएकोले रातिको खाना पकाउन अल्छी लागेर उ अफिसबाट फर्कंदै गर्दा खाना लिन रेष्टुरेन्ट छिरेकाे थियोे । याे संवादले रमेशलाई चनाखो बनायो ।
उसले यताउता हेर्याे । अलिक पर एउटा टेबुलमा, अर्धनग्न पहिरनकी मदिराले अर्धचेत एक किशोरी देखिइन् । अघिका संवादवाला दुई केटा पनि त्यहीँ पुगिसकेका थिए ।
झट्ट हेर्दा किशोरी परिचित अनुहारकी झैं लाग्यो रमेशलाई ! उसले अलि नजिकै गएर हेर्यो, किशोरी त उसकी श्रीमती रमाकी साथीकी छाेरी नै पाे रहिछन् ।
उसकाे मनमा विभिन्न साेचहरु पलाए । एकछिन साेचेर उसले रमालाई फाेन गर्यो । केही कुराकानी भए । `.... ए, उसाेभए आज राति आउन्नाै त तिमी ? ल ठीकै छ ।´ उसले फाेन काट्दै भन्याे ।
श्रीमतीसंगकाे फाेनवार्ता पछि, उ किशोरी रहेको टेबुलमा पुग्याे । "हैन, के चाला हाे याे तिम्रो नानी !" उसले किशोरीलाई हकार्दै हात समातेेर उठायाे । केटाहरु अक्क न बक्क परेर हेर्दै थिए, उसले किशोरीलाई बाहिर ल्याएर आफ्नो गाडीमा राख्याे । गाडीको ढाेका थुनेर, नजिकैको ओैषधी पसलबाट केही किन्याे अनि गाडी चलाउँदै घरतर्फ घुँईकियाे ।
रमेश घर पुग्दा अँध्यारो भईसकेकाे थियोे । छिमेकीले देख्लान् कि भनेर उसले वरपर हेर्यो । अनि किशोरीलाई जुरुक्क उचालेर फटाफट भित्र छिर्याे ।
किशोरीलाई बैठकको साेफामा सुतायाे । उसकाे पहिरन निहार्याे । मनमा अनेक कुराहरु खेलाउँदै भान्साबाट गिलासमा पानी ल्यायो । अघि ओैषधी पसलमा किनेको प्याकेट खाेलेर त्यसमा मिलायाे र किशोरीलाई जवर्जस्ती खुवायाे ।
यत्तिकैका ढाेकाकाे घण्टी बज्यो । ढाेका खाेल्दा श्रीमतीकी साथी र उनका श्रीमान् देखापरे । श्रीमतीकी साथी हतारिदै छाेरीकाे नजिक पुगिन् । छाेरीलाई सरसर्ती निहारिन् ।
"धन्न भिनाजुले समयमै रमालाई खबर गर्नु भएछ, नत्र आज जेपनि हुनसक्थ्याे !" गिलास नजिकै रहेकाे "इनाे" काे खाेलिएकाे प्याकेट हेर्दै उनले रमेशसंग भनिन् ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)
Comments
Post a Comment