लघुकथा: परम्परा
✍️ मुरारीराज मिश्र,
"हैन, रमेशले छाेरीकाे विहेमा हल्दी, मेहन्दी र संगीत कार्यक्रम राखेको छैन कि क्या हाे ! बाेलाएन नि त ?" घरमा आईपुगेकाे निम्ता कार्ड हेर्दै छिमेकी किशोरले आफ्नी श्रीमतीलाई साेध्याे ।
"टीकाटालाेकाे कार्यक्रम गरिहाले । विहेको मुख्य काम भनेकाे कन्यादान हाे, त्यसमा बाेलाएकै छ त ! अनि, किन चाहियाे तपाईंलाई नानाथरी कार्यक्रम ?" श्रीमतीले जवाफ फर्काईन् ।
"सबैले गर्न थालेका छन् त अहिले ! त्यत्राे सम्पत्ति भएको मान्छेले, एउटीमात्र छाेरीकाे विहेमा पनि कञ्जुस्याईं नगरेको भए हुन्थ्यो भनेर नि !"
"हाम्रो चलन पाे गर्ने त ! आयातित र देखासिखी काम गरेर परम्परा किन बिगार्ने बेकारमा ? नचाहिंदो आडम्बर नदेखाएर रमेश बाबुले उदाहरणीय काम गर्नुभयो ।"
"के काे उदाहरणीय काम ! लाेभीले धन बचाएकाे भनन् !"
"तपाईं पनि एकदुई छाक बढी खाने लाेभमा परम्परा बिगार्नेहरुकै लाइनमा जाँदै हुनुहुन्छ श्रीमानज्यू ! आखिर, जतिसुकै मीठो र महँगो खाना खुवाएपनि खानेले जस दिदैनन्, एउटा न एउटा खाेट देखाइहाल्छन् क्यारे !"
"हेर्नुस्, एउटा पुस्ताले गरेकाे पाखण्ड पछिल्लो पुस्ताका लागि परम्परा बन्दै जान्छ, त्यसैले यस्ता कुरामा म चाँही रमेश बाबुको पक्षमा ।" उनले श्रीमानलाई हेर्दै थपिन् ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं ७)
सारथि बाल पत्रिकामा प्रकाशित २०८१-०२-०१ गते ।
Comments
Post a Comment