लघुकथा: पुरानो कमिज
✍️ मुरारीराज मिश्र,
“याे कमिज दुई ठाउँमा उध्रिएछ, सुचिकारकाे पसलमा गएर टालटुल पारेर आँउछु है !” पतिले कमिज देखाउँदै श्रीमतीसँग भन्यो ।
“पुरानाे कुरालाई पनि कति माया गरिरहेकाे हाे ! पटकपटक उध्रिएर दुख मात्रै दिइरहेकाे छ यसले, खुरुक्क फालेर नयाँ लिनु नि !” पत्नीको जवाफ आयो ।
“मन परेको कमिज हाे, सिलाएर काम चलिरहेकै छ बेकारमा किन खर्च थप्नु र ?” पतिले थप्याे ।
“सुचिकारले पनि सित्तैमा टालिदिने हैन हाेला ! डेढ दुईसय लिईहाल्छ । त्यतिले आजकल नयाँ कमिज आउँछ । पुराना र खर्च बढाउने कुरा त त्याग्नुपर्छ, माया लाग्छ भनेर दुख दिने कुरा संधैभरी साथमा राख्ने हाेइन क्या ।” पत्नीले फतफताउँदै भनिन् ।
“म पनि त बुढाे भएँ, अनेक थरी राेगकाे ओैषधीमा दिनहुँ थुप्राे रकम खर्च हुन्छ, मेरा कारण परिवारमा सबैलाई दुख भइरहेको छ । उसाे भए म पनि त्यागिनु पर्यो हैन त !” पतिले प्रतिप्रश्न गर्यो ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
विमलजीलाई पठाएको
Comments
Post a Comment