पाताल देशबाट फर्केपछिकाे अयाेध्या यात्रा

 यात्रा संस्मरण:

                          ✍️ मुरारीराज मिश्र, 

हामी तीर्थयात्रामा जान लागेको भन्ने कुरा थाहा पाएका साथीहरू “म्लेक्षकाे पाताल देशबाट फर्किन नपाउँदै धार्मिक यात्रामा जाने भइछस् त !” भनेर  जिस्क्याउँदै थिए । 

हुन त, हाम्रो तीर्थयात्राकाे कार्यक्रम पूर्वनिर्धारित नै हाे तर हामी अमेरिकाकाे भ्रमणबाट फर्कनासाथ हुन लागेकोले त्यस्तै देखिएको थियोे । 

यात्राले साेच्दै नसाेचेकाे अनाैठाे उर्जा दिन्छ । अझ धार्मिक यात्राले त आध्यात्मिक तथा मानसिक शान्ति समेत दिने भएकोले समय र शरीरले साथ दिएसम्म यस्तो यात्रामा निस्कनु पर्छ भन्ने मेराे धारणा छ । त्यसमाथि, आफन्तजनहरू समेत साथमा हुने हाे भने त  यात्रामा पाइने थप आनन्दकाे बर्णन गरेरै सकिन्न ।

दसैं तिहार छाेराछाेरीसंग मनाएर नेपाल फर्किएकाे दुई सातापछि नै हामी १३ दिने धार्मिक यात्राको लागि २०८१ साल मङ्सिर १० गते साेमबार बिहान ५ बजे घरबाट निस्कियाैं । हाम्रो गन्तव्यकाे लक्ष्य छिमेकी राष्ट्र भारतको अयाेध्या, गाेकुल, मथुरा, वृन्दावन र नैमिषारण्यसम्म थियोे ।

हामी निस्केको केही मिनेटमै ललितपुरबाट ११ जना तीर्थयात्रीहरु चढेको बस लिएर हरिशरणम् तीर्थयात्रा प्रा.लि.का  व्यवस्थापक माेहनप्रसाद अधिकारीदाइ  कुमारीगाल आइपुग्नुभयाे । 

हामी तैयारी अवस्थामा थियौं । गाडी आउनासाथ ढिलो नगरी सबै सामानहरु बसमा राख्न थाल्यौं । यस कार्यमा भाइहरु चालक अरुण पाैडेल, बसका सहयोगी भीम थापा एवम् देवराज बुढाथोकीले हामीलाई सघाए । सामान बसभित्र राखेर हामी चढेको गाडी त्यहाँबाट गाैरीघाट, मित्रपार्क, गाैशाला हुँदै मैतीदेवीतर्फ हुँइकियाे । 

बिहानी समय भएकाले सडकमा सवारीसाधनकाे चहलपहल अत्यन्तै न्यून थियोे । मर्निङवाकमा हिंडेका मानिसहरु बाटोमा फाट्टफुट्ट देखिन्थे । माैसम भने निकै चिसिएकाे महसुस भयाे । चालक अरुणभाइले बजाएकाे सुमधुर भजन बसभित्र गुञ्जिरहेकाे थियोे । 

ढुंगेअड्डा पुगेर माेहनदाइले यातायात कार्यालयबाट सवारीकाे पटके अनुमति लिनुभयाे । यात्राको लागि चाहिने मिनरल वाटर बाेतल किनेर बसमा राखियाे । पानीको कुरा गर्दा, भारतमा प्रतिबाेतल पानीको २० रुपैयाँ भारु पर्ने र यहाँ एकमुष्ट किन्दा प्रति दर्जन १२५ नेपाली रुपैयाँमा पाइने भएकाले यतैबाट पानी लैजानु पानीको स्वाद र आर्थिक दृष्टिले पनि फाइदाजनक लाग्छ हामीलाई । 

सिम्लेमा पुगेर चियानास्ता तथा शाैचादिका लागि गाडी राेकियाे । चीयापान पछि त्यहाँबाट अघि बढेका हामी इच्छाकामना परिसरमा बिहानको खानाकाे लागि ओर्लियाैं । व्यवस्थापन टाेली खाना पकाउने तरखरमा लाग्यो । 

खानापछि पुनः यात्रा सुरु भयाे । यताको बाटोकाे अवस्था राम्रो थिएन । यत्रतत्र घुलाे र जाम छिचोल्दै अघि बढ्यौं । घाम चर्किएकोले गर्मीकाे महसुस भयाे । भाते निन्द्राले धेरैलाई गाँजेको देखिन्थ्यो । राजु बस्नेतजी र म आमनेसामने सिटमा थियौं । उहाँ पत्रकार हुनुहुँदाे रहेछ । हामी भने समसामयिक बिषयमा गफिन थाल्यौं । 

बाटोमा शाैचालयकाे समुचित ब्यवस्था कतै नभएकाले शाैच लाग्दा झाडी वा कुनाकाप्चामा जानुकाे विकल्प थिएन । देश संघियताका गएको र ३ तहकाे सरकार माैजूद रहेको अवस्थामा आफ्नो क्षेत्रमा आउनु यात्रुकाे सुविधाको लागि कम्तीमा पनि ठाउँ ठाउँमा व्यवस्थित शाैचालय र पिउने पानीको व्यवस्था त स्थानीय निकायले गर्न सक्नुपर्ने हाे ! तर, आफ्नै सुविधाकाे लागि मरिहत्ते गर्ने जनप्रतिनिधिकाे दिमागमा यस्तो कुरा के आउँथ्यो र ! भर्खरै गरिएको विदेश यात्रामा, प्रत्येक एकघण्टाकाे सडक दुरिमा देखिएका सुविधा सम्पन्न रेष्टरुमकाे दृश्य झलझली आँखामा आए । मन अमिलो भयाे । 

अन्ततः बाटोकाे विविध हण्डर खप्दै रात्री बसाइकाे लागि, गाडीले बेलहिया, भैरहवाकाे लुम्बिनी हाेटेलमा पुर्‍यायो । आआफ्ना कुम्लो कुटुराे बाेकेर हामी हाेटेलभित्र छिर्‍याैं ।

भाेलिपल्ट सुनाैली नाका हुँदै अयाेध्यातर्फ जाने कार्यक्रम थियाे । सिमा चेकपोस्टमा पुगेर बसबाट ओर्लेर लाइन लाग्यौं । भारतीय प्रहरीले नागरिकता चेक गर्न थाले । नागरिकता र बसकाे चेकजाँच पछि बिहान ६:३० मा हाम्रो गाडी भारत प्रवेश गर्‍यो ।

यताकाे बाताबरण धुम्मिएकाेले चिसो थियोे । तुवाँलोका कारण सूर्यले धर्तीकाे स्पर्श गर्न सकेका थिएनन् । बाटो भने सामान्यतया राम्रो थियोे, तर शाैचादिका लागि झाडी र कुनाकाप्चा छिर्नुकाे विकल्प भने यहाँ पनि भेटिएन ! बिचमा चियापान र शाैचादिका लागि राेकिनु बाहेक हामी बढ्दै गयाैं । 

अपरान्ह ११:३० मा गाडीले अयाेध्याकाे हाेटेल पुर्‍यायाे । काेठामा सामान राखेर हामी लगत्तै सरयू नदीमा स्नानकाे लागि जान तैयार भयाैं । हाम्रो गाडी सरयू नदीसम्म लैजान नपाइने भएकोले ३ वटा मयूरी (टेम्पो) रिजर्भ गरेर सरयूमा पुग्यौं । 

नदी आसपास निकै भीडभाड थियोे । जबर्जस्ती हातमा जाै, तिल, कुश थमाएर गाैदान गराउने पण्डितहरू छ्यापछ्याप्ती भेटिन्थे । निश्चित रकम तिरेर नाैका विहारकाे पनि व्यवस्था देखिन्थ्यो यहाँ ।


मथुरा नगरकाे विकासमा विशेष योगदान भएको  सरयू नदी हिमालयबाट उत्पत्ति भएर उत्तर प्रदेश र उत्तराखण्ड राज्य भएर बग्छ । यो नदीलाई श्रापीत नदी मानिन्छ । त्यसैले यहाँ स्नान गर्दा मानिसको पाप मेटिने तर संचित पुण्य भने मिल्दैन भन्ने मान्यता रहेछ ।

पौराणिक कथा अनुसार, भगवान श्रीरामले सरयू नदीमा जलसमाधी लिएर जीवनको अन्त्य गरेका कारण निकै क्राेधित भएका भगवान भोलेनाथले सरयुलाई "यस नदीकाे पानी मन्दिरमा चढाउन र अन्य पूजामा पनि प्रयोग हुनेछैैन" भन्ने श्राप दिएछन् ।

यसपछि माता सरयूले भगवान भोलेनाथको पाउ परेर भनिछन्, “प्रभु, यसमा मेरो के दोष ? यो त पूर्वनिर्धारित विधिको विधान थियो । ईश्वरकाे इच्छा अगाडि म के नै गर्न सक्थें र ?"

माता सरयूको अनुरोधपछि भगवान भोलेनाथले  भन्नुभएछ "मैले दिइसकेको श्राप फिर्ता लिन मिल्दैन तर याे नदीमा नुहाउँदा तीर्थालुहरूकाे सम्पूर्ण पापहरू नाश हुनेछन् । यहाँ स्नान नगरीकन गरेको अयाेध्या भ्रमणको फल प्राप्त हुनेछैन ।" त्यस यता सरयू नदीको पानी पूजापाठ लगायतका धार्मिक कार्यमा प्रयाेग गर्ने प्रचलन बन्द भएको मान्यता रहेछ ।

स्नानदान गरेर आउँदा, खाना तैयार थियोे । खाना खाएर केहीबेर आराम पश्चात् ३ बजे पहिलेकै टेम्पोमा राम मन्दिरतर्फ प्रस्थान गरियो ।

गाइडले सर्वप्रथम राममन्दिरकाे निर्माण सामाग्री तैयारी स्थल पुर्‍याए जहाँ राजस्थानी मार्वलका खम्बा, प्लेट आदि मन्दिर निर्माण सामान तयार हुँदै थियोे । त्यसपछि रामकाे पुरानाे दरबार र सीताको भान्सा घरकाे अवलोकन गरि राम मन्दिर तर्फ लाग्यौं । 

यहाँ अवलोकनकाे क्रममा श्रीरामकाे मूर्ति बनाउन भनेर नेपालबाट ल्याइएको विशाल शिलाकाे बारेमा जान्न मन लाग्यो । मैले गाइडसंग जिज्ञासा राखें । गाइडले `नेपालबाट ल्याइएको शिला शालिग्राम हाे, यसलाई फाेड्न मिल्दैन भन्ने विभिन्न पीठाधिशहरूकाे राय आएकोले´ त्यसलाई नचलाइएकाे बताए । उनले अब त्याे पत्थरलाई मन्दिर परिसरकाे उपयुक्त स्थानमा सबैले देख्नेगरी स्थापित गर्ने कुरा आफूले सुनेको समेत जानकारी दिए ।

बाटोमा निकै भिडभाड थियोे । पाइला पाइलामा सुरक्षाकर्मी तैनाथ थिए । हुन त, कतैबाट सुरक्षा खतरा महसूस भएरै यति विधि सुरक्षाकर्मी राख्नुपरेको हाेला ! तैपनि मन्दिर परिसरमा बन्दुक बाेकेका वर्दिधारी सुरक्षाकर्मी राखेको दृश्य चाहिँ पटक्कै नसुहाउने ! सबैकाे रक्षा गर्ने भगवान्‌ले आफ्नै सुरक्षा गर्न नसकेको भन्ने नराम्रो सन्देश जनमानसमा पर्ला कि भने जस्तो लाग्ने क्या !

यता हाम्रै पशुपतिनाथकाे मन्दिरभित्र पनि यति लामाे `सेल्फ लाेडिङ राइफल (एसएलआर) बाेकेका प्रहरीहरु यत्रतत्र देखिन्छन् । सुरक्षा सतर्कता आवश्यक छ तर वर्दि र हतियार नदेखाएरै उचित सुरक्षा गर्न नसकिने र देखाउँदैमा पूर्ण सुरक्षा हुने हाे र ? प्रविधिको प्रयाेगबाट पनि त सुरक्षा हुन सक्ला नि ! भन्ने कुरा पनि मनमा आए ।

जसाेतसाे कडा सुरक्षा र जाँच पार गर्दै आफूसँग भएका माेवाइल, घडी, ब्याग आदि लकरमा राख्ने काम भयाे । जुत्ता राख्ने लकर बेग्लै थियोे । लकर सेवा भने निशुल्क रहेछ । त्यहाँबाट पुुन: शरीर चेकजाँच, स्क्यान हुँदै मन्दिर तर्फ लाग्यौं । पुरुष र महिलाको लागि बेग्लाबेग्लै लाइन थियोे । भीडभाड भएपनि लाइन निकै व्यवस्थित देखिन्थ्यो । लामो लाइन पार गरि एकदमै विशाल परिसरमा अवस्थित नवनिर्मित भव्य मन्दिरमा श्रीराम भगवान्‌काे दर्शन पाइयाे । जीवन धन्य भएको महसुुस भयाे । मनमनै रामकाे श्लोक स्मरण गरें ।

“राम रामेति रामेति रमे रामे मनोरमे ।

सह्स्रनाम तत्तुल्यं राम नाम वरानने ।।”

राम, रामचन्द्र, रघुनाथ, जानकीवल्लभ, राजीवलोचन, रामभद्र आदि नामले समेत चिनिने भगवान् श्रीराम, त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याको जेष्ठ पुत्रका रुपमा जन्मेका थिए । उनलाई भगवान् श्रीबिष्णुका साताैं अवतारकाे रूपमा लिइन्छ । रामको विवाह नेपाली चेली सीता माता (जसलाई लक्ष्मीको अवतार मानिन्छ) संग भएकाे थियो ।

पिताकाे आज्ञापालन गर्दै राजकीय सुखभाेग छाेडेर सीता र भाइ लक्ष्मण सहित १४ बर्ष वनवास गएका श्रीरामले, मनुष्य अवतारमा रावण लगायतका कैयन राक्षसकाे नास गरि पृथ्वीकाे भार हरेका थिए । रामकाे जीवन कथासँग हिन्दू धर्मका कैयन चाडपर्वहरु जाेडिएका छन् । नेपाल र भारतका हिन्दू धर्मावलम्बीले श्रीरामलाई आदर्श र मर्यादापुरुषकाे रुपमा पूज्दै आएका छन् । रामकाे जन्म, पराक्रम र जीवनकथा रामायण नामक धर्म ग्रन्थमा उल्लेख छ ।

आदौ रामतपोवनादि गमनं हत्वा मृगं कांचनम्। 

वैदेही हरणं जटायु मरणं सुग्रीवसम्भाषणम्॥

बालीनिर्दलनं समुद्रतरणं लंकापुरीदाहनम्।

पश्चाद्रावण कुम्भकर्णहननं एतद्घि रामायणम्॥ 

मन्दिरको निर्माणकार्य रातिको समयमा पनि चालू थियोे । सम्पूर्ण निर्माण पूरा हुन अझै करिव ६-७ बर्ष लाग्ने निर्माणकार्यमा सम्वद्ध एक ब्यक्तिबाट जानकारी पाइयाे । मन्दिर वरिपरिको क्षेत्र भिखारी मुक्त थियोे भने दान भेटी चढाउन पनि कतै कुनै करकाप भएन । 

राम मन्दिरको दर्शनपछि बाहिर आएर पसलमा चियापान गरि टेम्पो चढेर राति ७:३० बजे हाेटेल पुग्याैं । भाेलिबाट वृन्दावनकाे यात्रा थाल्नुपर्ने भएकोले बिहान चाँडै नै तैयार हुनुपर्ने थियोे । त्यसैले खानपिन सकेर ओछ्यानमा ढल्कियाैं । हामी बसेकाे हाेटेल अगाडिको घरमा विवाहको कार्यक्रम रहेछ । पट्का पड्काएकाे, बाजा र नाचगानको आवाजले निन्द्रा डिस्टर्ब भयाे । जे सुकै हाेस् भनेर सुतियाे । थकाइले हाेला, कुन बेला आँखा लागेछ पत्तै भएन ! 





Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …