शब्दसुमन

मुरारीराज मिश्रले आमा बाबाको स्मृतिमा लेख्नुभएको भक्तिरचना संग्रह हो ‘शब्दसुमन’ । मिश्रले संस्कृतमा भएका श्लोकहरूलाई सरल नेपाली भाषामा भावानुवाद गरी सनातनी भक्तहरूलाई सजिलो बनाइदिनुभएको छ ।

कति गर्छौं तेरो मेरो ? छैन केही स्थायी
नाङ्गै आयौँ, जानुपर्छ , खाली हातै भाइ ।।
दुःख गरी कमाएको, धन सम्पत्ति मान ।
मर्ने बेला पाइँदैन आफ्नो साथमा लान ।।
साँच्छौ किन यस्तो धन, आफू खाइ नखाई ?
नाङ्गै आयौँ, जानुपर्छ, खाली हातै भाइ ।। 

                    (कति गर्छौ तेरो मेरो, पृ.१३)

”हरेक बिहान आमाले पाठ गर्नुभएको भागवत कुञ्ज, कोमलगीता, रामायण आदि पुस्तकहरूका श्लोकहरू बाल्यकालदेखि नै सुन्दै हुर्केकाले, अर्थ नबुझे पनि केही श्लोकहरू मुखाग्रै भएका थिए ।”, कवि मिश्र आफ्नो कुरामा लेख्नुहुन्छ, ”थोरै बुझ्ने भएपछि बिस्तारै त्यस्ता धार्मिक भजन र पुस्तकप्रति रुचि बढ्दै गयो । अहिलेको जस्तो मनोरञ्जनका अन्य साधनहरू नभएको त्यसताका, रेडियो नेपालको धार्मिक कार्यक्रममा दिनहुँ बिहान बज्ने भजनहरु हामी प्रायः सुन्ने गर्थ्यौँ । घर नजिकैको पशुपतिनाथ र वासुकिनाथ मन्दिरभित्र हुने बिहानी भजन तथा सन्ध्या आरतीमा पनि नियमितरूपमा सहभागिता जनाइन्थ्यो । त्यसैको प्रभावले होला भजन लेख्ने चाहाना, थाहै नपाइ कुनबेला उत्पन्न भएर मनको भित्री कुनामा लुकेर बसिसकेको रहेछ । मनभित्रको सुषुप्त चाहानाले बेलाबेलामा घचघच्याउँदै रह्यो । रहरै रहरमा जानीनजानी केही रचना कोर्न थालियो । वर्षौँ पहिलेको त्यही रहरले बल्ल आएर मुर्तरूप लिएको छ जसको परिणाम यो पुस्तक हो ।”

त्यस्तैगरी, पुस्तकमा सानुराजा श्रेष्ठ अन्जान लेख्नुहुन्छ, ”मानिस किन जन्मिन्छ ? मानिस केलाई जन्मिन्छ ? यसको तत्त्वज्ञानविना यस धराबाट जीवन अवसान हुने मानिसहरू दैनिक लाखौँ करोडौँ छन् । अतः आफ्नो जीवनको ध्येयलाई बुझेर मानवोचित व्यवहार गर्दै परोपकारमा लागेर मोक्ष पाउनु नै मानिसको धर्म हो । कसैको अहित नचाहने, सकारात्मक सोचका धनी उनले रचेका सुकोमल भावका भक्ति रचनाका एक खण्ड र श्रद्धाले भावानुवाद गरी दुई खण्डमा प्रकाशन गर्न लाग्नुभएको ‘शब्दसुमन’ कृतिलाई र रचनाकार मित्र मुरारीराज मिश्रलाई अशेष शुभकामना अर्पण गर्दछु । ”

पुस्तकलाई भुँडीपुराणले प्रकाशन गरेको छ । पहिलो खण्डमा ४८ ओटा भजन र दोस्रो खण्डमा १६ ओटा भावानुवाद श्लोक रहेको पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।

~~~~~~~~~~~~~~~~~~~~~~~~~~

https://www.facebook.com/share/p/1GiefyXiyy/


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …