Skip to main content

वृन्दावन यात्रा

               ✍️ मुरारीराज मिश्र

धार्मिक यात्रा भनेपछि मेरो मन फुरुङ्ग हुन्छ । एक त धर्म कमाइने, अर्को नयाँ नयाँ ठाउँ पनि देखिने । उसैमाथि चौरासी कोस परिक्रमा गरेपछि मृत्युपश्चात् चौरासी लाख योनिबाट मुक्ति पाइने, जन्ममृत्युको चक्करमा पर्नु नपर्ने वृन्दावनको महिमा सुन्दै आएकाले पनि मभित्र यस स्थानप्रतिको आकर्षण बढेको थियो ।

अयोध्या, वृन्दावन, नैमिषारण्य र देवघाटको १३ दिने यात्राका लागि काठमाडौंबाट हिँड्यो ४ जना व्यवस्थापन समूहसहितको ३० सदस्यीय तीर्थयात्रा टोली । बुटवल र अयोध्यामा एक–एक रात बिताएर भ्रमणको तेस्रो दिनमा साँझ ५ बजेतिर छिमेकी राष्ट्र भारतको मथुरा–वृन्दावनस्थित गोकुलको एक होटेलमा उत्रिएपछि वृन्दावन पुग्ने इच्छाले मूर्तरूप लियो ।

विविध कारणले तीर्थयात्रीको संख्या २४ बाट १४ मा झरेपछि हाम्रो यात्रा रोकिने भय थियो, गत वर्षझैं । तर यात्रा व्यवस्थापक मोहनप्रसाद अधिकारी दाइले “१२ जनाको अर्को समूह पनि मेरो सम्पर्कमा छ, मिलेर जाऊँ न त !” भन्नु भएपछि हामी ढुक्क भएर यात्राको तैयारीमा लागेका थियौं ।

भोलिपल्टबाट वृन्दावनको चौरासी कोस परिक्रमा शुरु गर्नु थियो । त्यसका लागि सर्वप्रथम यमुना नदीमा पुगेर “भ्रमण निर्विघ्नतापूर्वक सम्पन्न होस्” भन्ने हेतुले संकल्प गर्ने प्रचलन रहेछ । बिहानै यमुनामा पुगेर स्नान, संकल्प र पूजा गर्यौं ।

स्नान र संकल्पपछि हामी कुञ्जगली र नन्दबाबाको मन्दिर गयौं । बालगोपाल मन्दिरमा दर्शन, भोगका लागि दान र झूला झुलायौं । बालगोपाल मन्दिरमा देवताको मूर्तिलाई पर्दाले छोपेर रकम तोकेरै दानका लागि कर गर्ने, रकम नदिएसम्म पर्दा खोलेर दर्शन नगराउने र झूला झुलाउन नदिने अचम्मको प्रवृत्ति देखेर परिक्रमाको शुरुवातमै हामीलाई नमज्जा लाग्यो । त्यहाँबाट हामीले दाउको मन्दिर दर्शन गर्यौं र होटेल फर्केर खाना खायौं ।

हामीलाई चौरासी परिक्रमा गराउने जिम्मेवारी वृन्दावन निवासी युवा सोनु पण्डालाई दिइएको थियो । अपरान्हतिर उनीसँगै टेम्पो चढेर द्वारकाधीश मन्दिर गयौं । त्यहाँबाट कृष्ण जन्मस्थल गएर कारागार लगायतका स्थानको अवलोकन गर्यौं । त्यहाँको प्रसाद खिचडी, खीर र रोटी खायौं । यो मन्दिरमा सुरक्षा व्यवस्था निकै कडा थियो भने चेकिङ्मा बसेका सुरक्षाकर्मीको व्यवहार निकै क्षुद्र लाग्यो । हामीले त्यसै दिन ध्रुववन, मधुवन, तालवन, कुमुदवन, गंगासागर लगायत तीर्थस्थलको दर्शन गर्यौं ।

पाँचौ दिन गोवर्द्धन पर्वतको निकै लामो पैदल परिक्रमा गर्नु पर्ने थियो । बिहान ७ बजे चिया र चनाको नास्ता गरी सामानसहित होटेलबाट निस्केर चन्द्र सरोवर पुग्यौं । त्यहाँबाट बास बस्ने स्थान समर्पण धर्मशालामा पुगेर सामान राख्ने काम भयो ।

बिहानको खानापछि बसले हामीलाई गोवर्द्धन पर्वतको परिक्रमा मार्ग नजिकैको बसपार्कमा पुर्यायो । बसबाट ओर्लेर सोनुभाइ अघि लागे, हामी नाङ्गै खुट्टा उनको पछिपछि लाग्यौं । बाटोमा पर्ने दानघाटी मन्दिरको दर्शन गरेर हामी अघि बढ्दै गयौं । बाटोमा पर्ने स्थान, सरोवर र मन्दिरको बारेमा सोनुले जानकारी दिंदै गए । करीब २१ किलोमिटर दूरीको गोवर्द्धन पर्वतको परिक्रमा र वरिपरिका पुंछरीका लौठा, मुखारविन्द मन्दिर, लुकलुक दाउजी लगायतका विभिन्न मन्दिरको दर्शन गर्न हामीलाई करीब ६ घण्टा लाग्यो । परिक्रमाकै क्रममा गोवर्द्धनमा मात्रै पाइने आलुको जेरीको समेत स्वाद लिइयो ।

श्रीकृष्णले लीला गर्नुभएको गोवर्द्धन पर्वतलाई गिरिराज, गिरिराजधरा, श्रीगिरि, श्रीनिवास, श्रीशैल, गोवर्धनाचल पर्वत आदि नामले पनि चिनिन्छ । पौराणिक हिन्दु धर्मशास्त्रहरूले यसलाई एक महत्त्वपूर्ण, प्राचीन र पवित्र धार्मिक स्थलको रूपमा उल्लेख गरेका छन् ।

मथुरा जिल्लाको वृन्दावनमा अवस्थित गोवर्द्धन पर्वतको बारेमा एउटा किम्वदन्ती यस्तो रहेछ – यस पर्वतको सौन्दर्यबाट धेरै प्रभावित भएका पुलस्त्य ऋषि, यसलाई द्रोणाचल पर्वतबाट उठाएर आफूसँगै लैजान चाहन्थे । तब गोवर्द्धनले भने, “यदि मलाई साथमा लैजान चाहनुहुन्छ भने ठीकै छ तर याद राख्नुस्, तपाईँले मलाई पहिलो पटक राखेको ठाउँमा नै म स्थापित हुनेछु ।” ऋषिले पर्वत लिएर गए । बाटोमा जब उनको ध्यानको समय भयो, ऋषिले पर्वतलाई राखे । भुइँमा राखेपछि गोवर्द्धन त्यही ठाउँमा स्थापित भयो । त्यसपछि ऋषिले यसलाई उठाउन सकेनन् । यसबाट क्रोधित भएर उनले पर्वतलाई दिनदिनै संकुचित हुने श्राप दिए । त्यसयता यो पर्वत दिनप्रतिदिन मुठीभर सानो हुँदै गइरहेको छ ।

परिक्रमाको क्रममा साँझ परे तापनि केही मुख्य ठाउँको दर्शन अझै बाँकी नै रहेको र भोलिपल्ट अर्को ठाउँमा जानुपर्ने भएकाले बाँकी दर्शन त्यसै दिन गरिसक्नुपर्ने बाध्यता थियो । त्यसैले बाँकी ठाउँमा टेम्पो चढेर जाने सल्लाह भयो । मोलतोल गरेर टेम्पो चढ्यौं । त्यसपछि राधाकुण्ड, श्याम कुण्ड, कुसुम सरोवर, चक्रेश्वर महादेव र मानसी गंगाको दर्शन भयो । उत्तर प्रदेश र राजस्थान राज्यमा आधा आधा भाग पर्ने गोवर्द्धन परिक्रमा मार्गमा पर्ने यी सबै स्थान घुमेर धर्मशाला पुग्दा रातको ८ बजेको थियो । धर्मशाला भए पनि यहाँको बसाइ होटेलको भन्दा कम सुविधाजनक थिएन ।

दिनभरको परिक्रमाको थकाइको कारण शरीरले उठ्न गाह्रो मान्दामान्दै पनि भोलिपल्ट बिहान पाँच बजे निस्कनु पर्ने मोहनदाइको सूचना अनुसार बिहान ३:३० बजे उठियो । नित्यकर्म सकी सामान बोकेर तल ओर्लियौं । चियानास्ता बद्रीनाथ मन्दिरमा पुगेर गर्ने सल्लाह थियो । डेढघण्टा जतिमा बद्रीनाथ मन्दिर पुगियो । तप्त कुण्ड र आदि बद्रीनाथको दर्शन सकेर ओर्लंदा चिया र चना तैयार थियो । नास्तापछि आधाघण्टाको दूरीमा रहेको निलकण्ठ महादेव, गंगोत्री र यमुनोत्रीको दर्शन गर्यौं । हामी त्यहाँबाट केदारनाथतर्फ लाग्यौं । फेदीमा पुगेपछि मोहनदाइले “खाना पाक्दै गर्छ, माथि गएर केदारनाथको दर्शन गरेर आउनुस्” भन्नुभयो । करीब ४०० सिंढी चढेर केदारनाथ बाबाको दर्शन गरियो ।

गोकुल, वृन्दावनमा रहेका धामहरू बद्रीनाथ, केदारनाथ, गंगोत्री, यमुनोत्री, मानसरोवर, गंगासागर, रामेश्वर लगायतका तीर्थहरूका बारेमा यस्तो धार्मिक मान्यता रहेछ – “श्रीकृष्णका आमाबुबाले तीर्थयात्रामा जाने इच्छा गर्दा, उहाँहरूको वृद्ध शारीरिक अवस्थालाई दृष्टिगत गरी कृष्णले सबै तीर्थहरूलाई वृन्दावनमा बोलाएर यतै स्थापित गरी आमाबुबाको इच्छा पूरा गरिदिनुभएकाले यहाँ रहेका ती स्थानहरूमा दर्शन गर्दा तत् तत् स्थानमा पुगेको फल मिल्छ ।”

केदारनाथको दर्शन गरी तल आएर खाना खायौं । त्यसपछि चरण पहाडी, कृष्ण फिसलनी शीला (चिप्लेटी), भोजन थाली, काम वन, कामेश्वर महादेव, विमल कुण्ड, रामेश्वर, देहकुण्ड, उँचा गाउँ, तुलादान स्थल र देह कुण्डको दर्शन गरी बास बस्न राधा मन्दिर नजिकै रहेको एक आश्रममा पुग्यौं । यहाँ हामीले २ दिन बस्नु थियो ।

सातौं दिन बिहान उठेर चियानास्तापछि ७ बजे राधारानी मन्दिरका लागि निस्कियौं । मन्दिर परिसरमा एकदमै अव्यवस्थित थियो । लाइनको व्यवस्था थिएन । ८ बजे बाहिरी ढोका खुल्नासाथ तँछाडमछाड गर्दै हजारौंको हुल भित्र छिर्यो । यहाँ हिँड्नै परेन, भीडले लतारेरै भित्र पुर्याउने रहेछ ! भित्र त झन् सकस, च्यापिएर मरिएला झैं ! यदि लडियो भने बाँच्ने सम्भावना नै थिएन, भीडले कुल्चेरै मार्ने स्थिति रहेछ । भित्र छिरिसकेकाले ज्यान जोखिममै पारेर दर्शन गरियो । यस्तो भीड हुने प्रसिद्ध मन्दिरको बेहाल अवस्थाले खिन्न बनायो । यहाँपछि कुशल ठाकुरजी, दान विहारीजी, ब्रह्माञ्चल पर्वत, मोर कुटी, कुञ्ज विहारी, गहवर वन, गहवर कुण्ड, मान गढ, राधा मान बिहारी लालजी, राधा सरोवर, सकरी गली र प्रीया कुण्ड (राधाले मेहेन्दी लगाएको स्थान) गरी करीब १३ किमी भ्रमण गरियो ।

बिहानको खाना दिउँसो १ बजे खाइयो । खाना खाएर १ घण्टा आराम गरेपछि २:३० मा प्रेम सरोवरतर्फ लाग्यौं । त्यहाँबाट सुदामा कुटी, शनिदेव मन्दिर, कोकिला वन, नवग्रह मन्दिर, वृन्दा कुण्ड, वृन्दा देवी, नन्द गाउँ, नन्द महल गयौं । यहाँका सबै जसो मन्दिरमा मगन्ते पारा देखियो । देवतालाई पर्दाले छोपेर पैसा दान गर्न कर लगाउने । दान नदिए झर्किने, गाली गर्ने । पण्डा मात्रै होइन बाटोमा भेटिने जति स्थानीय समेत पछिपछि लाग्दै रकम माग्ने गरेको देख्दा पवित्र तीर्थस्थलकै बदनाम भए झैँ लाग्यो । साँझमा कृपालुजी महाराजको कीर्ति मन्दिर पुगेर आश्रममा पुग्दा ७ बजेको थियो ।

भोलिपल्ट बिहानको चियानास्तापछि सामान बसमा हाली आश्रमबाट बिदा भएर अञ्जन वन, कजरोटी शीला, कृष्ण कुण्ड, चीरहरण घाट (चीर घाट), कात्यायनी मन्दिर, अक्षयवट धाम, नौका विहार कुण्ड, दक्षिण विहार वन र गोरे (ऐंचा) दाउजी (यमुनालाई हलोले तानेको स्थान) गयौं । बिहानको खाना यतै पकाएर खाइयो । खानापछि भाण्डीर वन (राधा–कृष्ण विवाहस्थल) गयौं । ब्रह्मवैवर्त पुराण र गर्ग संहिताका अनुसार स्वयं ब्रह्माजीले पिताको रूपमा अग्नि साक्षी राखी यसै स्थानमा श्रीकृष्णसँग राधाको विवाह गराउनुभएको रहेछ । यहाँबाट फेरेवाला वृक्ष, मत्स्यावतार कुण्ड, वंशी वटवृक्ष, बेल वन, मानसरोवर र मान बिहारीको दर्शन सकेर साँझ त्यहाँको प्रसिद्ध प्रेम मन्दिरको अवलोकन गरी नजिकैको होटेलमा गएर बस्यौं ।

नवौं दिन अर्थात् चौरासी कोस परिक्रमाको अन्तिम दिन थियो । चियानास्ता सकेर होटेलबाट सामानसहित बिहान ७:१५ बजे हामीले प्रस्थान गर्यौं । पैदल परिक्रमा गर्दै काली नागदह, कदम वृक्ष, राधा मदनमोहन मन्दिर, केशी घाट (यमुना), राधा गोपिनाथ, राधारमणजी मन्दिर र निधि वन पुग्यौं ।

निधिवन दिनभर खुला रहने तर साँझमा भने यसलाई खाली गरिने रहेछ । यहाँ तुलसी, मेहन्दी र कदम्बका रुख रहेका छन् । यस वनमा रहेका तुलसीका रूखहरू जोडीमा देखिन्छन् । रातमा यी सबै रूखहरू गोपीको रूपमा परिणत हुने जनविश्वास छ । यहाँ रंगमहल र राधारानीको मन्दिर पनि छ ।

सूर्यास्तपछि यस वनको रंगमहलमा कृष्णका लागि पान, जल तथा राधाका लागि मेकअपका सामान राखिने रहेछ । विहान मन्दिरको ढोका खोल्दा पानीको भाँडो रित्तिएको, मेकअपका सामान लत्पतिएको, चुरा फुटेको र पान खाएर थुकेकोजस्तो देखिने भएकाले यहाँ हरेक दिन राधा र कृष्ण लीला गर्न आउँछन् भन्ने जनविश्वास पाइयो ।

निधिवनपछि आधाघण्टाको दूरीमा रहेको बाँके बिहारीको दर्शन गरियो । बाँके बिहारीमा पनि राधा मन्दिरमा झैँ भीड देखिन्थ्यो । तर यहाँ भने सुरक्षाकर्मीले भीडको व्यवस्थापन गरेका कारणले अलि सहज थियो । झण्डै ६ घण्टाको पैदल यात्रापछि फर्किएर दिउँसो १:१५ बजे हामीले खाना खायौं ।

खाना खाएर केहीबेर विश्राम गरेपछि पुनः भ्रमणमा निस्कियौं । दाउजी मन्दिर, क्षीर सागर, चिन्ता हरण महादेव, ब्रम्हाण्ड घाट (कृष्णले माटो खाएको स्थान) र नन्द भवन (चौरासी खम्बा) को दर्शन सकेर कृष्णले लडीबुडी खेलेको स्थान चरण रेतीमा पुगेर माटोमा लडीबुडी गर्यौं । त्यहाँको माटो प्रसादको रूपमा ल्याउने चलन रहेछ ।

चौरासी परिक्रमाको क्रममा यहाँ लडीबुडी गर्दा धूलो लागेको लुगालाई फुकालेर सुरक्षित राखी आफ्नो घर पुगेपछि घरभित्रै टक्टक्याउनु पर्ने धार्मिक मान्यता रहेको कुरा मोहनदाइबाट जानकारी भयो । हामीले त्यहाँका महन्तबाट चरणरेती परिसरमा भोलिपल्ट बिहान सवालाख बत्ती बाल्ने र हवन गर्ने अनुमति लियौं, र चौरासी कोस परिक्रमा समापन गरेर गोकुलस्थित पहिले बसेकै होटेलमा पुग्यौं ।

चौरासी कोस अर्थात् २५२ किलोमिटर दूरीको परिक्रमा, हामी गाडी जाने ठाउँमा गाडीबाट र नजाने ठाउँमा टेम्पो तथा पैदलबाटै परिक्रमा गर्यौं । परिक्रमा मार्गका नजिकै रहेका, परिक्रमा अन्तर्गत नपर्ने कतिपय मन्दिरमा समेत पुग्यौं । यसै क्रममा एकतिहाइ भन्दा बढी दूरी हामीले पैदलै (नाङ्गै खुट्टाले) पूरा गरेका थियौं ।

वृन्दावनलाई एक प्राचीन ऐतिहासिक शहर मानिन्छ । हिन्दु धार्मिक मान्यता अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले बाल्यकाल बिताउनु भएको यो नगर ब्रजभूमि क्षेत्रको मुख्य स्थान हो । हेर्दा अचम्म लाग्छ, वृन्दावन क्षेत्रका सबै रुखहरू निहुरिएका देखिन्छन् । कृष्ण लीला हेर्न रुख निहुरिएका हुन् भन्ने लोकमान्यता छ ।

धार्मिक दृष्टिले अति महत्त्वपूर्ण स्थान भए तापनि गोकुल र वृन्दावन भने ज्यादै फोहोर देखिन्छ । जताततै नाली बगेका र फोहोर थुप्रिएका छन् । मानिस हिंड्ने साँघुरो गल्लीमा दोहोरो सवारी चाप, सवारी अनुशासन शून्य, चालकहरूको छुद्र बोलीव्यवहार, हरेक पाइलामा भेटिने मगन्तेहरू र मन्दिरका पण्डाहरूको लोभी प्रवृत्ति प्राचीन मथुरा नगरीलाई बदनाम गराउन अग्रसर रहेको भान भयो । यस ऐतिहासिक नगरको मर्यादा अभिवृद्धि र पर्यटक मैत्री वातावरण बनाउनका लागि त्यहाँको सरकारले छिटोभन्दा छिटो प्रयास गर्नुपर्ने महसूस भयो । हुन त, ठाउँ ठाउँमा विकास निर्माणका काम हुँदै गरेका पनि देखिन्थे । आशा गरौं, आगामी केही वर्षपछि मथुरा शहरको कायापलट हुनेछ ।

चौरासी कोस परिक्रमा सकिएकाले भोलिपल्ट बिहान सवा लाखबत्ती प्रज्वलन गर्ने कार्यक्रम मात्र बाँकी थियो । होम र पूजाका लागि आश्रमबाट नेपालीभाषी दुईजना पण्डित बोलाउनुभएको थियो मोहनदाइले । बत्ती, चरु लगायत सबै पूजा सामाग्रीहरू हामीले काठमाडौंबाटै लगेका थियौं । फूल, समिधा, मिठाई र फलफूल त्यहाँ किनियो । बसबाट रमन रेती पुगेर होमादि शुरु भयो । काठमाडौंमा र त्यहाँ गराउने पूजाविधिमा अलिक फरक रहेछ । करीब १२ बजेतिर सवालाख दीप प्रज्वलन र होमादि कार्य सम्पन्न भयो । आफ्नो संकल्प पूरा भएकोमा सबै तीर्थयात्री प्रफुल्ल देखिए । पूजापछि सोनु भाइले नजिकैको आश्रममा लगेर महाप्रसाद खुवाए ।

खानापछि होटेलमा आएर विश्राम गर्न थाल्यौं । वृन्दावन बसाइको अन्तिम दिन भएकाले साँझ पर्नुअगावै मोहनदाइले हामीलाई रावल गाउँ लगेर राधाजीको जन्मस्थल, राधा सरोवर र युगल वृक्ष (राधाकृष्ण) को अवलोकन गराउनु भयो । यस ठाउँको दर्शनसँगै हाम्रो यसपटकको वृन्दावनको भ्रमण टुङ्गिएको थियो ।

आउँदा अयोध्यामा राम मन्दिरको दर्शन गरेर आएका हामीहरू, वृन्दावनको चौरासी कोस परिक्रमा सकेर भोलिपल्ट बिहान सबेरै होटेलबाट बिदावारी भई आफ्ना झोलीतुम्बा बोकेर नैमिषारण्यतर्फ लाग्यौं ।

              ~~~~~~~~~~~


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …