हाम्रा धर्मशास्त्रमा पिताको महत्व

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः । 
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।
पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च ।
तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।।
अर्थात् ; “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।”

माथिका उल्लेखित यी श्लोकहरु हाम्रो जीवनमा पिताको के कस्तो महत्व छ भन्ने कुरा प्रष्ट्याउन पर्याप्त छन् । आफ्नो आँखामा आँसु नदेखाई, थकाई, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिंदैं ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासंग मात्रै हुन्छ ।  त्यसैले हामी  आमालाई पृथ्वीसंग तुलना गर्छौं भने पितालाई आकाशसंग । सन्तानको पालनपोषण र संरक्षणकर्ता पिता हुन । यसो भन्दा आमा सन्तानको संरक्षक होईन भनेको वा आमाको महत्व कम छ भनेको भन्ने अर्थ नलगाईयोस कि, छोराले रुन हुंदैन भन्ने सामाजिक मान्यता रहेको हाम्रो समाजमा दिनरात सन्तान खुशी र सुखका लागि आफ्ना दुःख भुलेर मेहेनत गर्ने र परिवारको मूली र भरोसाका केन्द्रका रुपमा रहेर अबिचलित कर्तब्यपालन गर्ने पिताको सम्मान गरिएको हो । वास्तवमा पिता, अाफ्ना सन्तानहरुकाे मात्रै हाेईन पतिकाे रुपमा सन्तानहरुकी अामाकाे समेत संरक्षक अर्थात् सम्पूर्ण परिवारकै अाड भराेसा हाे भन्नमा सायद कुनै अत्युक्ति नहाेला ।

सामान्यतया पिता भन्नाले हामी जन्मदातालाई सम्झन्छौं । तर पिता शब्दले ब्यापक अर्थ राख्छ । संस्कृतमा एउटा श्लोक छ –
“बिद्यादाता, जन्मदाता, कन्यादाता तथैव च,
अन्नदाता, भयत्राता पञ्चैते पितर स्मृताः ।”
हाम्रो धर्म, संस्कृति र परम्पराले बिद्या दिने गुरु, जन्म दिने पिता, कन्या दिने ससुरा, अन्न दिने कृषक वा पालन पोषण गर्ने ब्यक्ति तथा डर र त्रासबाट रक्षा गर्ने ब्यक्ति समेत समान रूपमा “पिता“ को सम्मान दिएको छ । यी पाँचथरी पिताहरुलाई पञ्चपिताको रुपमा मानिन्छ ।

महाभारतको वनपर्व अन्तर्गत यक्ष–युधिष्ठिर संवादको क्रममा पितालाई आकाशभन्दा बिशाल भनिएको छ । अर्थात् पिताको हृदय–आकाशमा आफ्ना सन्तानका लागि जुन असीम मायाँ हुन्छ त्यसको वर्णन गर्न सकिन्न । पिताको आफ्ना सन्तानप्रति कति प्रेम, स्नेह, मोह वा त्यागको भावना हुन्छ भन्ने कुरा  आफ्ना आज्ञाकारी पुत्र श्रवण कुमार तथा राम–लक्ष्मणको बियोगमा उनीहरुका पिताले प्राण त्यागेका धार्मिक ईतिहासका उदाहरणबाट पनि बुझन सकिन्छ । हामीले देवता देखेका छैनौ तापनि हामी आपद् विपत आईपर्दा रक्षार्थ र सहयोगार्थ देवतालाई नै पुकार्छौं । तर हाम्रा हरेक बाधा ब्यवधान फुकाईदिने र हरेक आवश्यकता पुरा गर्ने पितालाई भने भुल्छौं । वास्तवमा पिता हाम्रा लागि साक्षात् देवता र देवतुल्य स्तुत्य हुन्छन् । अर्थात “सर्वदेवमयः पिता” । पुराण–शास्त्रहरु भन्छन् पिता आचार्यका पनि आचार्य हुन । “उपाध्यान्दशाचार्य आचार्याणां शतं पिता”।  दस उपाध्याय भन्दा ठूला ‘आचार्य’, सय आचार्य भन्दा ठूला अर्थात् ‘पिता’ महाचार्य हुन ।

हाम्रो धार्मिक ग्रन्थहरु, वेद, पुराण, शास्त्र र परम्पराहरुले पितालाई यति उच्च स्थान दिंदा दिंदै पनि आजको भौतिकतावादतिर लम्किरहेको हाम्रो समाजमा माता–पिताहरु आफ्नै सन्ताहरुको अवहेलनामा परिरहेछन । संयुक्त परिवारको प्रचलन हट्दै गएको शहरी संस्कृतिले गर्दा आफ्नो पाखुरीमा बल र सम्पती सकिएपछि सन्तानले गर्ने हेंला तथा सन्तानमा पलाएको बिदेशमोह र बिदेश गएपछि नफर्कने प्रवृत्तीजस्ता कारणले पनि पिताहरुको बृद्धावस्था कष्टकर हुंदै गएको छ । यो सबै सन्तानहरुलाई नैतिक  दिन नसकेको कारणले हो ।

बास्तवमा एउटा सन्तानले आफूलाई आफ्ना माता–पिताले कस्ता कष्ट ब्यहोरेर हुर्काएछन् भन्ने महसूस आफू माता–पिता भएपछि गर्नुपर्ने हो । तर समाजमा देखिएका कतिपय दृष्टान्तले त्यस्तो महसूस गरेको देखिन्न । सन्तानहरु स्वार्थी भएजस्तै माता–पिता पनि स्वार्थी भईदिए भने समाजको हालत कस्तो हुन्छ ? यो कुरा सन्तानहरुलाई बुझाउनु र बुझ्न जरुरी छ । माता–पिताको सम्मानार्थ समाज र राज्यबाट पनि पहल हुनुपर्ने हो । तर राज्यले यसतर्फ नजरअन्दाज गरेको देखिन्छ । विद्यालयतहमा पहिले पढाईने बिषय नैतिक शिक्षा अहिले पढाईन्न । यस्तै, आमा र बुबाको मुखहेर्ने पर्वहरुका दिनमा दिंदै आएको बिदा पनि कटाईएको अवस्था छ । हुन त बिदा दिंदैमा आमा–बुबाप्रति सम्मान गर्न सन्तानलाई बाध्य पार्दैन तर माता–पिताको सम्मान गर्न नैतिक दवाव भने पक्कै पनि दिन्छ । तसर्थ यी दिनहरुमा सार्वजनिक बिदा र कम्तीमा आधारभूत तहसम्मको पाठ्यक्रममा नैतिक शिक्षा राखिनु जरुरी छ ।

अन्त्यमा, माता–पिताको सम्मान उनीहरुको जीवनकालमै गरौं । मरेपछि गर्ने आडम्वरले केहि अर्थ राख्दैन । ज्यूदों छंदा उनीहरुलाई संधै रुवाएर मृत्यूपश्चात् गोहीको आँसु चुहाउनु ब्यर्थै छ । हामीले गरेका कर्म र ब्यवहारका सिको नै हाम्रा सन्तानहरुले गर्ने हुन । पछि पछुताउन नपरोस् । त्यसैले समय छंदै बिचार पुर्याऊं । कुशे औंशी वा पितृ सम्मान दिवस वा बाबुको मुख हेर्ने दिन जस्ले जे जे भने पनि यो दिनले पिता र सन्तानहरुका बिच आपसी प्रेम र सम्मान बृद्धि गर्न हामी सबैलाई प्रेरणा देओस् । सबैमा शुभकामना ।
अस्तु ।

(याे लेखलाई एजुकेशन पाटी अनलाइनकाे तलकाे लिंकमा पनि पढ्न सकिन्छ) http://www.educationpati.com/mahattwaaa 
- मुरारीराज मिश्र
(कुमारीगाल, उमामहेश्वर मार्ग, कामपा– ७)
mrmishra@live.com

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...