लघु काव्य विधा : छेस्का

                           


 ✍️ मुरारीराज मिश्र

प्राचीनकाल देखि नै मानिसले आफ्ना भावनाहरु विभिन्नरुपले उजागर गर्दै आएको छ । यसै क्रममा वेद पुराणादि बृहत् ग्रन्थहरु जन्मिए । बिस्तारै मानिसको रुचि साहित्यतर्फ आकर्षित हुँदै गयाे । ठूलाठूला महाकाव्य, खण्डकाव्य, काव्य लगायतका विविध साहित्यिक कृतिहरु रचिए । साहित्यफाँट उर्वर बन्याे । हुन त, अहिले पनि महाकाव्य, खण्डकाव्य नलेखिने हैनन् फाट्टफुट्ट लेखिन्छन्, तर पहिलेको जस्तो फुर्सदिलाे समय छैन । जीविकाेपार्जनकाे क्रममा लेखक-पाठक सबै व्यस्त  छन् । लामाे रचना लेख्ने र पढ्ने फुर्सद कसैलाई छैन । तसर्थ, मानिस छाेटा रचना तर्फ आकर्षित भएका छन् । कथाकाे छाेटाेरुपमा लघुकथाले बेग्लै स्थान जमाईसकेकाे छ । साहित्यमा सबैभन्दा बढी लेखिने विधा कविताकाे क्षेत्रमा पनि विविध प्रयाेग भएर यसका लघु तथा सुक्ष्म-लघुरुपमा मुक्तक, हाइकु, मिनी हाइकु,  साईनाे, डाली, सुसेली, उदक, झर, बाछिटा, शीत, वुंद आदि नव काव्य विधाकाे उदय भएका छन् । यसै सेरोफेरोमा करिव दुई बर्ष अघि साहित्याकाशमा देखापरेकाे 'छेस्का' नामक सुक्ष्म लघुकाव्य पनि हाल: चर्चामा छ । विभिन्न छापा तथा अनलाइन पत्रिकामा एवं सामाजिक सञ्जालहरुमा छाईरहेकाे छेस्काकै बारेमा यस लेखमा केही थप जानकारी दिने प्रयास गरिएको छ ।

३ लाइन र १५ अक्षरकाे शब्दसमूहलाई सर्वप्रथम 'छेस्का' नाम दिएर सार्वजनिक गर्नुभएका साहित्यकार विनाेद नेपालकाे भनाइमा - 'हाइकु लेखनकाे क्रममा उब्जिएको शव्दसमूहले चसक्क घाेचेपछि त्यसलाई छेस्का नामाकरण गरि सामाजिक सञ्जाल मार्फत पस्केकाे हुँ । प्राय: मानिसहरु केही न केही लेख्न चाहन्छन् । सबैले महाकाव्य लेख्न सक्ने कुराे भएन ! तर, छाेटाे रुपकाे भएकालेे यस्ले मानिसलाई लेख्न र पढ्न प्रेरित गर्छ । यसाे हुनु भनेको अन्ततः साहित्य क्षेत्र फराकिलो र सम्वृद्ध बन्दै जानु हाे ।' साहित्य लेखन सबैकाे पहुँचमा पुगाेस् भन्ने विनोद नेपालकाे सदासयतामा असहमत हुनुपर्ने ठाउँ नै छैन । वास्तवमा साहित्यिक सृजना सर्जकले आत्मसन्तुष्टिका लागि गरेतापनि उस्काे सृजनाले समाजकाे दर्पणकाे काम गर्छ । समाजका राम्रा नराम्रा विविध पक्षकाे उजागर गरेर सर्जकले सबैलाई सुसूचित गराउने भएकाले, प्रकाशित रचनाहरु सर्जकका व्यक्तिगत हुँदाहुँदा पनि सार्वजनिक सम्पत्ति मानिन्छन् । यसरी हेर्दा, साहित्यमा सबैकाे पहुँच पुग्दा समाज र साहित्यक्षेत्रलाई फाइदै पुग्ने देखिन्छ ।

शाब्दिक रुपमा छेस्का भन्नाले काठको स-साना आकारका चुच्चो परेका तिखा टुक्रालाई बुझाउँछ । भाैतिक छेस्काले च्वास्स घोचेर आफ्नो अस्तित्वको अनुभुत गराए जस्तै, काव्यिक छेस्काले शब्दमार्फत मानिसकाे मनमस्तिष्कलाई छाेएर घाेच्ने काम गर्दछन् । 'छेस्का' जम्मा १५ पूर्ण अक्षरकाे सशक्त शव्दसमूह हाे । याे तीन लाइनमा लेखिन्छन् । प्रत्येक लाइन पाँच अक्षरकाे हुन्छ । यसमा खुट्टा काटिएका आधा अक्षर (हलन्त) काे गणना गरिन्न । यसकाे पहिलो लाइनले बिषय उठान गरि पछिल्ला दुई लाइनले बिषयबस्तुलाई उत्कर्षतामा पुर्‍याएकाे हुनु पर्दछ । छेस्का अन्त्य अनुप्रासयुक्त र मुक्त दुबै किसिमले लेख्न सकिन्छ । तर, अनुप्रासयुक्त हुँदा पढ्दा र सुन्दा बेग्लै मीठास आउने भएकाले यसप्रकारका छेस्का राम्रो मानिन्छ । अनुप्रास मिलाउँदा पहिलो-तेस्रो, पहिलाे-दाेस्राे, दाेस्राे-तेस्रो वा तीनै लाइनमा पनि अनुप्रास राख्न सकिन्छ । तापनि, तीनै लाइन वा पहिलो र तेस्रो लाइनमा अनुप्रासयुक्त छेस्का बढी उपयुक्त र प्रभावकारी मानिन्छन् । अझ, तल र माथि दुवैतर्फबाट पढ्दा समान अर्थ दिने छेस्काहरु उत्कृष्ट काेटीमा पर्दछन् । थाेरै अक्षरकाे संरचना भएकाले छेस्का रचना गर्दा एउटै शव्द दाेहाेर्‍याउनु राम्रो हुँदैन । यस्तै, कुनै व्यक्ति,  संस्थाकाे प्रत्यक्ष नाम ताेकी, ब्यक्तिगत आक्षेप वा गालीगलाैज गर्ने र समाजमा द्वेष फैलाउने  लेखन प्रवृत्तिलाई छेस्का लेखनमा निषिद्ध कार्य मानिन्छ । त्यसैले त्यस्ता कुराहरुका बारेमा लेख्दा सांकेतिकरुपमा लेखिनु पर्छ ।

छेस्काकाे परिवेश सिमित छैन । राजनीति, सामाजिक, धार्मिक, आर्थिक, प्रशासनिक, प्रकृति, विकृति, प्रेम, साैन्दर्य, पीडा, सुखदुःख, जीवनजगत लगायतका कुनैपनि बिषयमा छेस्का रचना गर्न सकिन्छ । छेस्कामा  उखान-टुक्काहरुलाई पनि प्रासंगिकरुपमा प्रयाेग गर्न सकिन्छ । व्यङ्ग्य प्रधान छेस्काहरु बढी प्रभावकारी मानिन्छ । छेस्का रसयुक्त शव्दकाे समूह हाे । यसले निकै  कम शब्दमा धेरैभन्दा धेरै कुराहरु मर्मस्पर्शी ढंगले अभिव्यक्त गर्न सक्नुपर्छ । क्लीष्ट शव्दहरु भन्दापनि भाषागतरुपमा जति सरल भयाे याे उति मीठो हुन्छ । एउटा शव्दलाई भाँचेर तीन लाईनमा ढाल्दैमा छेस्का बन्दैन । छेस्कामा अर्थ बुझिने गरि स्थानीय र बाेलिचालिका भाषाकाे पनि प्रयाेग गर्न सकिन्छ । छेस्का भाव र विम्वयुक्त हुनुपर्छ । यसमा भाषागत शुद्धता पनि उत्तिकै जरुरी छ । समग्रमा, पढ्दा पाठककाे मनमस्तिष्कमा चसक्क बिझ्न सक्नु नै 'छेस्का' काव्यको विशेषता हो ।
छेस्काकाे बनाैट, यसबारेमा भएका प्रयाेग र अभ्यासलाई बुझ्न केही उदाहरणहरु प्रस्तुत गरिएको छ, जसबाट पाठकलाई यस्काे आधारभूत संरचनात्मक स्वरुपलाई बुझ्न मद्दत गर्नेछ ।
केही प्रतिनिधिमूलक छेस्काहरु :
मर्म नपरी
आँखाको झरी
झर्छ कसरी !
@ विनाेद नेपाल

सधैं छ जात्रा,
अलपत्र भो  
समृद्धि यात्रा !
@ जयनारायण नेपाल

हेर्दैमा चित्र,
बुझिन्न के छ
हृदय भित्र !
@ एल.पी.पराजुली

आकाशे पुल,
बाटो काट्नेको
तल पो हूल !
@ ओम आचार्य

गरेर युद्ध,
रुँदै छ मान्छे
हाँस्दै छ गिद्ध !
@ किशन पाैडेल

भएनन् सेता,
दाग अनेकौं
देशका नेता !
@ खगेन्द्र बस्याल

सबै वेश छ,
जाेरी नखाेज
अध्यादेश छ !
@ टंकप्रसाद पन्त

शंकालु पाेइ,
बेचैन संधै
घरकी जाेई !
@ हृदय लेकाली

पाेगटाे धान,
अन्न विनाकाे
भाे संविधान !
@ मुरारीराज मिश्र

हतास मन,
तँ तँ र म म
बित्याे जीवन !
@ उपेन्द्रप्रसाद खनाल

माथिका छेस्का उदाहरणहरुले पीडा, राजनीति, मानवीय स्वभाव, सामाजिक विकृति, जीवन चरित्र आदिकाे सटीक र कटाक्षपूर्ण चित्रण  गरेका देखिन्छन् । छाेटा र मीठा भएकाले छेस्का प्रति मानिसहरुकाे अभिरुचि बढ्दैछ । सर्जक र पाठककाे संख्यामा बढाेत्तरी हुँदै गएकाले छेस्का लेखनमा एकरुपता ल्याउन र ब्यवस्थित गर्न, 'छेस्का साहित्य नेपाल' केन्द्रीय तदर्थ समितिबाट संस्थागतरुपमै कार्य अघि बढाईएकाे छ । छेस्काकाे परिचय, उद्देश्य र मूल्यमान्यता सहितकाे आधारभूत अवधारणापत्र सार्वजनिक भईसकेकाे छ । सामाजिक सञ्जालबाट प्रत्यक्ष छेस्का वाचनकाे कार्यक्रम चलाईएकाे छ । हाल: छेस्का लेखनमा, नाम चलेका स्थापित स्रष्टाहरु देखि नयाँ सिकारुसम्मले कलम चलाएको देखिन्छ । लेखनशैली पहिलेको भन्दा खारिंदै गएकाे छ । यसरी जन्मेकाे छाेटाे समयमै काव्य साहित्यकाे फाँटमा आफ्नो बेग्लै स्थान बनाईसकेकाे छेस्का, आगामी दिनमा साहित्याकाशकाे याैटा चम्किलो नक्षत्र बन्ने कुरामा विश्वस्त हुन सकिन्छ । साहित्यले समाज बदल्न सक्छ भन्छन् ! त्यसैले हामी पनि लेखाैं, धक फुकाएर लेखाैं । कतै हाम्रो लेखाईबाट पनि कहीँ कतै केही सकारात्मक सन्देश पाे गई हाल्छ कि !!!
अन्त्यमा, संस्कृतका यी श्लोकलाई पस्कंदै लेखकाे बिट मार्न चाहन्छु ।

कवि: करोति काव्यानि रसं जानाति पण्डित: 

तरु: सृजति पुष्पाणि मरुद्वहती सौरभं  ।।

(भावार्थ: वृक्षले फूल फुलाउँछन् तर त्यसकाे सुगन्ध फैलाउने काम हावाले गरे जसरी, कविले रचेको काव्यकाे मर्म बुझेर अरुलाई यसको भावकाे अनुभूत र रसास्वादन गराउने काम विद्वान भावना भएको व्यक्तिमार्फत हुन्छ ।)
                        <><><>
mrmishra@live.com
उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...