मुक्तकहरु १





 #मुक्तक
लज्जा बिहिनताले हद नाघ्दैछ,
मानिसमा नाङ्गिने भाेक जाग्दैछ,
गर्नु गर्‍यो हजुर याे फेसनले
बिचराे शरीर कपडा माग्दैछ !
                        ✍️ मुरामि

मुक्तक:

श्रीमान् श्रीमती सूचिमा परेछन्, छाेरा छाेरी चैं छुट्लान् नि !
दाजुभाइलाई नबिर्सनु, नत्र बिराेधमा उठ्लान्  नि !
कार्यकर्ता त दासै हुन्, रिसाएर के फरक पर्छ र !
साला, ज्वाईं, सम्धी छुटायाै भने, आफन्तले नै कुट्लान् नि !!

मुक्तक:
के स्वाभिमान भन्दा ठूलो पद हुन्छ !
के पद पाए मात्रै ठूलाे कद हुन्छ !
गिरेर तलुवै नचाटाैं न हजुर

चाकडीकाे पनि त याैटा हद हुन्छ !            



जिन्दगी जिउने क्रममा धेरै सम्झौता तिमीले गर्‍यौ, 
समस्या आईपर्दा संधै गाँठो फुकाउन अघि सर्‍याै,
किन मनपराएँ मैले भनि साेध्थ्याै नि तिमी मलाई !
हाे, तिम्रो यस्तै बानीले गर्दा तिमी मलाई मन पर्‍याै ।                                                                                      यता छाेप्याे, उता नाङ्गै 
उता छाेप्याे, यता नाङ्गै 
लज्जा पनि लजाएछ
जता हेर्‍यो, उतै नाङ्गै !                                                                                                               #मुक्तक
कसैलाई खुकुरीकाे धार नबनाेस्
कसैलाई अचानाेकाे मार नबनाेस् 
दाेषी नछुटुन् नफसाेस् निर्दाेष पनि
कानून कसैकाे हतियार नबनाेस् ।
                             ✍️ मुरामि                                    #मुक्तक
इमानदारीता सिकाउने कर्तव्यच्यूत, यहाँ धेरै देखिन्छन् !
जाे छन् इमानदार उनीहरु संधै, कामकाे बाेझले सेकिन्छन् 
जब-जब दण्ड र पुरस्कार दिने, कुरा आउँछ नि हजुर !
कर्तव्यच्यूत नै पुरस्कृत हुन्छ, इमानदार फेरि छेकिन्छन् !!
                                                        ✍️ मुरामि                                                                                         #मुक्तक
चञ्चल बतासले खै के-के गर्‍यो 
कपाल उडेर अनुहारमा झर्‍यो 
भाे नहटाऊ कपाल मुहारबाट
मलाई धर्तीकाे चन्द्रमा मनपर्‍याे ।
                           ✍️ मुरामि                                       #मुक्तक
तिम्रै यादमा जिन्दगी काटि दिउँला
माया गर्छेउ भनेर ढाटि दिउँला 
अमृत भनेर बिष नै देऊ तिमी 
केही छैन हाँसीहाँसी चाटि दिउँला ।
                            ✍️ मुरामि  

#मुक्तक

हरेक महिना जसाे, नयाँ फेसन फेर्दै आएँ

एकपल्टकाे लुगा, शायदै दाेहाेर्‍याएर लाएँ

आज एल्बम पल्टाउँदा, नराम्ररी भक्कानिएँ

जब दसौं बर्षदेखि `बुबा´ याैटै लुगामा पाएँ !

                                       ✍️ मुरामि                         #मुक्तक

काेही उहाँले पक्कै जित्नुहुन्छ भनेर बाजी  ठाेक्दैछन्
काेही हराउनै पर्छ भनि आफ्नो असन्तुष्टि पाेख्दैछन्
सबैका गतिविधि चुपचाप नियाल्दै जनता भने
कुन उम्मेदवार कस्तो छ मनकाे तुलामा जाेख्दैछन् !
                                         ✍️ मुरामि
#मुक्तक
पुष्ट गाला, हल्का चाउरिएछ
कालाे कपाल, सेताम्यै भएछ
हेर्दा हेर्दै, अब मुरारी पनि
जेष्ठ नागरिक, झैं पाे भएछ 😂

                            ✍️ मुरामि                                     #मुक्तक
कहिले भन्छन्, `याे त मेराे नजिकैकाे नाता पर्ने´
कहिले `गाेरु बेचेको साइनो´ भन्दै आँखा तर्ने
स्वार्थ पूरा नहुन्जेल आफ्नो नत्र बिरानाे भनी
सम्बन्ध चिनाउनेलाई खै के सम्वाेधन गर्ने ?
                                          ✍️ मुरामि                     #मुक्तक
धेरै मान्छे भन्छन् `प्रेम जीवन उज्यालो पार्ने जून हाे´
कसैकसैले भन्छन् `प्रेम जीवन धुल्याउने घुन हाे´
भन्नेले चाहे जेसुकै किन नभनुन्, मलाई त लाग्छ 
`प्रेम, खाना मीठाे पार्ने तर हेर्दा नदेखिने नुन हाे´ ।
                                                ✍️ मुरामि                    #मुक्तक
महंगियाे तरकारी, दुघ, फलफूल र अन्न
जनताकाे पेट संधै आधा, कहिल्यै छैन टन्न
कालाबजारिया सक्रिय छन् माैन छ सरकार
कसले सुन्छ र याे व्यथा ? खै कता जाने हाे भन्न !
                                        ✍️ मुरामि                              #मुक्तक
कसैका लास मुर्दाघरमा गल्दैछन्
काेही बीच सडकमा ज्यूंदै जल्दैछन्
याे सबै टुलुटुलु हेर्दै सत्ताधारी
सिद्धान्त छाडि अधाेगतिमा चल्दैछन् !!
                                   ✍️ मुरामि                                                                                                         #मुक्तक
मुसुक्क हाँस्दा दिनभरिकाे थकान भाग्छ
मीठो बाेली सुन्दा आधा दु:ख घटे झैँ लाग्छ 
शायद बानी परेर हाेला तिम्रो साथकाे
हरेक ब्यथामा मनले तिम्रै साथ माग्छ ।
                                     ✍️ मुरामि                                   #मुक्तक
आलोचना भित्र लुकेको सत्यलाई चिन्नुपर्छ
प्रशंसा भित्र छिपेकाे झूटलाई उधिन्नु पर्छ 
समयसंग भन्दा सत्यकाे साथमा हिड्ने गरे 
बाध्य भएर समयले हामीसंगै हिड्नु पर्छ ।
                                        ✍️ मुरामि                                                                                                  #मुक्तक
समयसंगै कहिले अनायासै हैसियत चुलिन्छ,
अहंकार गर्नु व्यर्थ छ कहिले नराम्ररी थलिन्छ,
सबैभन्दा माथि छु भनेर, घमण्ड गर्ने छत पनि 
घरकाे तला थपिएपछि स्वत: भुइँमा बदलिन्छ !!
(प्रहरीमा प्रकाशित
                                                                                                                              #मुक्तक

कहिले नराम्ररी लडाउँछ

कहिले शिखरमा चढाउँछ

सच्चा स्कुल त जीन्दगी पाे रैछ 

सही पाठ यसैले पढाउँछ ! 

(प्रहरी पाैष-माघ२०८० मा प्रकाशित)

                    ✍️ मुरामि                                                                                                                                 #मुक्तक
थाहा छैन मानिसले घमण्ड किन गर्छ 
जहिले पनि तँ तँ म म भन्दै अघि सर्छ 
मानिससंग के छ त्यस्तो गर्व गर्ने कुरा 
कमाएको धनसम्पत्ति यतै छाेड्नु पर्छ ।
                                     ✍️ मुरामि    


                       #मुक्तक
डटेर सामना गर्नुपर्छ, समस्याले त कहिल्यै छाेड्दैन
समुन्द्रमा पुगि हराइने थाहा छ, नदीले बाटो माेड्दैन
जिउने कला त अझ चङ्गाबाट सिक्नुपर्छ हामी सबैले
काटिनु पर्ने जान्दाजान्दै पनि जाे आकाशमा उड्न छाेड्दैन ।
   (प्रहरीमा प्रकाशित
                                          
        #मुक्तक
ईश्वर झैं सर्वगुणसम्पन्न कहाँ हुन्छ र मान्छे,
केही न केही कमजोरीले भरिएकै हुन्छ मान्छे,
बाेलेन भन्दैमा बाेल्नै नजान्ने नठानाैं उसलाई,
आदरवश पनि चुपचाप भएको हुन्छ मान्छे !
                                           ✍️ मुरामि         

#मुक्तक

   नसाेचेर बाेल्दा, आफैंलाई पिर्न सक्छ
आपसमा, शंकाकाे बादल छिर्न सक्छ 
जिब्रो तरबार त, पक्कै हैन हजुर
तर यस्ले नराम्ररी, मुटु चिर्न सक्छ ।      
(वैजयन्तीमा प्रकाशित)     ✍️ मुरामि   

                             
जिन्दगी कहिले, नसाेचेकाे समस्यामा ठाेकिन्छ 

कहिले बरफ पग्ले झैं, पानी बनेर पाेखिन्छ

भरोसा सबैकाे गर्नुपर्छ तर साेचेर मात्रै 

कहिले काँही आफ्नै दाँतले पनि जिब्रो टोकिन्छ !

"""


खेती छाेडेर मान्छे शहर ताक्दैछ
मलिलो खेत वनमाराले ढाक्दैछ
शहर पसेपछि उ फर्कन्न गाउँ
शायद, मान्छेलाई शहर फाप्दैछ !
                            ✍️ मुरामि


#मुक्तक
जिन्दगीको जाँताेमा मान्छे निरन्तर पिसिएकै छ
आत्मियता हराएर सम्बन्धहरु चिसिएकै छ
बिना फाइदा त कसैले पनि क्यै गर्दैनन् हजुर
अचेल मायामा पनि अलिक स्वार्थ मिसिएकै छ ।।
                                            ✍️ मुरामि


#मुक्तक
अग्रगामी कदम चालाैं
प्रदेश संरचना फालाैं ।
संघीय र स्थानीय तह
यति नै राम्ररी सम्हालाैं ।।
                ✍️ मुरामि


#मुक्तक
राजनीतिकाे यै हाे सार,
झूटो बाेलिन्छ लगातार ।
शून्य प्राय: छ नैतिकता,
पदकै लागि मारामार !!
               ✍️ मुरामि

#मुक्तक
अरुले चपाएकाे निल्छ उ, न आफ्नो चपाउने ढंग छ
सगर मैले थामेकाे भन्दै, हुटिट्याउँ बनेर दंग छ
लंका त दुख गरेर हनुमानले नै जलाएका हुन् नि !
मैले जलाएकाे भन्दै जस खाेज्छ ढेडु, यै पाे अचम्म छ !!
                                           ✍️ मुरामि

#मुक्तक
मेराे मनले कहिलेकाहीँ, यस्तो साेच्ने गर्छ
`अन्धकार र हावाकाे, पक्कै केही नाता पर्छ´ !
लडाइँ त, दियो र अँध्यारोकाे बिच पाे हाे त
दियो निभाउन नत्र किन, हावा अघि सर्छ !!
                                          ✍️ मुरामि

#मुक्तक
देशका नाइके फेर्दैछन्, हरेक दिन विचित्र भेष
स्वार्थ नै सर्वाेपरि यिनका लागि, भाड मे जाए देश
सम्वृद्ध भए देश र जनता, के मा गर्छन् राजनीति
त्यसैले साेच्छन् देश र जनता, गरीब भएकै बेस !!
                                        ✍️ मुरामि

#मुक्तक
देशको सभ्यताको प्रतीक मानिन्थिन् कुनै बेला बागमती,
ढल बगाएर अस्तित्व जाेगाउँदैछिन् अचेल बागमती,
सदियाैं देखि पापमाेचनीकाे रुपमा चिनिन्थ्यो उनलाई,
अब कसैको पाप पखाल्न नसक्ने भएकी छिन् बागमती !!
                                            ✍️ मुरामि

#मुक्तक
प्रश्न गरेर जवाफ कुर्दै रहें,
बाेल्छिन् कि उनी भनि म साेच्दै रहें,
जवाफ उनकाे आँखामा रहेछ !
म चाहिँ ब्यर्थै शब्दमा खाेज्दै रहें !!
                              ✍️ मुरामि

#मुक्तक
खुम्चिएछ बिश्व बजार, जे खाेजेपनि यहीँ पाईएका छन्
टाढा रहेन भूगोल पनि, सिमानाहरु साँघुरिएका छन् ।
हुलमात्रै देखिन्छ, मानवताविहिन मानिसकाे सर्वत्र
सम्बन्धहरु टाढिंदैछन् अनि, मन भने कठ्याङ्ग्रिएका छन् !!
                                         ✍️ मुरामि

#मुक्तक
फाेहाेरले ढाकिएर अस्तव्यस्त छ महानगर
कतै फैलिंदैछ हैजा, कतै देखिंदैछ कालाज्वर
जरुरी नै भई सक्याे सबैले आनिबानी सुधार्नु
महामारीको आगाेले खरानी पार्नसक्छ सहर !
•••••••••••••••••••••••••••••••• ✍️ मुरामि

#मुक्तक
झिनाझपटी कुर्सीकाे, अहिलेमात्र हैन संधै हाे
यहाँ राम्राेकाे कदर हुन्छ, भनेर साेच्ने गधै हाे
नैतिकता र इमान्दारिता, सबै भन्ने कुरा न हुन्
राजनीतिकाे एउटै सार, `अन्तिम सत्य पदै हाे´ !!
°°°°°°°°°°°°°°°°°°°°°°°°°° ✍️ मुरामि

#मुक्तक
कस्ले भन्छ उमेर ढल्कियाे, जवानीका झैं छन् रहरहरु,
लाग्दैनन् रातहरु अँध्यारा, रंगिन छन् चारै प्रहरहरु ।
तन बुढाे त भैहाल्छ नि, मन जवान हुनुपर्छ हजुर,
हेर्दा सुख्खा देखिएपनि भित्र रसिला हुन्छन् बगरहरु !!
                                              ✍️ मुरामि

#मुक्तक
सहनै कठिन भाे महंगीकाे मार
भाउ बढेर सर्वत्र छ हाहाकार
राहत भन्ने त सपनामात्रै भयाे
रमाइ रमिता हेर्दै छ सरकार !
°°°°°°°°°°°°°°°°✍️ मुरामि

मुक्तक <<<<<<<<<<<<<<<
भन्ने मात्र न हुन सबै, कसले झार्छ र आकाशका तारा!
जो जो थिए अलिक आशलाग्दा, तिनका पनि देखियो पारा !!
कथनी र करनीमा, धेरै नै अन्तर हुँदो रैछ हजुर !
एकै ड्याङका मूला झैं देखिए, राजनीतिमा उत्रने सारा !!
~~~

#मुक्तक
काम गर्न नदिएर, सम्मान माला र खादा
यस्तैकाे सेरोफेरोमा नै, समय बित्छ आधा
सम्मान त काम हेरेर गर्दा भईहाल्छ नि
बिकास नहुनुमा दाेष छ, `चाकडी´ कै ज्यादा !
~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
नेपाली राजनीतिकाे सार
बाेली फेर्छन् नेता बारम्बार 
भर भएन कसैको पनि
के प्रतिपक्ष के सरकार !
~~~~~~ ✍️ मुरामि

#मुक्तक
जब जब चाहनाकाे खात लाग्छ,
मनभित्र कताकता मात लाग्छ !
भाे नभेटाैं एकान्तमा हामी दुई,
बेकारमा नचाहिंदो बात लाग्छ !!
~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
कति मात्रै हतारिन्छाै यार, केही धैर्य त लेऊ
कम्तीमा सयदिने, हनिमुन समय त देऊ
बिराेध-समर्थन गर्न त समय अझै छ नि
नगिजाेल न धेरै, पहिला काम गर्न त देऊ !
~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
म माग्दिन, जिन्दगीमा सजिलाे बाटो देऊ
राम्रो पद, प्रतिष्ठा र धनसम्पत्ति देऊ
केवल एउटै प्रार्थना छ, मेराे हे प्रभु
सबैकाे मुहारमा संधै, मीठो मुस्कान् देऊ ।
~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
अचम्मको छ, मान्छेकाे जात
ज्यूंदाेमा भाेकै, गाली र लात
रुँदै मर्छन् जब बाबुआमा
श्राद्धमा पस्किन्छ, घ्यू र भात !
~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
जहिल्यै भागदाैड, मान्छेलाई साह्रै हतारो भाे
मानवता हरायो कतै, मन ढुङ्गा झैँ साह्रो भाे
काे आफ्नो हाे काे बिरानो भाे, चिन्ने पाे कसरी यहाँ ?
रूद्राक्ष बनेछ मान्छे, एकमुखे भेट्नै गाह्रो भाे !!
~~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
गुदी नै खाने न हुन् सबैले, खाली काेया त कस्ले चुस्छ र
मासु नभएकाे सिनाेलाई, स्यालले पनि कहाँ लुस्छ र
चाहे आफन्त भन्नुस् या मित्र, सबै स्वार्थी मात्रै छन् हजुर
काम र दाम दिन नसक्नेलाई यहाँ कस्ले पाे पुस्छ र !!
~~~~~~~~~~~~~~~ ✍️ मुरामि

चुलिए फाेहाेरकाे रास
गाह्रो हुँदैछ फेर्न सास
सबै जाेगी उस्तै देखिए
खै, कस्काे पाे गर्नु र आश !!

#मुक्तक
प्रसिद्धि पाउन मेहेनत नै गर्नु नपर्ने रहेछ
केवल अन्टसन्ट काम गर्नु नै काफी हुने रहेछ
म बबुराे झुण्डिरहें हरपल माेवाइलमा मात्रै
भाइरल हुन त तारमा पाे झुण्डिनु पर्ने रहेछ !
~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
माननीयकाे घर अगाडि प्रहरी खटाईदे सर्कार
भित्र बाहिर गर्दा समेत सलामी दिलाईदे सर्कार
माननीय स्वयंले आफ्नै पदकाे मान राख्दैनन् त के भाे
मान नगर्ने प्रहरीलाई दुर्गम पठाईदे सर्कार !
~~~~~~~~~~~~~~✍️ मुरामि

#मुक्तक
सहरको बाटोभरी, बाढी पसेकाे सुनेपछि
यस्ताे कुरा मनमा आयाे, केही बेर गुनेपछि
बाटोमा नबगेर, के गराेस् त बिचराे खाेलाले
`उस्ले बग्ने सबै बाटो, घर बनाई थुनेपछि !´
~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
सुखी जीवनकाे रहरमा
बित्दैछ जिन्दगी कहरमा
मृत्युुसंग हरपल लड्दै
गाह्रो भाे बाँच्न याे सहरमा ।
°°°°°°°°°°° ✍️ मुरामि

#मुक्तक
नछुटुन् काेही, एकपटक सबैकाे पालाे आओस्
देशको ढुकुटी लुट्ने माैका, सबै पार्टीले पाओस्
जस्ले जे भनाेस्, आफू र आफ्नाका लागि गर्नैपर्छ
दायाँबायाँ केही नसाेच्नुस्, देश चाहे भाड् मै जाओस् !
~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
कसैलाई केही गर्नै नदिने, साह्रै नराम्रो मति भाे
बिग्रियाे हाम्रो समाज, जे कुरामा पनि राजनीति भाे
नर्क झैं बन्दैछन् शहर र वस्ती फाेहाेर थुप्रिएर
कैले सम्म सहनु याे दुर्गन्ध ? अब त साँच्चै अति भाे !
~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
छाेटै अवधिमा बिदाकाे परीक्षण सफल भएछ,
देशभरमा अर्बाैं ग्यालेन इन्धन बचत भएछ,
आत्मनिर्भर भएछाैं क्यारे पेट्रोलियम पदार्थमा
यसै कारणले आइतबारे बिदा खारेज भएछ !!
~~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#हैट्
सत्तामा हुँदा,
देशका लागि बाेल्ने बिरुद्ध कुर्लने !
सत्ता खाेसिएपछिु,
अनायास देशप्रेम उर्लने !!

#मुक्तक
फूललाई घाेच्न थालेछ आफ्नै काँडाले
रात पार्न थाल्यो घाम छेकेर डाँडाले
भरिएका थिए मीठा खाना भाँडाभरि
रित्तिएछन्, स्वाद लिएछ क्यारे भाँडाले !
                                   ✍️ मुरामि

#मुक्तक
तिमीले 'म छंदैछु भन्दा' अति नै भर लाग्छ
जिन्दगीमा केही गर्ने मनमा रहर जाग्छ
यदाकदा आँसु देख्छु जब तिम्रा आँखाभरी
आँट सबै बग्ने हुन् कि यति मात्रै डर लाग्छ ।
°°°°°°°°°°°°°°°°°°°°°°✍️ मुरामि°°°°°°

#मुक्तक
एकैछिन फुर्सद छैन धेरै ब्यस्त भयाे
लाग्छ, मान्छे समयभन्दा धेरै अघि गयाे
केही वास्ता गर्दैन संगै बसेकाे मान्छेकाे
निर्जीव माेबाइलकाे महत्त्व धेरै भयो ।
~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
सुरुमा रहर लाग्दाे, भयाे सहर
पछि कर लाग्दाे, हुँदै गयाे सहर
भर लाग्दाे थियोे, याे सहर कहिले
डर लाग्दाे भएछ, अहिले सहर !
~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
राजनीति भन्ने कुरा, साह्रै नै रहेछ बिचित्र
बाहिर देखिने याैटा, अर्कै हुँदाे रहेछ भित्र
इमान्दारी नभेटिने, जालझेल धुर्त्याईं मात्रै
कैले फेरिएला र खै, हाम्रा नेताका यी चरित्र !!
                                      ✍️ मुरामि
#मुक्तक
बिचारेर बाेलाैं, शब्दकाे अर्थ
नचिराेस् मुटु, नलागाेस् अनर्थ ।
छेस्कासरी, चस्स नघाेची बाेल्दा
ताेडिन्न नाता, यही हाे यथार्थ ।।
                        ✍️ मुरामि

>>>>>>>>>#मुक्तक<<<<<<<<<
कुम्भकर्णे निन्द्रामा, सुतेको छ सरकार
बहिरो छ गुनासो क्यै, सुन्दैन सरकार
बगरे सामु खसीले रुनु, ब्यर्थै भए झैं
जनताको दु:ख-पीडा, बुझ्दैन सरकार !
>>>>>>>>>>>>>>>>> ✍️ मुरामि
#मुक्तक
गाेजीबाट उम्मेदवार झिक्दा, ताली पड्काए
'पक्कै जितिन्छ हजुर', भनेर नेता भड्काए
दास जस्तै भएकाले, कार्यकर्ता उसबेला
'ताेरीकाे फूल देख्नेगरी', जनताले चड्काए ।
~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
पद र पैसा हुनुपर्छ, यहाँ सबै हाईहाई गर्छन्
सालीपट्टिका सात र भिनाजुका नाै पुस्ता नाता पर्छन्
आफन्तै किन नहाेस्, यदि केही दिन नसक्ने छ भने,
'गाेरु बेचेको साइनो' हाे भन्दै, आफ्नाले नै आँखा तर्छन् !!
~~~~~~~~~~~~~~~ ✍️ मुरामि

भोट दिनु अघि, मनमा धेरै गुन्नु छ 

मनले के भन्छ, शान्त भएर सुन्नु छ 

असल र योग्य, भेटिएनन् भनेपनि 

नराम्रा मध्येबाटै, राम्रालाई चुन्नु छ !!
मुरामि

#मुक्तक
स्वार्थ र धनकाे आसक्तिले गर्दा, मान्छेकाे मतिभ्रष्ट हुँदाे रैछ
एकैपेटका सन्तान उपर पनि, भेदभाव प्रष्ट हुँदाे रैछ
धर्म-कर्म र ममता समेत, देखावटी हुने यस जमानामा
पीडा भाेग्नेकाे त कुरै छाेडाैं, जब देख्नेलाई नै कष्ट हुँदाे रैछ !!
------------------------------------ ✍️ मुरामि

#मुक्तक
देशको राजनीतिक बृत्तमा संधै, बुढा नेताकै प्रभाव छ
परिवर्तनका लागि अघि सर्न, युवालाई ठूलै दबाब छ
भन्नेले जेसुकै भन्दै गरुन्, तर सत्यतथ्य भने यही नै हाे
हाम्रा युवामा पनि आत्मविश्वास र आँटकाे संधै अभाव छ !!
✍️ मुरामि

#मुक्तक
झाेला बाेकेपछि, आँखामा पनि पट्टी बाँध्दा रै'छन्
आफ्नाले गलतै गर्दा पनि, ठीक हाे भन्दा रै'छन्
स्वाभिमान र विवेकलाई, खाेलामा बगाएर
नेताका मलद्वारलाई, हरिद्वार ठान्दा रै'छन् !!
~~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#आमा:
धर्तीकी हुन् प्रतिमूर्ति, सहन्छिन् जे परे पनि ।
वृक्ष हुन् माग्दिनन् केही, दिन्छिन् नै जहिले पनि ।।
दयालु, स्नेहकी खानी, अरु के दिऊँ उपमा ?
साक्षातै देवी हुन् आमा, मनुष्यकाे स्वरुपमा ।।
                                           ✍️ મુરામિ

#मुक्तक
गजबको छ, राजनीतिकर्मीहरुकाे जात
फेसबुकमा देखाउँछन्, सहयोग र साथ
भित्र भित्रै छाेड्दैनन्, खुराफात गर्न कहिल्यै
चुनावकाे दिनमा, #ढाड_छाप र #अन्तर्घात !!
~~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
टिकट सजिलै भेट्याै, भाेट पाउन गाह्रो छ
रिसाएका छन् मतदाता, फकाउन गाह्रो छ
हावा गफ दिँदै नआऊ, पत्याउन्नन् कसैले
आश्वासनकाे #घाँस हालि, अब जित्न गाह्रो छ !
~~~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
काेही निहुरिएर ढाेग्दैछन्
काेही आफ्नै टाउको ठाेक्दैछन्
यी सबै रमिता देख्नेहरु
लाज मानेर जिब्रो टाेक्दैछन् !
                        ✍️ मुरामि

#मुक्तक
कतै छाेरा-छाेरी, कतै भाइ-बुहारीलाई टिकट बाँडिदैंछन् !
नामै नसुनिएकाे मान्छेको, याेगदानकाे प्रशस्ति पढिंदैछन् !
चुनाव जितिन्छ र नेताका वरिपरि घुम्नेका भाेटले मात्रै ?
इमान्दार छाेडी आफन्त छानेकाे देख्दा,
मतदाता भाँडिदैछन् !!
~~~~~~~~~~~~ ✍️ मुरामि

#मुक्तक
प्रदेश घाँडाे भयाे, तुरुन्तै हटाओैँ
स्थानीय तह गाभेर, आधा घटाओैं
दह्रो पार्ने हाे भने, राष्ट्रकाे ढुकुटी
महंगो गाडी-सुबिधा, आजै कटाओैं !
---------------------------- ✍️ मुरामि

#मुक्तक
तीसलाखकाे गाडीले चल्थ्याे, उ तीनकराेडकाे ताक्छ
आफूलाई मात्रै नपुगी, आसेपासे सबैलाई माग्छ
यस्ताहरुबाटै, मितव्ययिताका कुरा सुन्नुपर्दा त
फुट्नेगरि यिनका गाला, चड्काउनै पर्छ भन्ने लाग्छ !
------------------------------------ ✍️ मुरामि
#मुक्तक
'संघियता' बन्याे, कार्यकर्ता थन्क्याउने भाँडाे दिनानुदिन बन्दैछ याे, देशका लागि घाँडाे
जति राख्यो उति नै, कंगाल हुँदै जान्छ देश
ढिलो नगरी अब यस्लाई, फाल्नै पर्छ चाँडो !
------------------------------------- ✍️ मुरामि

#मुक्तक
मनमा गुम्सिएका पीडा, हेर्दा कतै देखिएन
लेखेर नै सुनाऊँ भने, सबै लेख्न सकिएन
गरीबीका सिरेटाेले, ठाेकिरहन्छन् काँप्ने गरि
चिरिएका हत्केलाले, अभावहरु छेकिएन !
----------------------------------- ✍️ मुरामि

#मुक्तक
आ-आफ्नो सिद्धान्त र निष्ठामा, संधै अविचलित अड्नुपर्छ
देश बिकासकाे सवालमा भने, मिलेरै अघि बढ्नुपर्छ
निर्वाचन त पार्टीको, हैसियत जाँच्ने उपयुुक्त कसी हाे
त्यसैले मिलेर हैन, याे त सबैले एक्लाएक्लै लड्नुपर्छ !
-------------------------------------- ✍️ मुरामि

#मुक्तक
मान्छेले मान्छेलाई, मान्छे गन्दैन
दु:खमा छस् कि तँ, कहिल्यै भन्दैन
'अरु सबै कमिलो, मै मात्र ठूलो'
याे भावनाले मान्छे, मान्छे बन्दैन ।
----------------------- ✍️ मुरामि

#मुक्तक
उपचारकाे अभावमा, जनताहरु मर्दैछन्
काम विहीन युवाहरु, विदेशतिर सर्दैछन्
अस्पताल र उद्योगहरु, खाेल्नुपर्ने पैसाले
नेताहरु भने देशभरि, 'भ्यू-टावर' भर्दैछन् !!
                                   ✍️ मुरामि

#मुक्तक
चिप्लो छ बाेली, मन भने जाली
सिन्काे नभाँचे नि, खाेज्दैछाै तालि
मान्छेको जातकाे, इज्जतै फाल्ने
नेताहरु हाे, पख यसपालि !!
-------------------- ✍️ मुरामि

#मुक्तक
सुन्दरता आँखामा हैन, मान्छेको मनमा हुने गर्छ
त्यसैले, कसैलाई कालाे, कसैलाई गाेराे मनपर्छ
मनले देखेको जस्तो, आँखाले देखेको कहाँ हुन्छ र ?
झट्ट हेर्दा राम्रो देखिने फूल, क्षण मै ओइलि झर्छ !
----------------------------------- ✍️ मुरामि

#मुक्तक
लुटेर हैन पाैरखले हातमुख जाेर्नुपर्छ
हत्केलामा भाग्यका रेखा अब आफें काेर्नुपर्छ
अरुकै भरमा मात्र संधै बाँचिरहने कति
समस्याका चट्टाने पहाड आफैंले फाेर्नुपर्छ ।
--------------------------------------- ✍️ मुरामि

#मुक्तक
म पर्खिरहन्थें, तिमी तर्किरहन्थ्यौ
कतिबेला संगैं भएछौं, पत्तै भएन,
न त तिमी निदायौ, न म नै निदाएंँ
कतिबेला रात बितेछ, पत्तै भएन !
                              ✍️ मुरामि

#मुक्तक
कहिले उखु झैं गरी, पेलिनु पेलियाे
कहिले माेजमज्जाले, थलिनु थलियाे
खम्बा झैं भएछ, अब त जिन्दगी पनि
संधै समस्याका तारहरुले जेलियाे !
                                ✍️ मुरामि

#मुक्तक
कसै-कसैलाई समयसंगै भुलिन्छ,
कसैसँग रहँदा समय नै भुलिन्छ,
निकै नै फरक पार्दाे रैछ समयले
कैले काेपिला त कैले फूल झैं फुलिन्छ !
                                     ✍️ मुरामि

#मुक्तक
देश चलाउने चालक उतै,
हरेक नेताका पालक उतै,
टिभी पाे यता देखिन्छ हजुर !
रिमाेट थिच्ने सञ्चालक उतै । (साहित्यपाेष्टमा प्रकाशित)
                        ✍️ मुरामि

#मुक्तक
लज्जा बिहिनताले हद नाघ्दैछ,
मानिसमा नाङ्गिने भाेक जाग्दैछ,
फेसनले त गर्नु गर्‍यो हजुर
बिचराे शरीर कपडा माग्दैछ !
                        ✍️ मुरामि

#मुक्तक
आ-आफ्नै स्वार्थ, आ-आफ्नै दाउ
मै हुँ भनेर, खाेज्दैछन् भाउ
बाँदरले घाउ, काेट्ट्याए जस्तै
गिजाेल्दा धेरै, बल्झियाे घाउ !
                         ✍️ मुरामि

#मुक्तक
गुन्द्रुक खाँदे झैं खाँदियाे कहिले

सागकाे मुठा झैँ बाँधियाे कहिले
खै कस्ताे-कस्ताे भाे जिन्दगी हजुर
भाेगटे साँधे झैं साँधियाे कहिले !
                            ✍️ मुरामि

#मुक्तक
आफ्नाले नै अरुसंग मुटु साटेपछि,
बाहिर चाटे जस्ताे गर्दै, भित्र काटेपछि,

जतिसुकै गरेपनि मीठा, चिल्ला कुरा,
जाेडिन्छ र कहाँ हजुर, चित्त फाटेपछि !!
                                     ✍️ मुरामि

#मुक्तक
उता साेच्छन् रे सयबर्ष पछिका लागि
यता साेचिन्छ आउने चुनावका लागि
त्यसैले त उनीहरू दिने ठाउँमा छन्
हामी भने लाजै नमानी खाँदैछाैं मागी ।
                                ✍️ मुरामि

#मुक्तक
मन भित्रका कलुषित भावना, अब सबै मेट्नु पर्छ
सहमतिकाे मिलन बिन्दु, तिमी र मैले भेट्नु पर्छ
दुई दिनकाे जिन्दगीमा, कति गरिरहने झर्काे फर्काे
आपसी बेमेल हटाएर प्रेमको सारङ्गी रेट्नु पर्छ !
    ( प्रहरी पाैष-माघ २०८० मा प्रकाशित)                            ✍️ मुरामि

#मुक्तक
हेर्दा आकृति उस्तै छ तापनि, मान्छे भेटिन्छन् कस्ता
आँखामै राखुँ जस्ता काेही, काेही देख्दैमा काटुँजस्ता
चित्त किन दुखाउने कसैकाे, याे छाेटाे जिन्दगीमा
खाली हातै जाने त हाे नि, अन्त्यमा चितामाथि बस्दा !
                               ✍️ मुरामि

#मुक्तक
'पराई भो बरु आफ्नो, आफन्त शत्रु तुल्य भो',
यस्तो भयो भने सम्झ, आफ्नाको शून्य मूल्य भो ।
कुटोस् नै बरु शत्रुले, दुःख लाग्दैन क्यै रती,
आफ्नाका शब्दले घाउ, पार्दछ पोल्छ भत्भती ।।
✍️ मुरामि

लठ्ठिए नेता सत्ताको र्‍यालमा
देश चलेकाे छ ख्याल-ख्यालमा
काेठा काेठामा भरिएछन् मन्त्री
मन्त्रालय बने झ्याल-झ्यालमा !
------------------------✍️ मुरामि

#मुक्तक
नेताले मात्रै देश बिगारे, याे तर्क वाहियात छ
देश बिग्रिनुमा त, हामी जनताको पनि हात छ
नपत्याए हेर्नुस्, कति अण्टसण्ट बाेल्छन् नेताहरु
तैपनि ताली पड्काउनेकाे, यहाँ ठूलै जमात छ !

(प्रहरीमा प्रकाशित
><><><><><><><><><>< ✍️ मुरामि

#पीर
जता हेर्‍याे अस्तव्यस्त, मन साह्रै अधिर भाे
महंगीले अाकाश छुंदैछ, भाेकै मरिने पीर भाे
बाँच्नु भन्दा पनि मर्न, हतारो लाग्दैछ हिजोआज
ढिलो गर्दा भाउ बढ्ला कि 'कात्राेकाे' भन्ने पीर भाे !!

(प्रहरी पाैष-माघ २०८० मा प्रकाशित)                                          ✍️ मुरामि
#मुक्तक
आँखाबाट भित्र पसी, मुटुभरी छाउने गर्छेउ
हरेक रात सपना बन्दै, निन्द्रा बिथोल्न आउने गर्छेउ
एकनासले हेरि रहन्छ्याै, आँखा जुधे पछि सर्छेउ
कहाँ भेटुँ झैँ हुँदाे हाे नदेख्दा भने, सामु पर्दा किन आँखा तर्छेउ !
✍️ मुरामि

#मुक्तक
कहिलेकाहीँ अनायासै मात्तिन्छ मन
बिनासित्ति कहिलेकाहीँ आत्तिन्छ मन
आफ्नाहरुले गर्ने ब्यवहार देखेर
कहिलेकाहीँ त्यसै त्यसै च्यात्तिन्छ मन !!
                              ✍️ मुरामि

#मुक्तक
    टेक्ने खुट्टा दह्रो छैन, म्याराथनकाे फूर्ति गर्छन्
    आकाशका तारा झार्ने, झुठै झुठका खेती गर्छन्
    ल्याकत छैन जस्काे त, आफ्नै घरकाे समस्या मिलाउने
    हरे ! यस्ता नालायकहरु नै, हामीमाथि शासन गर्छन् !!
    -------------------------------- ✍️ मुरामि

#मुक्तक
मान्छेकाे भीडमा बिशेष मान्छे देखिने रहर हुँदाे रहेछ,
अरुभन्दा म ठूलाे हुँ भनि गमक्क पर्नु पनि पर्दाे रहेछ,
यी सबै त आ-आफ्नै स्वभाव हाेलान् तर नबुझेको कुराे नि हजुर
सलामी खाँदा चाँही पिर्कै माथि किन चढ्नु पर्दाे रहेछ !! 😀

#मुक्तक
गासिन्छन् फूलहरु, माला बन्छन्
साह्रै सुन्दर छ, सबैले भन्छन् !
माला बन्नुमा, जस्काे थियो हात
बिचराे धागाेलाई, कस्ले गन्छन् !!
                         ✍️ मुरामि                       


#मुक्तक

बन्नुपर्थ्यो न्यायमूर्ति, तर फैसलाकर्ता बने पार्टीप्रति बफादार, फगत कार्यकर्ता बने धुरुधुरु रुँदैछिन् त्यसैले न्यायकी देवी अाज, 

अाफ्ना सन्तानहरु नै, अामाका चीरहर्ता बने ।। 

मुरामि


#मुक्तक

पार्टीका र्‍याली र आमसभाबाट, काेराेना सर्दै सर्दैन,

ठेला, फूटपाथ ब्यापारबाट सर्छ, भैगाे बेच्नै पर्दैन !

निर्धालाई एेन ठूलालाई चैन, यस्तै छ हजुर यहाँ

अरवपती चन्दा भेट्छ, गरीवका लागि सुकाे झर्दैन !!

                                            ✍️ मुरामि

#मुक्तक

तिमीमा भए झैं सुगन्ध, गुलाफमा भेटेको छैन

तिम्रो बाेली झैं मीठो गीत, कहीँ कतै सुनेकाे छैन

मदिरा त मैले पनि पिएकै हुँ, बजारमा भेटे जति

तर, जुन नशा तिम्रो अाँखामा छ, त्याे कुनै रक्सीमा देखेको छैन !



गर्ने उनै हुन्, गराउने उनै हुन्

बनाउने उनै हुन्, बिगार्ने उनै हुन्

आफ्नै स्वास पनि, छैन हाम्रो अधिनमा

सुताउने उनै हुन, जगाउने उनै हुन् !



बलवान् रहेछ समय, 

शक्तिशाली मान्छे लाचार भाे !

मान्छे थुनियाे घरभित्रै, 

एक्लै बस्नु नै उपचार भाे !!

                       ✍️ मुरामि


#मुक्तक

मान्छेकाे भीडमा बिशेष मान्छे देखिने रहर हुँदाे रहेछ,

अरुभन्दा म ठूलाे हुँ भनि गमक्क पर्नु पनि पर्दाे रहेछ,

यी सबै त आ-आफ्नै स्वभाव हाेलान् तर नबुझेको कुराे नि हजुर

सलामी खाँदा चाँही पिर्कै माथि किन चढ्नु पर्दाे रहेछ !! 😀


जमघट नगराैं भन्नेहरु नै, भीडभाड गर्न अघि सर्दैछन् !

हजाराैं मान्छे जम्मा गर्दै, सभा-समारोह गर्दैछन् !!

काेराेना सर्ने मुख्य थलाे त विद्यालयमात्रै रै'छ हजुर !!!

भाेज, बैठक, गाेष्ठि, भेला चाँहि मज्जासँग चल्दैछन् !!!!

                                           ✍️ मुरामि


बढ्दैछ फेरि काेभिड, मान्छेहरु धमाधम मर्दैछन् 

सामान्य सावधानी नअपनाउँदा, मान्छे फन्दामा पर्दैछन् 

नबुझ्ने त नबुझ्ने नै भए, विडम्बना त याे पाे छ हजुर 

अरुलाई सिकाउन पर्नेहरु नै, जानाजान भीडभाड गर्दैछन् !!

✍️ मुरामि


मन भित्रका कलुषित भावना, अब सबै मेट्नु पर्छ

सहमतिकाे मिलन बिन्दु, तिमी र मैले भेट्नु पर्छ

दुई दिनकाे जिन्दगीमा, कति गरिरहने झर्काे फर्काे

अापसी बेमेल हटाएर प्रेमको सारङ्गी रेट्नु पर्छ !

प्रहरी पाैष-माघ २०८० मा प्रकाशित 

                                           ✍️ मुरामि


नेताले मात्रै देश बिगारे, याे तर्क वाहियात छ

नेता बिग्रिनुमा त, हामी जनताको पनि हात छ 

नपत्याए हेर्नुस्, कति अण्टसण्ट बाेल्छन् नेताहरु

तैपनि ताली पड्काउनेकाे, यहाँ ठूलै जमात छ !

><><><><><><><><><>< ✍️ मुरामि



युद्धकै जस्तो अवस्था देशमा देखिंदैछ

लाग्दैछ, ईतिहास रगतले लेखिंदैछ

पञ्चायत हट्यो भन्थे तीसबर्ष पहिले

अहिले देशभर पञ्च र्‍याली देखिंदैछ !


#शुभ_प्रभात🙏

कति जित्न बाँकी छ, कति हार्न बाँकी छ

कतै बिग्रेला जिन्दगी, सपार्न बाँकी छ

नराेकिई सुरु गराैं, अाजै लक्ष्यकाे यात्रा

याे त पहिलाे पाना हाे, किताब पढ्नै बाँकी छ !


माैसम चिसिएपनि, देशकाे राजनीति तात्तिएकाे छ

बाैलाएकै त किन भनाैं र, नेतृत्वबर्ग मात्तिएकाे छ

जनता कठ्याङ्ग्रिएकाछन्, के मतलब उनीहरुलाई

पद र शक्ति गुम्ने डरले नेताका मन अात्तिएकाे छ !!


सेताे हात्ती झैँ प्रदेश संरचना सबै खारेज हुनुपर्छ, 

स्थानीय सरकार बलियो पारी देश विकास गर्नुपर्छ,

नेतापत्नी-अासेपासे राख्ने समानुपातिकता हटाएर

जाे बढ्छ अघि अब सबै मिली उसैलाई जिताउनु पर्छ !!


जनता रैती अाफू मालिक झैँ ठानेर शासकहरु संधै मस्ती गर्ने,

सम्बृद्धि तिर जानुपर्ने मेराे देश दिनानुदिन रसातलमा झर्ने !

याैटै घरका दाजुभाई नमिलेर संधै काटमार गर्ने उनीहरू 

पार्टिको कलह चाँही अरबाैं खर्चेर जनताले मिलाइदिनु पर्ने !!


हजारौं खर्चेर बत्तीले घर उज्यालो पार्दैछन् कतै,

हप्तादिनकाे भुटुन जाेगाएर दीयाे बाल्दैछन् कतै ।

हुनेखाने र हुँदाखाने दुबैकाेमा जाऊ लक्ष्मीमाता

सुख, सम्बृद्धि र खुशीयाली देख्न पाईयाेस् जताततै ।।

                                          ✍️ मुरामि

#तिहार_मंगलमय_बनाेस्





Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...