लघुकथा पाँच रुपैयाँ
#लघुकथा
"पाँच रुपैयाँ"
काम बिशेषले बस चढेर जाँदै थिएँ । म संगैकाे सिटमा उमेरले जेष्ठ नागरिक देखिने कपाल सेतै फुलेका एकजना भलादमी पुरुष हुनुहुन्थ्यो । अघिल्लो बिसाैनीमा उहांलाई ओर्लनु पर्ने रहेछ । उहाँले खल्तीबाट बीस रुपैयाँको नाेट झिकेर खलासीलाई दिंदै भन्नुभयाे "म लाहुरे चाेकबाट आएकाे, अगाडीकाे चाेकमा बस राेकिदेऊ है बाबु ।"
खलासी भाइले "भाडा पच्चीस रुपैयाँ हाे, पाँच रुपैयाँ पुगेन दिनुस्" भने । उहाँले नम्र स्वरमा "बाबु, म संधै बसमा आउने-जाने गर्छु, यहाँ सम्मकाे भाडा यति नै हाे भन्ने मलाई थाहा छ" भन्नुभयो तर खलासीले मानेनन् । "पाँच रुपैयाँ दिनैपर्ने" जिद्दी गरि नै रहे ।
खलासीले नमानेपछि, उहाँले खल्तीबाट एउटा कार्ड निकालेर खलासीलाई देखाउँदै भन्नुभयो "सकभर याे देखाउन त मन थिएन बाबु, तर जति भन्दा पनि मानेनाैं ! याे मेराे जेष्ठ नागरिक परिचयपत्र हाे । यदि, पच्चीस रुपैयाँ नै भाडा हाे भन्छाै भने, मैले पाउने छुट वापतकाे रकम फिर्ता देऊ लाै अब !" खलासीभाईले अमिलो अनुहार पार्दै पाँच रुपैयाँ फिर्ता दिए ।
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं महानगरपालिका ७)
Comments
Post a Comment