लघुकथा : छट्पटी

✍️ मुरारीराज मिश्र

अरुणजी हेर्दा खाईलाग्दाे युवा । पेशाले शिक्षक । एक दशक भन्दा अघि देखि उहाँकाे परिवार हामीकहाँ बस्दै आएको थियोे । यतिलामो समय एकैसाथ रहँदा उहाँमा कुनै स्वास्थ्य समस्या देखिएकाे थाहा थिएन । एकदिन रातकाे समय पेटकाे समस्याका कारणले उहाँ छट्पटीन थाल्नुभयाे । उहाँको छट्पटाइ देख्दा गम्भीर प्रकृतिको लाग्थ्यो । हामी सबै आत्तियाैं । तत्कालै ट्याक्सी खाेजेर उहाँको दाइ, श्रीमती र म सहित शिक्षण अस्पताल पुग्याैं ।


अस्पतालकाे आकस्मिक कक्षमा कागजी प्रक्रिया पूरा गरे पश्चात् उपचार सुरु भयाे । स्लाइन पानी चढाइए । विभिन्न परीक्षण गरिन थाले । करीब दुई घण्टा बित्याे । दुखाइ कम हुने ओैषधीका कारणले बिरामीकाे पीडा कम भएको देखिन्थ्योे । डाक्टरहरु बिरामीकाे रिपोर्ट हेर्दै के के सल्लाह गर्ने गर्थे । तर हामीले साेध्दा प्रष्ट केही नभनी उपचार हुँदैछ मात्र भन्थे । सात-आठजना डाक्टरहरुकाे निरन्तरकाे छलफल देख्दा, कुनै निकै नै गम्भीर राेगकाे आशंकाले हामीहरूकाे छट्पटी भने प्रतिक्षण बढ्दै थियाे । यसैबीच डाक्टरले हामीलाई बाेलाए । एउटा कागज हातमा दिंदै बिरामीलाई तुरुन्त गंगालाल अस्पताल लैजानु भने । हामीले पेटको दुखाइ भएर ल्याएको बिरामीलाई मुटुराेग अस्पतालमा पठाउनुकाे कारण साेध्याैं, उनीहरूले बताएनन् । मात्रै भनेजस्तो गर्नु भने । विकल्प थिएन त्यसैले अस्पतालकै एम्बुलेन्समा बिरामीलाई गंगालाल अस्पताल पुर्‍यायाैं । 


शिक्षण अस्पतालले दिएको कागज हेर्नासाथ त्यहाँका डाक्टरले अन्य थप डाक्टर बाेलाए । हामीलाई बाहिरै बस्न भनेर बिरामीलाई भित्र लगे । डाक्टरहरुकाे आउनेजाने क्रम थपिदैं गयाे । हामी झन् झन् आत्तियाैं । झण्डै एकघण्टाकाे अन्याैलता पछि हामीलाई डाक्टरले बाेलाए । हतारहतार भित्र पस्याैं । हाम्रो अवस्था देखेर हाेला डाक्टरले भूमिका बिना नै भने -  `सामान्यतया मानिसको मुटु देब्रेतिर हुन्छ भने हजारौंमध्ये कसैकसैकाे मुटु दाहिनेतिर पनि हुन्छ । तर त्यसले व्यक्तिको स्वास्थ्य र जीवनयापनमा कुनै फरक पार्दैन र उहाँकाे मुटु पनि दाहिनेतिर छ । अब कतै उपचारको क्रममा जानुपर्दा त्यहाँ यसबारेमा जानकारी दिनुहाेला, उपचारमा सहज हुन्छ । उहाँमा खासै समस्या छैन, ग्याष्ट्रिक बढेकाे रहेछ । अब ठीक छ, घर लैजान सक्नुहुन्छ ।´ हामीले बल्ल ढुक्ककाे स्वास फेर्‍याैं ।

(उमामहेश्वर मार्ग, कामपा-७, कुमारीगाल)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...