लघुकथा: "दिव्य दृष्टि"
✍️ मुरारीराज मिश्र,
"मैले पनि मरणाेपरान्त आँखा दान गरेर आएँ नि दाइ ।" रमेशले प्रफुल्ल मुद्रामा दाजु दिनेशलाई सुनायाे ।
"पहिले-पहिले मैले यसबारेमा बताउँदा, कानमा बतास लगाएकाे थिईनस् त ! अहिले कहाँबाट बुद्धि पलायो तेराे ?" दिनेशले प्रश्न गर्यो ।
"केही महिना अघिकाे एउटा दुर्घटनामा मेराे साथीकाे नेत्रज्योति गुमेकाे थियोे । आँखा दान गरेकाे कुनै दानीकाे कृपाले, शल्यक्रियाबाट उसले पुनः संसार देख्ने अवसर पायो । म यसैबाट प्रभावित भएँ ।" रमेशले जवाफ दियाे ।
नजिकै बसेकी उनीहरूकी बृद्ध आमाले, दाजुभाइकाे कुरा सुनेर भनिन् - "मृत्युुपछि शरीरकाे कुनै अङ्ग छुट्याएर जलाएमा, अर्को जन्ममा त्यो मान्छे छुट्याएको अङ्गविना जन्मन्छ रे ! याे कुरा पण्डित बुद्धिप्रसादले प्रवचनमा भन्नुभएको थियोे बाबु । त्यसैले आँखा दान गरेकाे ठीक लागेन है मलाई त !"
आमाकाे उक्त भनाइमा असहमति जनाउँदै दिनेशले भन्याे - "यस्तो हैन आमा, आँखा दान गर्ने भनेको पुरै आँखाको डल्लो झिक्ने नभई आँखामा रहेकाे पातलो जाली मात्रै निकालिने हाे । एकजना मान्छेकाे आँखा दानबाट दुईजना दृष्टिविहीनले संसार देख्न पाउँछन् । मरेपछि पनि अरुको आँखाबाट संसार हेर्न पाउनु त आफैं बाँचेसरह हाे नि आमा !"
दाजुको कुरामा रमेशले थप्याे - "मरेपछि पनि दुईजनालाई संसार देखाउने ब्यक्ति, अर्को जन्ममा नेत्रहीन हैन, बरु दिव्यदृष्टि लिएर पाे जन्मन्छ त ! किनकि, याे सबैभन्दा ठूलाे पुण्यकार्य हाे । कि कसाे आमा !"
"ए, कुरा त यस्तो पाे रहेछ ! पण्डितका कुरा सुनेर झण्डै म पुण्यकार्यबाट विमुख भएकाे ! लाै मलाई पनि आँखा दान गर्ने फाराम ल्याईदेओ त ।" आमाले हाँस्दै भनिन् ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
लघुकथा संसार, अंक ३ मा प्रकाशित
Comments
Post a Comment