लघुकथा: घडेरी
✍️ मुरारीराज मिश्र
"मुद्दा मामिला नपरेको, शान्त बाताबरणमा एउटा राम्रो घडेरी चाहिएको थियोे, बाबुकाे नजरमा कतै हाेला त त्यस्तो जग्गा ?" बृद्ध रमानाथले पुरानो साथीकाे छाेरा जग्गा काराेवारी खगेन्द्रलाई साेधे ।
"हैन अंकल, यत्रो चारतले घर छँदाछँदै किन चाहियो तपाईंलाई अर्को घडेरी ?" खगेन्द्रले प्रश्न तेर्सायाे ।
"एउटा सानो भूईंतले घर बनाएर बस्नुपर्यो क्या याे घर बेचेर ! छाेराछाेरी विदेशबाट नफर्कने भन्छन् । हामी बुढाबुढीलाई किन चाहियो यति ठूलो घर अब" रमानाथले जवाफ फर्काए ।
"किन नहुनु, छ नि अंकल ! एकदुई दिन म अलिक ब्यस्त छु । त्यसपछि माैका मिलाएर तपाईंलाई जग्गा देखाउँला । कुरा मिले चाँडै पास गर्नुपर्छ" भन्दै खगेन्द्र हिंड्याे ।
दुईदिन पछि, सिमसिम पानी परेकाे बेला खगेन्द्र गाडी लिएर आयाे । जग्गामा पुग्दा पानी परिरहेकै थियोे । खगेन्द्रले गाडीको ढाेका खाेलेर ठूलो छाता ओढाउँदै रमानाथलाई जग्गामा पुर्यायाे । पानी परेको कारण वरिपरि घुम्न नसकिएपनि हेर्दा राम्रो बाताबरण र चारपाटे मिलेको जग्गा देखेर घडेरीका लागि पाँचआना जग्गा किन्ने निधाेमा पुगे रामनाथ । उनले याे खबर बिदेशमा रहेका छाेराछाेरीलाई सुनाए । जग्गा देखाउने मान्छेले आफू भिजेर पनि मलाई छाता ओेढायाे भन्दै खगेन्द्रकाे मायालु ब्यवहारकाे बारेमा पनि बताए ।
केही दिनमा जग्गा पास भयाे । घर बनाउने क्रममा नक्सा बनाउन इन्जिनियरलाई बाेलाए । नक्सा बनाएदेखि घर नबनेसम्मकाे पारिश्रमिक तय भयाे । दुबैजना लालपुर्जा र नापीनक्सा लिएर घडेरीमा पुगे । जग्गा किनेपछि पहिलोपटक जग्गामा पुगेका रमानाथले इन्जिनियरलाई जग्गा देखाउन ओैंला तेर्साएका मात्र थिए, उनी एकाएक रन्थन्निएर थचक्क भुइँमा बसे । जग्गा देखाउँदाकाे समय र त्यसबेला खगेन्द्रले ओढाएकाे ठूलो छाताकाे रहस्य बल्ल खुल्यो । जग्गाको माथिबाट बिजुलीको दाेहाेराे हाईटेन्सन लाइन पाे लगिएको रहेछ ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७)
Comments
Post a Comment