लघुकथा : नाम
✍️मुरारीराज मिश्र,
''सपिङ्ग मलकाे मालिककाे नाम 'गरीबदास' छ, त्यहाँको चाैकिदार चाँही 'धनबहादुर' रे ! कालाे अक्षर भैंसी बराबर ठान्ने राजनीतिक नेतृ 'सरस्वती' नामकी छिन् ! अनि एकबित्ता जग्गाको लागि दाइमाथि मुद्दा हाल्नेकाे नाम भने 'भरत' हुन्छ । नाम भनेको काम र व्यवहार अनुसारको भए पाे राम्रो हुन्छ त !" छिमेकी गाउँमा भएकाे भेलामा समाजसेवी बुढा'बाले भाषण छाँट्दै भने ।
''आफ्नाे नामकाे इज्जत त हामीले पनि राख्नुपर्छ नि ! मलाई नै हेर्नुस् न, मेराे नाम 'दयानाथ' हाे । म पुरै धार्मिक छु, कसैको दुख देख्न सक्दिन । सबैप्रति सहयोगी भावना राखेर मैले आफ्नो नामको मर्यादा राखेको छु ।" उनले थपे ।
''हैन, यी बुढा काे रहेछन् ? के तपाईं चिन्नुहुन्छ !!" भेलामा सहभागी एकजनाले संगैकाे मान्छेसंग जिज्ञासा राख्याे ।
"किन नचिन्नु, म उहाँकै गाउँमा बस्छु । साेझा गाउँलेलाई ऋण दिएर चर्को ब्याज असुल्ने पुराना जमिन्दार हुन् । बुढाकाे छाेरा 'शान्तप्रसाद' नामुद जँड्याहा छ, जाे संधै मात्तिएर सबैसँग झगडा गर्दै हिंड्छ । उनका नाति 'पञ्चबुद्ध' चाहिँ मासु व्यवसायी हाे, दिनकै चारपाँचवटा खसी काटेर बेच्छ ।" उसले मुस्काउँदै जबाफ फर्कायाे ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment