लघुकथा : बुझक्की भाइ
✍️ मुरारीराज मिश्र,
"दाइसँग एउटा सल्लाह गर्नुथ्याे !" जर्मनबाट भाइ राजनले मेसेञ्जरमा भन्याे ।
खाना खाइवरी सुत्ने तरखरमा रहेकाे सुन्दर, भाइकाे कुराले चनाखो भयाे । "के कुरा हाे भन् न भाइ ?" उसले कुरा अघि बढायाे ।
"हामी यतै सेटल भईसक्याैं । छाेरीहरु त झन् जन्मजात यताकै नागरिक । अब शायद नेपाल फर्कन्नाैं हाेला हामी ! यदि आईएछ भने पनि, काठमाडौंमा आधा राेपनी जग्गा सहितको घर किनिएकै छ !" राजनले भन्दै गयाे ।
"कुराे के हाे प्रष्ट भन् न ।" सुन्दरले स्पस्ट हुन चाह्याे ।
"गाउँमा हाम्रो पुर्ख्याैली जग्गा पनि जम्मा पाँचआना मात्रै हाे । भाग लगाउने हाे भने तीन भाइलाई घडेरी पनि पुग्दैन । तपाईंहरु गाउँमा जमिन खाेस्रेर खाईरहनु भएको छ । मलाई गाउँको जग्गाकाे कामै छैन । त्यो जग्गा संधै तपाईंहरुसँगै रहाेस् भन्ने मेराे चाहना छ । त्यसैले यताबाट मैले अंश छाेडेकाे कागज पठाईदिन चाहेको ...।" भाइले भन्याे ।
सुन्दरलाई लाग्याे "मेरो भाइ साँच्चिकै बुझक्की भएछ !" आफूमाथि गरेको गुन बिर्सेकाे रहेनछ भाइले भन्ने साेचेर उसको मनमा अनायास भातृप्रेम उर्लिएर आयाे । उ भक्कानियाे ।
"अनि दाइ, बुहारीकाे खाता नम्बर पठाएको छु, मेराे भागकाे जग्गाको कति आउँछ त्याे रकम खातामा पठाईदिनु हाेला है !" उताबाट भाइ भन्दै थियाे ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Madhuparka ma preshit
Comments
Post a Comment