नियात्रा : पुर्ख्याैली डाँडामा एकदिन

       ✍️ मुरारीराज मिश्र,

भतिज सचिनराज मिश्र बुहारी र छाेरीका साथ फिनल्यान्डबाट बिदामा नेपाल आएको बेला थियोे । यसै मेसाेमा तीन दाजुभाइका परिवार मिलेर पारिवारिक पिकनिक जाने सल्लाह भयाे । 

जाने त जाने तर कहाँ ? कसैले गाेदावरी सुझाए त कसैले घ्याम्पेडाँडा । 

"नजिकैको तर सकभर नगएको ठाउँमा जाऊँ न !" मैले प्रस्ताव गरें । 

"उसाे भए नुवाकोटमा पर्ने कपिलेश्वर महादेव जाने त ?" दाजु नारायणराज मिश्रबाट सुझाव आयाे ।

एक त पुर्ख्याैली थलाे, उसैमाथि यसअघि पटकपटक जान चाहेर पनि अनुकुलता नमिलेकाे ठाउँ थियोे, नुवाकोटको कविलास र कपिलेश्वर मन्दिर । फेरि, काठमाडौंबाट करिब ४७ कि.मि. काे दुरीमा भएकाले धेरै टाढा पनि थिएन । त्यसैले दाजुकाे सुझावलाई नकार्ने कुरै थिएन, सर्वसम्मत भयो । जाने दिन २०८० फागुन २६ गते शनिबारलाई ताेकियाे । 

बच्चाहरु सहित हामी १६ जना भयाैं जाने ।  पूर्वपरिचित चालक प्रकाश अधिकारी भाइलाई फाेन गरेर माइक्रोबस रिजर्भ गर्ने काम भयो । 

एकदिने भ्रमणमा जाँदा हामी सामान्यतया घरबाटै खाना-पानीको व्यवस्था गरेर जान्थ्याैं । तर यसपटक उहीँ गएर पकाएर खाने सल्लाह भयाे । खाने, पकाउने सम्पूर्ण सामानकाे तैयारी गरियो । 

फागुन २६ गते बिहान साँढे सातबजे प्रकाशभाइ आइपुगे । माैसम सफा थियोे । सूर्यनारायण बिस्तारै रापिंदै थिए । हलुका हावाले बाताबरणमा शीतलता प्रदान गरिरहेकाे थियोे । लैजान तयार पारेका सामानहरु गाडीमा व्यवस्थापन गरेर हामी १२ जनाकाे टाेली ८ बजे कुमारीगालबाट प्रस्थान गर्‍यौं । 

गाैरीघाट पुगेर डेरीबाट अर्डर गरेको दूध, पनिर र दही लियाैं । हाम्राे गाडी उमाकुन्ड हुँदै मित्रपार्क र चावहिलकाे हलुका जामलाई छिचोल्दै चक्रपथतिर बढ्यो । सुकेधारा चाेकबाट भतिजी सञ्चिता आचार्यकाे परिवारलाई लिनु थियाे । हामी पुग्दा उनीहरू चारजना बाटोमा आएर हामीलाई कुरिरहेका रहेछन् । 

त्यहाँबाट चारजना चढेपछि हाम्रो टाेली १६ जनाकाे भयाे । ज्वाइँ डा. रमेश पराजुलीलाई कामविशेषले गर्दा आज आउन नमिलेको रहेछ । बिदेशमा रहेका कारण छाेरी सम्पदा मिश्र र छाेरा काैशलराज मिश्र पनि छुटेका थिए । नत्र हाम्रो पूर्ण पारिवारिक टाेली उन्नाइस सदस्य हुने थियो ।

हामी गन्तव्यतर्फ बढ्दै गयौं । शनिबार भएकाले हाेला चक्रपथमा सवारीसाधनकाे चाप थिएन ।  ग्राण्डी माेडबाट साँस्कृतिक बस्ती टाेखा, सपनतीर्थ र्हुँदै उकालो बाटोबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज एरियातिर लाग्यौं हामी । भाडाको नम्बरप्लेटयुक्त सवारीसाधन भएकाले निकुञ्जकाे चेकपोस्टमा माइक्रो राेकियाे । प्रकाशभाइले सवारी दर्ता गराएर दस्तुर तिरे ।

बाटोका हरियाली र रमणीय प्राकृतिक दृश्य लाेभलाग्दा थिए । शाैचादीका लागि बाटोमा केही समय राेकिनु बाहेक हामीले समय खेर फालेनाैं । त्यहाँबाट ढलानघर हुँदै छहरे पुगि, लिखु खाेलाकाे पुल तरेर हाम्रो गाडी गन्तव्यतर्फ साेझियाे ।

छहरेबाट कपिलेश्वर डाँडामा पुग्न, गाडीमा करिव २० मिनेटकाे उकालो चढ्नुपर्ने रहेछ । यतातिर जताततै सल्ला, कटुस र काफल रुख देखिन्थे । केही ठाउँमा लालीगुराँस फुलेका बाेटहरु पनि देखिए । उकालो बाटो सामान्यतया राम्रै थियोे ।  

उकालो कटेपछि आउने माेडबाट कपिलेश्वरतिर जाने बाटो निर्माणकाे क्रममा रहेछ । डाेजर चल्दै थिए । निर्माणाधीन कच्ची, ढुंगे बाटोमा कुहिरीमण्डल धुलाेकाे मार खेप्दै १० मिनेटजति कछुवागतिमा अघि बढेपछि, १०:४५ बजे मन्दिरको फेदीमा रहेको कविलास डाँडामा पुगियो । छहरेबाट उकालो लागेपछि कतै पसलहरु देखिएकाे थिएन । यहाँ भने एउटा सानाे चियापसल रहेछ । 

हामीभन्दा अगाडि तीनवटा बसमा यात्रुहरू  पुगिसकेका देखिए । त्यहाँको ठूलो चाैताराे मानिसले भरिभराउ थियाे । यहाँ भीडभाड भएकाले त्यहाँका व्यवस्थापकले हामीलाई दुई मिनेट माथि रहेको सत्तलमा बस्न सुझाए । केही अघिमात्र निर्माण भएकोजस्तो लाग्ने सत्तलमा बस्ने, पकाउने, पानी, बत्ती र शाैचालयकाे उचित व्यवस्था रहेछ । त्यसैले, सातसय दस्तुर महंगो लागेन । हामीले सत्तलमा आसन जमायाैं ।

वरिपरि जङ्गल भएकाले हावा चलिरहने रहेछ यहाँ । प्रचण्ड गर्मीमा चिसो हावाले राहत प्रदान गरिरहेको थियो । पूर्वतर्फ सूर्यकुण्डबाट बग्दै आएको तादी नदी देखिन्थ्यो । तादी पारीपट्टी मिश्रहरुकाे पुर्ख्याैली स्थल नर्जाकविलास डाँडा देखियो । पितृ-पुर्खाहरु स्मरणमा आए । मन भावुक बन्याे । 

सबैलाई भाेक लागेकाेले नास्ता तयारीमा जुटियाे ।  काेही चिया, चना पकाउन थाले । काेही पाउरोटीमा जाम-बटर दल्न थाले । काेही नास्ता भाग लगाउन थाले । बच्चाहरु बाहिर खुल्ला ठाउँमा रमाइलो मानि दाैडिरहेका थिए । साँढे एघारबजे हामीले नास्ता गर्‍यौं । परिवारका सबै सदस्यहरु एकैसाथ बसेर गरिएको मध्याह्नकाे नास्ता, भाेकले गर्दा कम्ती मीठो लागेन । 

नास्ता पछि मन्दिर दर्शनका लागि जानु थियोे । यहाँबाट झण्डै आधाघण्टा पैदल उकालो चढ्नु पर्ने रहेछ मन्दिर पुग्न । खाना पकाउने तरखरमा लाग्नुपर्ने भएकोले पालैपालो मन्दिर जाने सल्लाह भयाे । म, भतिज यमनराज मिश्र, ज्वाईं प्रभात आचार्य तथा नातीद्वय सार्थक आचार्य र सक्षम पराजुली अपरान्ह ११:५५ मा मन्दिरतर्फ लाग्यौं ।

बाटोका सिंढीहरू राम्रो र व्यवस्थित थिए । उकालो सिंढी चढ्दै गर्दा बाटोमा भेटिएका स्थानीयसंग गफिंदै, म त्यहाँको बारेमा बुझ्न थाले । प्राय: मानिसहरु आईरहने यहाँ आज बसहरु कम आएको उहाँले बताउनु भयाे । अघिल्लो हप्ताको शनिबार त १२-१३ वटा बस आएकाे रहेछ । बाटोमा स्थानीय उत्पादन बेसार बेच्न राखेको देखिन्थ्योे ।

सिंढी सकिएपछिकाे माथिल्लो केही भाग कच्ची थियोे । पश्चिमतर्फबाट मन्दिर उक्लन ठाडै सिंढीहरू चढ्नुपर्न रहेछ । तलबाट हिंडेको २५-३० मिनेटमा हामीले डाँडाकाे टुप्पोमा अवस्थित कपिलेश्वर महादेवकाे भव्य र आकर्षक मन्दिर परिसरमा पाइला टेक्याैं ।

समुन्द्री सतहबाट ४५०० फिट उचाइमा पर्ने कपिलेश्वर महादेव परिसर, लिखु र तादी नदीको बीचमा पूर्व पश्चिम भै उठेको कविलास नामकाे पहाडको टुप्पामा रहेको छ । याे नुवाकोटको प्रसिद्ध तथा महत्त्वपूर्ण देवस्थल हाे ।

यस देवस्थलको स्थापना मल्लकालकाे मध्यतिर भएको कुरा महादेवको मन्दिर भित्र रहेको शिलापत्रमा उल्लेख भएको पाईन्छ । शिवलिङ्गमा कुँदिएका शिवको चतुर्मुख पनि मध्यकालतिरकै शिला मूर्तिहरुसँग मिल्दाे देखिन्छ । अहिले कपिलेश्वर भनिने यस मन्दिरलाई पहिला कैलाशेश्वरकाे नामले चिनिने रहेछ । कैलाशेश्वरकै नामबाट अपभ्रंश हुँदै कविलास नामाकरण भएको स्थानीयकाे भनाइ छ ।

बिष्णु भगवानकाे २४ मध्ये ५ ओैं अवतार समेत मानिने कपिलमुनीद्वारा स्थापित, चारै ढोकाबाट दर्शन र भित्र गएर पूजा गर्न सकिने, उर्ध्वमुख सहितकाे चतुर्मुखी शिवलिङ्ग भएको यस मन्दिरलाई कपिलेश्वर पशुपतिनाथ पनि भनिने रहेछ ।

यस मन्दिरमा नित्य पूजा तथा आरती हुँदा दमाहा मात्र बजाईने प्रचलन छ । यहाँ रक्षा विनायक, पाताल देवी, सिद्धि विनायक, सरस्वती, नाट्येश्वर, महालक्ष्मी लगायत देवदेवीका मूूर्तिहरु रहेका छन् भने, नजिकै धर्मगुफा र चमेराे गुफा समेत रहेको छ ।

सबै सिजनमा भक्तजनहरु आउने भएतापनि, हरितालिका तीज, बालाचतुर्दशी, श्रीपञ्चमी, महाशिवरात्री, फागुपूर्णिमा, चैतेदशैं, बिजया दशमी, नवबर्ष, साउनको साेमवार र माघ महिनामा यहाँ विशेष भिडभाड हुने रहेछ ।

मन्दिरका पुजारी शिवराम थापाका अनुसार "दक्षप्रजापति पुत्री सतीदेवीले यज्ञमण्डपमा फालहालेकाे स्थान हाे रे याे !" सानाे स्थान भएकाले उहाँले बताएको याे किम्बदन्ती अविश्वसनीय झैँ लाग्छ !

मन्दिरको तल खाेपामा रहेको नाट्येश्वरीलाई काठमाडौका नेवार समुदायले कुलदेवी समेत मान्दा रहेछन् । नेवारी समुदायको संगीत, धिमेबाजा, झ्याली लगायतका बाजाहरु र नृत्य सिक्ने सिकाउने क्रममा यहाँ पूजाआजा र बलि दिन अनिवार्य आउनुपर्ने परम्परागत चलन रहेछ । 

महादेवलाई नृत्यनाथ, नाट्येश्वर र भैरवनाथ समेत मानिने र संगीतमा गुन्जिने स्वर शुन्य आकाशमा गुन्जेर ब्रम्हाण्डमा व्याप्त हुने भएकोले, यसैको प्रतीकको रुपमा तिनवटा प्वाल मात्र राखेर मूर्ति रहित नाट्येश्वरको पूजा गर्ने चलन रहेको पुजारीकाे भनाइ थियोे । मैले यहाँको थप जानकारीका लागि  पुजारीसंग कपिलेश्वर संरक्षण समितिद्वारा प्रकाशित पुस्तिका खरिद गरें ।

यिनै जानकारी बटुलेर, मन्दिर दर्शन पश्चात् हामी फर्कियाैं । ओर्लंदा १५ मिनेट मात्रै लाग्यो । खाना पाकिसकेकाे रहेछ । हामी आएपछि, अर्को टाेली मन्दिर प्रस्थान गर्‍यो ।

माथि गएको टाेली फर्कन समय लाग्ने भएकोले म यताउता अवलोकन गर्न थालें । हामीभन्दा अघि आएको टाेली चाैतारीमा बसेर खाना खाँदै थियोे । उनीहरू नाट्येेश्वरीमा पूजा गर्न काठमाडौंबाट आएका नेवारी समुदायका संगीत टाेली रहेछन् ।

प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल भएपनि यतातिर खासै बाक्लो बस्ती देखिएन । केही दुरीमा घरहरू देखिन्थे । हाेटेल, पसल लगायतको अभाव देख्दा यस क्षेत्रमा पर्यटक भित्र्याउन सम्बन्धित निकायले विशेष चासो दिए झैं लागेन । हुन त, हामीजस्ता एक दिन घुम्न आउनेका लागि रमाइलो लाग्ने स्थानमा संधै  बस्नेका पीडा बेग्लै हाेलान् । समुचित विकास नहुनुमा पनि आर्थिक, सामाजिक धेरै कारण हुन सक्छ, तर पहल र प्रयास भने हुनैपर्छ भन्ने लाग्यो । 

वरिपरि रहेका दुप्चेश्वर, कपिलेश्वर जस्ता प्रसिद्ध धार्मिकस्थल हरुलाई समेटेर, खानेबस्ने सुविधा सहितकाे एक-दुई दिने प्याकेज बनाउन सके  यस ठाउँमा पर्यटन प्रवर्द्धन गर्न सकिने प्रचुर संभावना देखिन्छ । त्यसका लागि पर्यटक मैत्री संरचनाहरु बन्नुका साथै प्रचारप्रसार समेतकाे आवश्यकता पर्छ । यहाँ त्यही कुराकाे कमी भएको महसुस भयो । 

मन्दिर गएको टाेली सवा एकघण्टापछि फर्किएपछि हामी खाना खाने तरखरमा जुट्याैं । स्पीकरमा गीत बजिरहेको थियो । खानापछि केही बेर विश्राम गरेर, नाचगान चल्याे । यसक्रममा आउन छुटेका पारिवारिक सदस्यहरु सम्झनामा आए । सबैलाई खल्लोपन महसुस भयाे । 

दिन ढल्कंदै थियोे । फर्कने बेला भएकोले ग्याँस सिलिन्डर, चुलो, भाँडाकुँडा, ओच्छाउने लगायतका सरसामानहरु गाडीमा हाल्याैं । सत्तलकाे दस्तुर बुझायाैं । सामुहिक तस्बिर खिच्ने काम भयाे । हामीले घर फिर्ती सुरु गर्दा दिनकाे ४:४० बजिसकेकाे थियोे ।  

उही १० मिनेट कच्ची ढुङ्गे बाटो र २० मिनेटको ओरालो पार गरेर, आधाघण्टामा छहरे पुगियो । बाटोमा सवारी चाप नभएकोले गाडी हुईँकिदै थियो । हामी भने आआफ्नै तालमा गफ गरिरहेका थियौं ।

"फर्कंदा बाटोमा चिया खाने भन्नुभएको हैन दाइ ! बिहान ल्याएको दुध बाँकी नै छ क्यारे, यसाे कतै बसेर आफैं पकाएर खाँदा कसाे हाेला ?" प्रकाशभाइले सम्झाए ।

"ठीक कुरा हाे, ल कतै खुल्ला चाैर वा बस्न मिल्ने ठाउँमा राेक्नुस् है भाइ" मैले समर्थन जनाउँदै भने ।

साँझ ५:५० मा गुर्जु भञ्ज्याङ्काे गेरुवाटारस्थित चाैरमा माइक्रोबस राेकियाे । माैसममा चिसोपना बढ्दै थियोे । चियापान सकेर ६:३० मा हाम्रो फिर्ती यात्रा पुनः जारी रह्यो । बिहान गएकै बाटोलाई पछ्याउँदै हामी फर्कियाैं । सुकेधारामा सञ्चिताहरुलाई छाेडेर घर आइपुग्दा रातिकाे ८ बज्दै थियोे ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)


Comments

  1. यात्रा संस्करण पुर्ण छ। राम्रो आलेखको लागि धन्यवाद भाइ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: