प्रेरक प्रसंग :

एक दिन सत्संग सकिएपछि पनि एक जना मानिस बसिरहे । 

महात्माले यसबारेमा सोध्दा उनले भने "म तपाईंबाट एउटा समस्याको समाधान चाहन्छु । म एक गृहस्थी हुँ, मेरो घरमा श्रीमतीसंग प्रायः झगडा परिरहन्छ। मलाई बताईदिनुस् कि, किन मेरो घरमा यस्तो समस्या छ ?

महात्मा केही बेर चुपचाप बसे, त्यसपछि उनले आफ्नी श्रीमतीलाई "मैनबत्ती बालेर ल्याउन" भने । उनकी श्रीमतीले तत्कालै बलेको मैनबत्ती ल्याएर दिईन् ।

याे देखेर त्याे मानिस साेच्न लाग्यो "दिउँसोकाे टन्टलापुर घाममा पनि महात्माले किन मैनबत्ती मागेका होलान् !!!"

यत्तिकैमा महात्माले फेरि श्रीमतीलाई भने "मलाई केही मीठो खानेकुरा ल्याईदेऊ ।" यसपटक उनकी श्रीमतीले मिठाईको सट्टा नुनिलो खानेकुरा दिएर गइन् ।

त्यो मानिसले सोच्याे कि "यो पागल मानिसहरूकाे घर पाे रहेछ ! मध्यान्हमा बलेको मैनबत्ती, मिठाईको सट्टा नुनिलाे कुरा ! अब यहाँबाट मेराे समस्याको निराकरण हुनेछैन" । अनि भन्यो, "महात्माजी, म जाँदैछु ।"

महात्माले सोधे "के तिमीले आफ्नो समस्याको समाधान फेला पार्‍याै वा अझै केही शंका बाँकी छ ?" 

ती व्यक्तिले भने "हजुर, मैले त केही पनि बुझिनँ ।"

महात्माले भने "मैले बलेको मैनबत्ती माग्दा मेरी श्रीमतीले मलाई भन्न सक्थिन् "तिमी पागल त भएका छैनाै ! दिउँसो किन चाहियो बलेको मैनबत्ती ? तर भनिनन्, किनकि उनले सोचिन् "बलेको मैनबत्ती कुनै कामको लागि मागिएको हुनुपर्छ।"

त्यस्तै, मैले मिठाई मागेपछि नुनिलाे खानेकुरा दिएर गइन् । "शायद, घरमा मिठाई सकिएकाे  हाेला !" याे सोचेर म मौन बसेँ । 

यस्ताे कुरामा विवाद गर्नुपर्ने नै के छ र ? आपसी विश्वासबाट मात्रै घरपरिवारमा समन्वय कायम हुन्छ । एकअर्काको ससाना गल्तीलाई बेवास्ता गर्दै अघिबढे मात्र घरपरिवारमा शान्ति छाउँछ ।तिमीले देख्यो नि - "विश्वास बढाएर विवाद नगर्दा अप्ठ्यारो अवस्था स्वतः हट्यो।" 

आगन्तुक अचम्ममा पर्‍याे, उसले बुझ्यो कि महात्माले उसलाई के बुझाउन खाेजेका रहेछन् ।

प्रस्तुति : मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...