संसारकाे पहिलो तीर्थस्थल मानिने बराहक्षेत्र पुग्दा
यात्रा संस्मरण :
✍️ मुरारीराज मिश्र
मलाई लाग्छ, यात्रा भनेकाे केवल घुम्ने, खाने-पिउने र रमाउने क्रियाकलाप मात्रै हाेइन, यथार्थताकाे अनुभूति, फरक अनुभव, ज्ञान र आनन्दकाे प्राप्ति गर्ने माध्यम पनि हाे । हजार शब्द पढेर, सुनेर बुझ्न नसकेको कुरा एकै हेराइमा स्पष्ट बुझिन्छ र याे अमूल्य अनुभव नै यात्राको उपलब्धि हाे ।
कुनै नपुगेकाे ठाउँमा पुग्नुअघि त्यहाँको बारेमा मनले एकप्रकारकाे दृश्य कल्पना गरिरहेकाे हुन्छ । त्यहाँ यस्तो हाेला, उस्तो हाेला, पुगेर यसाे गर्नुपर्ला, यसरी जाने हाेला ! तर त्यस ठाउँमा पुगेपछि मनमा बनेको काल्पनिक दृश्य अनायास फेरिन्छ । साेचाइ र वास्तविकतामा आकाश जमिनको फरक भेटिन्छ । याे राेचकता पनि यात्राकाे आनन्द हाे ।
केही बर्ष अगाडि म भारतीय राज्य अरुणाचल प्रदेशमा पर्ने प्रख्यात तीर्थस्थल परशुराम कुण्ड पुगेको थिएँ । जानुअघि मेरो मनले त्याे कुण्ड सायद हाम्रै गाेसाई कुण्डहरू जस्तै खालकाे वा त्योभन्दा पनि विशाल हाेला भन्ने साेचेकाे थियोे । याे साेचाइमा रम्दै त्यहाँ पुगेकाे मलाई, आफ्नो परिकल्पना भन्दा नितान्त बेग्लै एउटा सानो कुवाजस्तो कुण्ड देख्दा एकछिन अनाैठाे र खिन्नताकाे महसूस भएकाे थियोे । हुन त, भाेतिकरुपमा ठूलो सानाे हुनुभन्दा पनि त्यसप्रतिकाे आस्था र विश्वास महत्त्वपूर्ण हाे तर मनले साेचेकाे भन्दा निकै फरक दृश्य देख्दा पत्याउनै मानिरहेकाे थिएन । हाे, यस्तै अनाैठाेपन पनि यात्राले दिने एकप्रकारकाे बेग्लै खाले मजा हाे ।
अयाेध्या, वृन्दावन र नैमिषारण्यकाे तेह्रदिने धार्मिक यात्राकाे अवधिभर म, अञ्जन कट्टेल र वसन्त पाण्डे हरेक दिन एकै काेठाका सहयात्री बनेका थियौँ । यसै क्रममा हामीबीच याे यात्रापछि बराहक्षेत्रकाे भ्रमणमा जाने याेजना बनेको थियोे । यसै याेजनालाई मूर्तरूप दिने क्रममा २०८१ पाैष १३ गते बिहानै हामी आन्तरिक पर्यटककाे रुपमा घरबाट निस्कियाैं । यात्राको याेजनाकार मध्येका एक वसन्तदाइ भने घरायसी कारणले जान सक्नुभएन ।
केही बेरमा ललितपुरबाट शिवप्रसाद ढुंगाना, सविता ढुंगाना, शिराेमणि रिसाल र सरस्वती रिसाल चढेको बस लिएर यात्रा व्यवस्थापक माेहनप्रसाद अधिकारीदाइ कुमारीगाल आइपुग्नु भयो । भाइहरू चालक सराेज खड्का तथा सहयोगी नवीन शाही ठकुरी र प्रशान्त राेक्का भाइहरूले हाम्रो सामान बसमा मिलाएर राख्नमा मद्दत गरे ।
बालुवाटारबाट सुनिल पाेखरेल, विश्वनाथ पाेखरेल र मिथिला पाेखरेल यसअघि नै यता आइसक्नुभएकाे थियोे । उहाँहरू सहित सुशीला आचार्य, रमेशप्रसाद लामिछाने, पद्मा लामिछाने, अञ्जन कट्टेल, मीना कट्टेल, कल्पना मिश्र र पंक्तिकार मुरारीराज मिश्र यहाँबाट बसमा चढ्याैं । बिहानकाे झिसमिसेमै हामी चढेको बस पूर्वी क्षेत्रकाे चार दिने यात्राको लागि गाैरीघाट, गाैशाला, सिनामंगल, काेटेश्वर, बनेपा, धुलिखेल चाेक, भकुण्डेबेसी हुँदै अघि बढ्यो ।
गत: बर्ष आएको बाढीले यहाँ जताततै वितण्डा मच्चाएकाे रहेछ । विनाशका अवशेष यत्रतत्र देखिन्थे । बगाएका र भासिएका बाटो, पुल, घर, पसल, पेट्रोल पम्प, रेष्टुरेन्ट आदिका कारुणीक दृश्यले मन चसक्क बिझाउँथ्याे । भत्किएका संरचना बर्षाैंसम्म पनि बन्न नसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो । अवस्था देख्दा आगामी बर्षात्मा वीपी राजमार्गकाे याे खण्डमा यातायात बन्द हुने निश्चितप्रायः लाग्यो ।
मानवले जतिसुकै भाैतिक प्रगति र सम्पन्नता हासिल गरेपनि प्रकृतिका सामु मानव सदैव निरीह छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तैपनि हामी जानीजानी प्रकृतिसंग पाैंठेजाेरी खेल्छाैं । खाेला, बगर मिचेर संरचना बनाउँछाैं । क्षणिक फाइदाका लागि गहन अनुसन्धान बेगर डाेजर कुदाउँदै डाँडापाखा फाेरेर अनावश्यक बाटो बनाउँछाैं । विनाशका यी दर्दनाक अवशेष देख्दा धेरैजसाे व्यक्तिगत क्षति यस्तै कारणले भएकाे ठम्याउन कठिनाइ पर्दैनथ्याे ।
प्रसिद्ध तीर्थस्थल कुशेश्वर महादेवकाे मन्दिर परिसर बाहेक सबै बगाएको रहेछ । यत्रतत्र बाढीले बगाएर थुपारेका ढुंगा र पाँगाे हुनाले झट्ट हेर्दा बगर हाे कि भन्ने भान हुन्थ्यो । त्यहाँबाट मुल्काेट, खाल्टे हुँदै खुर्काेट पुगेर बिहानकाे खानाको लागि बस राेकियाे । त्याे दिन इटहरीमा पुगेर रात बिताइयाे ।
हाम्रो आन्तरिक यात्राको एउटा मुख्य कठिनाइ भनेकाे बाटोमा शाैच लाग्दा कुनाकाप्चा वा झाडीमा छिर्नुकाे विकल्प नहुनु हाे । पाइला पाइलामा रमणीय प्राकृतिक स्थान र धार्मिकस्थल छ भनेर गर्व गर्ने देशका स्थानीय सरकारले आआफ्नो क्षेत्रमा कम्तीमा पनि सुविधाजनक शाैचालयकाे व्यवस्था त गर्न सक्नुपर्ने हाे ! सामान्य सुविधा पनि नदिए पछि कसरी हुन्छ पर्यटन प्रवर्द्धन ? यस्ता कुराहरू सम्बन्धित निकायकाे प्राथमिकतामा कहिले पर्ने हाेलान् खै !
हाम्रो यात्राको मुख्य उद्देश्य विष्णुपादुका र बराहक्षेत्रमा पितृमुक्ति हेतु श्राद्ध र वरिपरिका मठमन्दिरकाे दर्शन थियोे । भाेलिपल्ट बिहान श्राद्धका लागि पिण्डेश्वर क्याम्पसमा अध्यापनरत पण्डित गाेविन्द भट्टराई गुरुलाई लिएर गाडीमा विष्णुपादुका तर्फ लाग्यौं । धरान बजार कटेपछि कच्ची बाटो थियो तर माथिसम्म नै गाडी जाने रहेछ । विभिन्न जातका रुखले सुसज्जित डाँडाका हरियाली हेर्दै जाँदा बाटो काटेको पत्तै पाइएन । हामी बिष्णुपादुका पुग्दा भाेलिपल्ट परेकाे पाैषे ओैंशीकाे अवसरमा लाग्ने मेलाको तरखर हुँदै थियोे ।

धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा पर्ने कोकाहा नदीको किनारकाे माथिल्लो भागमा रहेको विष्णुपादुका क्षेत्र प्राकृतिक दृष्टिले निकै रमणीय स्थानमा अवस्थित छ । याे सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल हो । प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूकाे श्राद्ध र तर्पणका लागि ठूलो संख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन् ।
बिष्णुपादुका मन्दिरकाे दर्शनको क्रममा त्यहाँका पुजारी ७३ बर्षे इमान सिह तामाङसँग गफगाफ भयो । उनका चाैथाे पुस्ता अघिदेखिका पूर्वजले त्यहाँ पुजाआजा गर्दै आएका रहेछन् । उनले जानकारी दिए अनुसार “बराह अवतारकाे काम सकिएपछि यसै ठाउँमा भगवान् विष्णुले, मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण र पहिलो पटक श्राद्ध गरी श्राद्ध परम्पराको थालनी गरेका थिए रे ! त्यसै कारण, जसले यहाँ श्राद्ध गर्छ उसले भारतको काशी र गया गएर श्राद्ध गर्नु पर्दैन” भन्ने परम्परागत मान्यता रहेछ ।

श्राद्ध पश्चात् काेकाहा नदीको जल लगेर पिण्डेश्वर महादेवलाई चढाउनु पर्ने परम्परा भएकाले, हामीले पनि चलिआएको त्याे परम्परागत ताेड्ने कुरै भएन । साँझ पिण्डेश्वरमा जल अर्पण र दन्तकाली लगायतका मन्दिर दर्शन गरि धरान, चतरा बजारको हाेटेलमा पुगेर बास बसियाे ।
भाेलिपल्ट पाैषे ओैंशी, त्यसमाथि साेमबार । साेमबारे ओैंशीका दिन बिहान कसैसँग नबाेली नुहाउनु पर्छ भनेर सुन्दै र देख्दै आएकाे हाे मैले । यसरी नबाेली नुहाउनुकाे अर्थ वा फाइदा के हुन्छ भन्ने चाहिँ मलाई थाहा छैन । जे हाेस, हामी मध्ये केहीले हाेटेलमै नबाेली नुहाएर `अरूसँग बाेल्ने बाटाे फुकायाैं´ भने केहीले नदीमै नुहाएर मात्र `बाेली फुकाउने´ भए ।
बिहान सबेरै गाडी लिएर बराहक्षेत्र पुगियाे । यात्रुको भीडभाडले काेशीकाे बगर भरिइसकेकाे देखिन्थ्योे । बाताबरण हल्का धुम्मिएकाे र हावा पनि चलिरहेकाेले चिसो थियोे । वरिपरिका डाँडाकाँडा, नदी, वनजङ्गलका दृश्यले मन लाेभ्याउँथे । नदीकाे कलकल र चराचुरुङ्गीकाे चिरविर आवाज मन्दिरमा बजेकाे स्पीकर र मानिसकाे हल्लाखल्लाकाे आवाजमा दविएकाे भान हुन्थ्यो ।
काेकाहा र काेशीकाे सङ्गममा स्नान गरेर नदी किनारामा श्राद्धकाे लागि आसन जमायाैं । अघिल्लो दिनदेखि हामीसँगै रहनुभएका गाेविन्द गुरूले विधिपूर्वक श्राद्धादि कर्म गराउनुभयाे । पितृमुक्तिहेतु पुत्रकर्तव्य पूरा गर्न पाएकाेमा सन्ताेषकाे अनुभव भयाे ।
यस क्षेत्रकाे बारेमा मानसखण्डले भन्छ;
तत्र गत्वा नरःस्नात्वा कौशिक्याः सलिले शुभे ।
दृष्ट्वा च कमलाकान्तं वराह रूपमास्थितम् ।
सर्वान् कामानवाप्येह विष्णोः सायुज्य माप्नुयात् ।
(कोशी नदीमा नुहाएर लक्ष्मीपति वराह भगवानको दर्शन गरे भक्तले चिताएका कुरा पाउनाका साथै अन्त्यमा विष्णु भगवानकाे सामिप्यता पाउनेछन् ।)

कोकाहा खोला र काेशी नदीको दाेभानमा रहेको वराह क्षेत्र, वाग्मती नदी तटमा अवस्थित पाशुपत् क्षेत्र, काली गण्डकी नदी र कागवेनी खोलाको शिराेभाग मुक्ति क्षेत्र तथा गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम एवम् कालीगण्डकी र गण्डकीको तिरमा रहेको रिडी वा रुरु क्षेत्रलाई नेपालका चारधाम भनेर मानिदै आइएकाे छ ।
दानव हिरण्याक्षले हरण गरेर रसातालमा पुर्याएकाे पृथ्वीलाई भगवान् बिष्णुले वराह अवतारकाे माध्यमबाट उद्धार गरि यथास्थानमा स्थापित गरेपछि वराह भगवान्काे पूजाआजा सुरु भएकाले सुनसरी जिल्लामा पर्ने बराह क्षेत्रलाई संसारकै पहिलो तीर्थस्थल मान्नेे गरिन्छ ।
ब्रह्मपुराण, हिमवत्खण्ड पुराण, वराहपुराण, पद्मपुराण, श्रीमद्भागवतपुराण लगायतका अन्य पुराण तथा धार्मिक ग्रन्थहरूमा पनि यहाँको महत्त्वका बारेमा उल्लेख गरिएका छन् । वराह क्षेत्र आसपासमा आदिवराह स्थान, सूर्यकुण्ड, चन्द्रकुण्ड, कुब्जाम्र, कोटिवट, धेनुवट, विष्णुपादुका र लोहार्गल लगायतका करिब तीन दर्जनजति उपतीर्थहरू रहेका छन् । भनिन्छ, हिन्दू पौराणिक कथाका चार प्रमुख धार्मिक क्षेत्रहरूमध्ये धर्म क्षेत्र र कुरु क्षेत्र भारतमा तथा बराह क्षेत्र र मुक्ति (नाथ) क्षेत्र नेपालमा रहेका छन् ।

श्राद्धादि कार्य सकेर बराह भगवान्काे दर्शन गरियाे । सवारीकाे निकै चापले बाटो अवरुद्ध थियोे । सडकजाम भएकाले हामीलाई लिन बस आउन सकेन, पैदलै अघि बढ्नुकाे विकल्प रहेन । गाडी भएको ठाउँमा पुग्दा ३ बज्नै लागेको थियोे । आजको बसाइ गाईघाटमा हुने कार्यक्रम भएको हुँदा फटाफट खाना खाएर बस चढ्याैं । बाटोमा चियापान र `बरमझियाकाे बाजेको असली पेडा´ किन्ने काम भयाे ।
भाेलिपल्ट बिहान ५ बजे चिया खाएर गाईघाटबाट प्रस्थान गरेका हामी खुर्काेट पुगेर खानाको लागि राेकियाैं । केहीले सिन्धुलीकाे जुनार, फर्सी र आलु किने । खानापछि कुशेश्वर दर्शन गरेर मंगलटार, भकुण्डेबेसी, धुलिखेल, बनेपा हुँदै फर्केर यात्राकाे समापन गर्यौं ।
Comments
Post a Comment